काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका विभिन्न क्षेत्रमा गरी कुल १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सयवटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक सञ्जालको बिस्तार र यातायात सहजताका लागि यो लक्ष्य निर्धारण गरिएको जानकारी दिए ।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री डा. वाग्लेले देशको मुख्य जनजीवन जोडिएको पूर्व-पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र पूर्ण रूपमा चार लेनमा बिस्तार गरिसक्ने सरकारी योजना सार्वजनिक गरे ।
यसका लागि सरकारले आगामी आर्थिक वर्षका लागि मात्रै ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
लामो समयदेखि निर्माण कार्य ढिलाइ भएर सर्वसाधारणले सास्ती खेप्दै आएका दुई महत्त्वपूर्ण सडक खण्डहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् ।
नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको निर्माण कार्य यसै वर्षभित्र पूर्ण रूपमा सम्पन्न गरिनेछ ।