ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँ : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गरेका छन् ।

शनिबार ललितपुरमा ज्यापु समाजले आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । पुनर्निर्माणका लागि बाँकी रहेका सम्पदाको पनि अधिकांश काम सकिएर फिनिसिङ गर्न मात्रै बाँकी रहेको उनले बताए ।

महानगरपालिका र ज्यापु समाज मिलेर सम्पदा संरक्षणको काम गरिरहेको उनको भनाइ छ । उनले ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदा संरक्षणमा ज्यापु समाजसँग सहकार्य गर्दै महानगरपालिकाले काम गरिरहेको बताए ।

सम्पदा मूर्त र अमूर्त दुवै हुने बताउँदै उनले अमूर्त सम्पदाका विषयमा भने केही काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले विगतमा बजेट अभावका कारण रोकिएका कतिपय अमूर्त सम्पदासम्बन्धी कामलाई पनि अघि बढाउने तयारी गरेको जानकारी दिए ।

उनले भने, ‘अब ज्यापु समाज र ललितपुर महानगरपालिका भनेको अन्योन्याश्रित सम्बन्ध भएका दुईवटा एक्टरहरू हुन् । ललितपुर महानगरपालिका र ज्यापु समाजको सहकार्यमा हामीले यहाँका संस्कृति, संस्कार, सम्पदा, अमूर्त सम्पदा सबैको संरक्षण गरिरहेका छौँ । अहिले ललितपुर महानगरपालिकामा सम्पदाको सन्दर्भमा मैले त क्लेम गर्ने गरेको छु, सबै काम डन । कुनै पनि मठ, मन्दिर, शिवालय, देवालीहरू बाँकी छैनन् ।’

उनले ज्यापु समाजले निर्माण गरेका भौतिक संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार ज्यापु समाजको भवन १६ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण भएको छ भने वृद्धाश्रम भवन २३ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको छ ।

ज्यापु समाजले निर्माण गरेको वृद्धाश्रममा ११० शय्याको क्षमता रहेको उल्लेख गर्दै प्रमुख महर्जनले हाल सीमित क्षमतामा मात्रै सञ्चालन भइरहेको सेवाको क्षमता विस्तार गर्न आग्रह गरे । उनले आगामी ६ देखि १२ महिनाभित्र ११० शय्याको क्षमतामा वृद्धाश्रम सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढ्न ज्यापु समाजलाई आग्रह गरे ।

वृद्धाश्रम सेवा २४ घण्टा सञ्चालन गर्न महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको उनले जानकारी दिए । वृद्धाश्रममा पानीको समस्या समाधान गर्न ‘डिप ट्युबवेल’ निर्माणका लागि समेत महानगरपालिकाले बजेट व्यवस्था गरेको उनको भनाइ छ ।

उनले ज्यापु समाजको उद्देश्य पूरा गर्न उपलब्ध भौतिक संरचना र स्रोतसाधनको प्रभावकारी उपयोग आवश्यक रहेको बताए । वृद्धाश्रम पूर्ण क्षमतामा सञ्चालनका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको पनि उनले स्पष्ट पारे।

Share News