ललितपुरमा महिला उद्यमीका उत्पादनको प्रदर्शनी सुरु, अन्तर्राष्ट्रिय बजारिकरण गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यले आयोजना गरेको प्रदर्शनी मेला सुरु भएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ । पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको मेलाको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । मेलाको नारा ‘लोकल रुट्स टु ग्लोबल रिच’ राखिएको छ ।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्ट, नर्वेका राजदूत डाग्नी म्योस, म्यानमारका राजदूत थान सिन, श्रीलंकाका राजदूत रुवान्ती डेल्पिटिया तथा नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेको उपस्थिति थियो ।

कार्यक्रममा महानगर प्रमुख महर्जनले विभिन्न देशका राजदूतको उपस्थितिले महिला उद्यमीलाई प्रोत्साहन मिलेको बताए । उनले ललितपुरलाई पुरानो सांस्कृतिक सहरका रूपमा उल्लेख गर्दै महानगरले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको बताए ।

उनले ललितपुरलाई वल्र्ड क्राफ्ट काउन्सिलले ३५औँ कला नगर घोषणा गरेको जानकारी दिँदै सांस्कृतिक गतिविधिले महानगरको पहिचानलाई थप उचाइ दिएको बताए । यस्तै, यमोरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गरेको र छिट्टै युनेस्कोले समेत अमूर्त सांस्कृतिक सम्पदाका रूपमा घोषणा गर्ने विश्वास व्यक्त गरे ।

महर्जनले महानगरले महिलालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको र तालिम लिएका धेरै महिला उद्यममा लागेको बताए । महिला उद्यमीलाई आर्थिक सहयोग गर्न महानगर तयार रहेको भन्दै उनले आवश्यक प्रस्ताव लिएर आउन आग्रह गरे ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमशीलताले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । महानगरले महिलाको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता प्रवर्द्धनमा जोड दिएको उल्लेख गर्दै उनले महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्रदर्शनी महत्वपूर्ण हुने बताइन् ।

उनका अनुसार ललितपुर महानगरभित्र २ हजार ५ सयभन्दा बढी महिला उद्यमी रहेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरणका लागि महानगरले विभिन्न योजना अघि बढाएको बताए । आर्थिक सशक्तीकरणबिना महिलामाथिको असमानता अन्त्य गर्न कठिन हुने उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का डेपुटी चिफ अफ मिसन जुलियन चेभिलार्डले लगानी, बजार र उद्यमशीलता एकअर्काका परिपूरक रहेको बताए । विभिन्न स्थानमा उत्पादन भइरहेका सामग्रीबारे एकै ठाउँबाट जानकारी लिन प्रदर्शनी उपयोगी हुने उनको भनाइ थियो ।

महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने महानगरको प्रयास महत्वपूर्ण रहेको उनले बताए ।

प्रदर्शनीमा ७५ भन्दा बढी स्टल राखिएका छन् । मेलामा ललितपुरका महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको महानगरले जनाएको छ ।

Share News