काठमाडौं । गरिमा विकास बैंकले २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले २०औँ वार्षिक साधारण सभा असोज २६ गते पोखरा, कास्कीमा बिहान साढे १० बजे बोलाउने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँको १० प्रतिशतका दरले ६० करोड २१ लाख ३४ हजार रुपैयाँ बराबरको बोनस सेयर र करसहित १० प्रतिशतका दरले ६० करोड २१ लाख ३४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेस हुनेछ ।
बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने तथा सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता, दैनिक भ्रमण भत्ता र टेलिफोन, पत्रपत्रिका तथा इन्टरनेट खर्चबापत प्रदान गरिने रकम वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
त्यसैगरी, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।