ठमेलबाट ४७ जना पक्राउ , सबैलाई मुद्दा चलाइयो

सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्नेलाई दुई दिनमा प्रहरीले ४७ जनालाई मुद्दा चलाएको छ । 

काठमाडौं प्रहरी परिसरका अनुसार रात्रीकालीन व्यवसायमा बिचौलियाको रूपमा काम गर्ने आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

मंगलबार २२ महिला, १३ पुरुष  र बुधबार ६ पुरुष ६ महिला  गरि जम्मा ४७ जना उपर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म उनीहरूले सार्वजनिक स्थल तथा सडकमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्ने गरेका थिए । 

डान्स, दोहोरी, बार र क्लबजस्ता रात्रीकालीन व्यवसायमा बिचौलियाको भूमिका निर्वाह गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइएको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धानका क्रममा ६ पुरुष र ६ महिला गरी १२ जनाको उल्लिखित गतिविधिमा संलग्नता देखिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ।

Share News