काठमाडौं । सरकारले मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई र्आइजीपीमामा नियुक्त गर्ने निर्णय गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएर चर्चामा आएका प्रहरी अधिकारी मनोजकुमार केसी नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्
प्रहरी सेवामा प्रवेश गरेको करिब २८ वर्षपछि उनी संगठनको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका हुन् । प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका केसीले अनुसन्धान, अपराध नियन्त्रण, विशेष ब्युरो, तालिम तथा संगठनात्मक विकासका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।
२०५४ सालमा प्रहरी सेवामा प्रवेश
केसीले २०५४ चैतमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीको सेवा सुरु गरेका थिए । २०८२ वैशाखमा उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका थिए ।
उनले जिल्ला प्रहरी प्रमुखका रूपमा मोरङ र रूपन्देहीमा काम गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख, विशेष ब्युरो तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा समेत उनले जिम्मेवारी सम्हालेका छन् ।
२०८१ मंसिरमा उनी नेपाल प्रहरी कर्मचारी कलेजको निर्देशक नियुक्त भएका थिए । उक्त संस्थाको संस्थापक निर्देशकका रूपमा उनले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम विकासमा समेत योगदान गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणले बनाएको पहिचान
केसीको प्रहरी करियरमा सबैभन्दा बढी चर्चा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँग जोडिन्छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला उनले लामो समयदेखि अलपत्र रहेको यो प्रकरणको अनुसन्धान अघि बढाएका थिए । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सर्वसाधारणसँग करोडौं रुपैयाँ असुलिएको घटनामा पीडितको उजुरी परे पनि अनुसन्धान अघि बढ्न सकेको थिएन ।
केसीले कार्यालयको नेतृत्व सम्हालेपछि अनुसन्धानलाई तीव्रता दिएका थिए । २०७९ चैत १२ गते उनले घटनाका मुख्य आरोपित केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए ।
अनुसन्धान विस्तार हुँदै जाँदा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको नामसमेत जोडिएको थियो ।
त्यसपछि २०८० भदौमा केसीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको थियो ।
तर, नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका अनुसन्धानमा उनको भूमिका त्यतिमै सीमित रहेन । २०८१ जेठमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि उनी विशेष ब्युरोमा पुगे । त्यहाँ रहँदा २०८१ असार १४ गते उनले यसै प्रकरणसँग सम्बन्धित बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा ’बादल’ का छोरा प्रतीक थापालाई पक्राउ गरेका थिए ।
त्यसको केही समयपछि उनलाई विशेष ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो ।
सीआईबीको नेतृत्व र जटिल अपराध अनुसन्धान
२०८२ असोजमा सरकारले केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिएको थियो । सीआईबीमा रहँदा उनले आर्थिक अपराध, संगठित ठगी, वित्तीय अपराध तथा सम्पत्ति दुरुपयोगसँग सम्बन्धित अनुसन्धानको नेतृत्व गरे ।
प्रहरीको आधिकारिक विवरणअनुसार उनको नेतृत्वमा नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकमसँग जोडिएको ठगी, बैंक तथा वित्तीय संस्थासम्बन्धी संगठित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी मुद्दामा अनुसन्धान भएका थिए ।
२०८३ असारमा उनलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यही विभागको नेतृत्व गरिरहेका बेला उनी आईजीपीमा नियुक्त भएका हुन् ।
प्रहरी सेवासँगै शैक्षिक र अनुसन्धान क्षेत्रमा पनि सक्रिय
केसी प्रहरी सेवामा मात्रै सीमित नभई शैक्षिक तथा अनुसन्धान क्षेत्रमा पनि सक्रिय छन् । उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । द्वन्द्वपछिको समाजमा संगठित अपराध नियन्त्रण तथा नेपालमा प्रहरी सेवाको प्रभावकारितासम्बन्धी विषय उनको अध्ययन र अनुसन्धानका क्षेत्र हुन् ।
उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् । प्रहरी विज्ञान र सुरक्षासम्बन्धी विषयमा उनले विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक लेखसमेत लेखेका छन् ।
संयुक्त राष्ट्रसंघीय मिसनको अनुभव
केसीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा पनि काम गरेका छन् । द्वन्द्वपछिको अवस्थामा प्रहरीको क्षमता विकास तथा सुरक्षा व्यवस्थापनसम्बन्धी काममा उनले अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन् ।
उनलाई सरकारले सुप्रबल जनसेवा श्री र प्रबल गोरखा दक्षिण बाहुजस्ता विभूषणबाट सम्मानित गरेको नेपाल प्रहरीको आधिकारिक विवरणमा उल्लेख छ ।
अनुसन्धान र फिल्ड कमान्डमा लामो अनुभव हासिल गरेका केसी अब नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि वित्तीय तथा संगठित अपराध अनुसन्धानसम्मको अनुभव बोकेका उनले संगठनको नेतृत्वमा अब कस्तो प्राथमिकता तय गर्छन् भन्ने चासो रहनेछ ।