काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन् ।
काठमाडौंमा बुधबार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि दलले देश र जनताको हितमा गरेका कार्य तथा हासिल गरेका उपलब्धिको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्ने बताइन् । उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र अन्य माध्यमबाट राजनीतिक दलहरूविरुद्ध फैलाइने गलत सूचनाले समाजमा भ्रम सिर्जना गरेको छ । त्यसलाई चिर्न सचेत नागरिक र विशेषगरी प्रवासी नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।
उनले प्रवासी नेपालीहरूलाई नेपालको समसामयिक राजनीतिक परिवेशसँग नजिक रहँदै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न आह्वान गरिन् ।
भण्डारीले भनिन्, ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ । विशेषगरी विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही सूचना तथा विचार सम्प्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईंहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।’
नेता भण्डारीले प्रवासी नेपाली मञ्चका सदस्यहरूलाई राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि दृढताका साथ उभिनुपर्नेमा जोड दिइन् । उनले राजनीतिक दलहरूका बारेमा हुने गरेका आधारहीन आलोचना र अफवाहले मुलुकको छविमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै सत्यको अन्वेषण र त्यसको प्रचारमा जुट्न आग्रह गरिन् ।