काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घिमिरे र काठमाडौंको कोटेश्वरस्थित गुड नेबर्स इन्टरप्राइजेज प्रालिका सञ्चालक वरुण ढुंगेललाई घुसको रकमसहित नियन्त्रणमा लिइएको हो ।
आयोगमा परेको उजुरीका आधारमा खटिएको टोलीले उनीहरूलाई सोमबार मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट पक्राउ गरेको हो ।
अख्तियारका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी रहेको किस्ता तथा मोबिलाइजेसन फन्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस मागिएको थियो ।
उनीहरूलाई सेवाग्राहीबाट ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई मंगलबार विशेष अदालतको आदेशअनुसार घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।