रिपब्लिकनलाई ठूलो धक्का, ट्रम्पमाथि हारको दोष

दुवै सदनमा बहुमत गुमाएमा राष्ट्रपतिलाई आगामी दुई वर्ष सरकारका नीति तथा कार्यक्रम अघि बढाउन कठिन हुन सक्छ ।

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो धक्का बेहोरेको छ । 

निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक हुँदै गर्दा पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा आफ्नो बहुमत गुमाउने अवस्था देखिएको हो ।

निर्वाचनमा भएको कमजोर प्रदर्शनपछि रिपब्लिकन पार्टीभित्रै हारको जिम्मेवारी राष्ट्रपति ट्रम्पले लिनुपर्ने आवाज उठ्न थालेको छ । 

पार्टीका नेताहरूले ट्रम्पको घट्दो लोकप्रियता, विवादास्पद नीतिहरू र महँगी नियन्त्रण गर्न नसकेको विषयले मतदातालाई असन्तुष्ट बनाएको बताएका छन् ।

रिपब्लिकन नेताहरूलाई प्रतिनिधिसभामा बहुमत गुम्ने आशंका पहिलेदेखि नै थियो । तर, सिनेटमा भने पार्टीले आफ्नो बहुमत जोगाउन सक्ने अपेक्षा गरिएको थियो । पछिल्लो नतिजाले सिनेटमा समेत डेमोक्रेटिक पार्टी बलियो बन्दै गएको देखाएको छ ।

टेक्ससका अनुभवी रिपब्लिकन लबिस्ट बिल मिलरले पार्टीको हारको जिम्मेवारी ट्रम्पकै भएको बताएका छन् । 

उनका अनुसार निर्वाचन परिणाम ट्रम्पप्रति मतदाताले देखाएको अस्वीकारको संकेत हो । यसको जिम्मेवारी अरू कसैलाई दिन नमिल्ने उनको भनाइ छ ।

डेमोक्रेटिक पार्टीले वर्षौंदेखि जित्न नसकेका राज्यमा समेत यसपटक सफलता हासिल गरेको छ । टेक्सस, साउथ क्यारोलाइना, आयोवा र ओहायोमा डेमोक्रेटिक उम्मेदवारहरूले महत्त्वपूर्ण जित निकालेका छन् । यीमध्ये धेरै राज्यलाई रिपब्लिकन पार्टीको बलियो आधार मानिँदै आएको थियो ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरिसकेको छ । रिपब्लिकनको पकड रहेको टेक्सस, क्यान्सस, साउथ क्यारोलाइना, ओहायो र नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन् । 

प्रतिनिधिसभामा पनि डेमोक्रेटिक पार्टी बहुमत नजिक पुगेको छ । यद्यपि सबै सिटको नतिजा आइसकेको छैन । 

मिनेसोटाका रिपब्लिकन रणनीतिकार ग्रेग पिपेनले पनि पार्टीको हारका लागि ट्रम्पका नीतिहरू जिम्मेवार रहेको बताएका छन् । उनले विभिन्न राज्यका मतदाताले राष्ट्रपतिको नीति मन नपराएको र पार्टीले लगातार गल्ती गरेको टिप्पणी गरेका छन् ।

चुनावी हार स्वीकार्न ट्रम्प तयार

निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेपछि राष्ट्रपति ट्रम्पले भने नतिजा स्वीकार गर्ने बताएका छन् ।
 
द न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू मध्यावधि निर्वाचनको परिणाम पूर्ण रूपमा स्वीकार गर्न तयार रहेको बताएका हुन् ।

उनले डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हामी उनीहरूसँग मिलेर काम गर्ने आशा गर्छौं । हामी मिलेर कुनै समाधान निकाल्नेछौं ।’

तर, ट्रम्पको अर्को अभिव्यक्तिले भने उनी डेमोक्रेटिक पार्टीसँग सहज रूपमा सहकार्य गर्ने पक्षमा नरहेको संकेत गरेको छ ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भिटो’ लेखिएको टोपीको तस्बिर सार्वजनिक गरेका छन् । यसअघि सीबीएस न्युजसँगको कुराकानीमा पनि उनले राष्ट्रपतिका रूपमा आफूले पाएको सम्पूर्ण अधिकार प्रयोग गर्ने बताएका थिए ।

ट्रम्पले विशेषगरी डेमोक्रेटिक पार्टीले संसद्बाट ल्याउने विधेयक आवश्यक परे भिटो गर्ने संकेत गरेका छन् । अमेरिकी राष्ट्रपतिलाई संसद्बाट पारित विधेयकमा असहमति जनाउँदै त्यसलाई रोक्न भिटो अधिकार प्रयोग गर्ने संवैधानिक अधिकार छ । 

के हो मध्यावधि निर्वाचन ?

अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ । राष्ट्रपतिको कार्यकाल सुरु भएको दुई वर्षपछि यो निर्वाचन हुन्छ ।

यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ अर्थात् यसपटक ३५ सिटका लागि मतदान हुन्छ । यसबाहेक विभिन्न राज्यमा गभर्नर र अन्य पदका लागि पनि निर्वाचन हुन्छ ।

अमेरिकी संसद्का दुई सदनमध्ये प्रतिनिधिसभामा बहुमतका लागि २१८ र सिनेटमा ५१ सिट आवश्यक पर्छ । सिनेटमा १०० सदस्य हुन्छन् ।

मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यशैली र सरकारका नीतिप्रति जनताको समर्थन मापन गर्ने महत्त्वपूर्ण कडीका रूपमा पनि हेरिन्छ । यस निर्वाचनमा संसद्का दुवै सदनमा बहुमत गुमाएमा राष्ट्रपतिलाई आगामी दुई वर्ष सरकारका नीति तथा कार्यक्रम अघि बढाउन कठिन हुन सक्छ ।

ट्रम्पको लोकप्रियताको परीक्षा, संसदमा बहुमत खोस्ने दाउमा डेमोक्र्याट

बाइनान्स ह्याकमा उत्तर कोरियाको संलग्नता अस्वीकार

जेनजी आन्दोलनको रापमा जर्मनी

इजरायलको चुनावी नतिजा र अबका चुनौती ​​​​​

चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै 

एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा

ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन

Share News