काठमाडौं । संयुक्त राज्य अमेरिकामा मध्यावधि चुनावअन्तर्गत मंगलबार मतदान भइरहेको छ । अमेरिकी कंग्रेस (संसद्) को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि यो मतदान भइरहेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दुई वर्ष बाँकी रहँदा भइरहेको यस चुनावलाई उनको बाँकी कार्यकालको दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
हाल अमेरिकी संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । यद्यपि, डेमोक्र्याटिक पार्टीले कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरेमा ट्रम्पका नीति तथा एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन कठिन हुनेछ ।
निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न अमेरिकी न्याय विभागले देशको इतिहासमै पहिलोपटक ५० वटै राज्यमा करिब एक हजार चुनाव अनुगमनकर्ता र पर्यवेक्षक खटाएको छ ।
चुनावको प्रारम्भिक नतिजा अमेरिकी समय अनुसार मंगलबार साँझ ६ बजेपछि (नेपाली समय बुधबार बिहान साढे ४ बजेतिर) आउन सुरु हुनेछ । अमेरिकी कंग्रेसको गणितीय संरचना अनुसार बहुमतका लागि दुवै सदनमा फरक-फरक संख्या आवश्यक पर्छ ।
१०० सदस्यीय सिनेटमा बहुमतका लागि ५१ सिट चाहिन्छ । हाल ५३/४७ को अनुपातमा रहेको सिनेटका ३५ सिट (२२ रिपब्लिकन र १३ डेमोक्र्याटिक) का लागि प्रतिस्पर्धा भइरहेको छ, जहाँ डेमोक्र्याटलाई बहुमत पुर्याउन कम्तीमा ४ सिट थप्नुपर्ने हुन्छ । यदि सिनेटमा ५०/५० को बराबरी भएमा उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिने अधिकार राख्छन् ।
यता ४३५ सदस्यीय तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ का सबै सिटमा चुनाव भइरहेको छ, जहाँ बहुमतका लागि कम्तीमा २१८ सिट आवश्यक पर्छ । दुवै दल संसद्का दुवै सदनमा आफ्नो पकड जमाउने होडमा रहेका छन् ।