उत्तरगया गाउँपालिकाले सार्वजनिक गर्‍यो बाढी प्रभावित परिवारको नामावली

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूको नामावली सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट गाउँपालिकाभित्र भएको क्षतिको विवरण संकलन गर्न पाँचवटै वडामा कर्मचारी तथा शिक्षक खटाइएको थियो ।

उनीहरूबाट प्राप्त क्षतिको विवरण सम्बन्धित वडा समिति तथा सर्वदलीय बैठकबाट निर्णय गराई गाउँपालिकाको कार्यालयमा पठाइएको थियो । सोही विवरणका आधारमा स्थानीय विपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाको बैठकबाट प्रभावित परिवारको सूची सार्वजनिक गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको नामावलीमा नाम समावेश हुन छुटेको भए वा विवरण सच्याउनुपर्ने भए सम्बन्धितले दाबी–विरोध गर्न सक्ने जनाएको छ ।

त्यस्तै, सार्वजनिक गरिएको क्षतिको विवरण चित्त नबुझेमा, कसैको नाम दोहोरिएको भए वा क्षति नभएका व्यक्तिको नाम समावेश भएको भए त्यसबारे पनि गुनासो गर्न सकिनेछ ।

गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी गुनासो तथा दाबी–विरोध दर्ता गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Share News