काठमाडौं । काठमाडौं महानगरपालिकाले नन्दीकेशर सत्तलको पुनर्निर्माण सुरु गरेको छ । २०७२ सालको भूकम्पपछि जीर्ण बनेर भत्काइएको सत्तल स्थानीयबीचको मतभेदका कारण लामो समयदेखि पुनर्निर्माण हुन सकेको थिएन ।
स्थानीय विवाद प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट समाधान भएपछि महानगरपालिकाले पुनर्निर्माणको काम अघि बढाएको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गर्दै पुनर्निर्माणको सुरुवात गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले भत्किएका सम्पदाको पुनर्निर्माण र हराउँदै गएका सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिइएको बताइन् । उनले नन्दीकेशर सत्तल काठमाडौंको पहिचानसँग जोडिएको सम्पदा भएको बताइन् ।
वडाध्यक्ष भरतलाल श्रेष्ठले सत्तलको पुनर्निर्माण सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार सत्तल पुनर्निर्माणपछि वडाको प्रशासनिक सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी छ ।
वडा सचिव सर्वज्ञराज पौडेलले निर्माणको काम सुरु भइसकेकाले तोकिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको बताए । निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म तोकिएको छ ।
आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार सत्तल ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । दुई तलाको सत्तलको चौडाइ १८ फिट हुनेछ भने दक्षिणतर्फको लम्बाइ १४८ फिट र पश्चिमतर्फ १४७ फिट हुनेछ । प्रत्येक तला ३ हजार ८८१ वर्गफिटको हुनेछ ।
सत्तल पुनर्निर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत ८ करोड १६ लाख ९१ हजार ७२३ रुपैयाँमा आर.आर.–आर.जी.एस. निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।
ऐतिहासिक रूपमा नन्दीकेशर सत्तल श्री ५ सुवर्णप्रभा महारानीले शाके संवत् १७३० मा निर्माण गराएको मानिन्छ । यसको वि.सं. १९९० र २०२८ सालमा जीर्णोद्धार गरिएको थियो । २०७२ सालको भूकम्पले सत्तलमा क्षति पुगेपछि पुनर्निर्माणको प्रक्रिया अघि बढे पनि स्थानीयबीचको मतभेदका कारण रोकिएको थियो ।
वि.सं. २०३६ सालमा काठमाडौं नगर पञ्चायतले तयार पारेको अभिलेखअनुसार सत्तल चारैतिर समान रूपमा फैलिएको थियो । सत्तलको बीचमा एउटा मन्दिरसमेत रहेको थियो । दक्षिणतर्फको भाग नन्दी रात्री विद्यालयले कक्षा सञ्चालनका लागि प्रयोग गर्दै आएको थियो ।
पुरानो अभिलेखमा सत्तलको काष्ठकला र प्रस्तरकला महत्वपूर्ण रहेको उल्लेख छ । संरक्षणको अभावमा काठ मक्किएको तथा जस्ता र झिँगटीको छानाबाट पानी चुहिने समस्या रहेको पनि अभिलेखमा उल्लेख गरिएको थियो ।