नेपाल अरनिको हाइड्रोले मध्य भोटेकोशीको सेयर बेच्ने, सर्वसाधारणको पैसा फिर्ता गर्ने

काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडले मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा रहेको आफ्नो सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मध्य भोटेकोशी जलविद्युत् कम्पनीमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको हो । 

उक्त निर्णय अनुमोदनका लागि कम्पनीले असोज १७ गते काठमाडौंको पेप्सीकोलास्थित स्टार ब्यांक्वेटमा बिहान साढे ८ बजे वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभामा कम्पनीमार्फत लगानी गरेका सर्वसाधारण लगानीकर्तालाई रकम फिर्ता गर्ने वा सेयरमा हक कायम गराउने तथा आवश्यक अन्य व्यवस्था मिलाउने सम्बन्धमा सञ्चालक समितिले गरेका कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पेस हुनेछ । यसका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ ।

यस्तै, कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने तथा सञ्चालक समितिको संख्या हेरफेर गर्ने प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आय-व्यय विवरण तथा वासलात पारित गर्नेछ ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा रिक्त सञ्चालक पदमा, स्वतन्त्र सञ्चालकसमेत, नियुक्त गरी सञ्चालक समिति पुनर्गठन तथा निर्वाचन गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुने कम्पनीले जनाएको छ ।

Share News