काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका छन् । बैंकका संस्थापक सेयरधनी अमिर रत्न डंगोल, मिना महर्जन, त्रिरत्न महर्जन र विश्वेश श्रेष्ठले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार अमिर रत्न डंगोलले १ लाख कित्ता, मिना महर्जनले ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनले ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठले ३८ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर खरिद गर्न ३५ दिनको समय दिएको थियो । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नआएपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार आवश्यक योग्यता पूरा गरेको हुनुपर्नेछ । इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।