३ अर्बमा ग्लोबल आइएमई बैंकको हेड अफिस बन्दै, ३ वर्षमा सम्पन्न गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले अत्याधुनिक केन्द्रीय कार्यालय भवन (हेड अफिस) निर्माण गर्ने भएको छ । बैंकले काठमाडौंको उत्तरढोकामा करिब ३ अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको हो ।

धनतेरसको अवसर पारेर बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरेका छन् । करिब एक लाख ४५ हजार वर्गफिट निर्माण क्षेत्रफल रहने भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । भवनको संरचना निर्माणदेखि आन्तरिक सजावटसम्मका कामका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र सुविधासम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गरेका छन् । काठमाडौंको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा विशिष्ट पहिचान बोकेको संरचनाका रूपमा स्थापित हुने उनको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको विश्वास, माया र शुभेच्छाका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित भएको बताए । ग्राहक संख्या र बैंकिङ कारोबार विस्तार हुँदै जाँदा केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभागलाई एउटै भवनबाट सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भएको उनले उल्लेख गरे ।

null

नयाँ भवन निर्माण सम्पन्न भएपछि बैंकका सम्पूर्ण केन्द्रीयस्तरका विभागलाई एउटै छानामुनि ल्याएर सेवा प्रवाह गर्ने योजना रहेको रेग्मीले जानकारी दिए । उनका अनुसार भवनलाई नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक संरचनाका रूपमा विकास गरिनेछ ।

नयाँ भवनले बैंकका केन्द्रीय विभागबीच समन्वय बढाउनुका साथै प्रशासनिक तथा व्यवस्थापकीय कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा बैंकको छ ।

Share News