कामना सेवा विकास बैंकद्वारा धरानका टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरानका टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको छ।

बैंकको धरान शाखामार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई २०० थान डस्टबिन वितरण गरिएको हो।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन वितरण गरेका हुन्।

कार्यक्रममा कोशी प्रदेश प्रमुख भुसालले स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताए। सार्वजनिक यातायातका साधनमा डस्टबिनको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुहरूमा सरसफाइप्रति सकारात्मक सन्देश जाने उनको विश्वास छ।

त्यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले टेम्पु तथा सिटी सफारीमा यात्रा गर्ने यात्रुलाई जथाभावी फोहोर नफाल्न प्रोत्साहित गर्न र नगरको स्वच्छता तथा वातावरण संरक्षणमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सहयोगका लागि बैंकलाई धन्यवादसमेत दिए।

बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको जनाएको छ।

बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। 

Share News