काठमाडौं महानगरका पत्राचार अब हुलाकमार्फत हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिसँग हुने पत्राचार अब हुलाकमार्फत गर्ने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरी विभिन्न निकाय तथा व्यक्तिलाई पठाइने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र, पार्सललगायत हुलाक वस्तु हुलाकमार्फत पठाउने भएको हो ।

यसका लागि शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहबरमा प्रशासन विभागका प्रमुख महेश काफ्ले र गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत ढालबहादुर जिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महानगरपालिकाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ ।

महानगरपालिकाका विभाग, महाशाखा, सचिवालय, एकाइ तथा आयोजनाबाट चलानी हुने पत्र केन्द्रीय सम्पर्क एकाइमा संकलन गरिनेछ । त्यसरी प्राप्त भएका पत्र सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइनेछ ।

हुलाक कार्यालयले महानगरपालिकाबाट प्राप्त हुलाक वस्तुलाई प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा वितरण प्रतिनिधिमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ । वितरणपछि प्राप्त हुने भरपाई महानगरपालिकालाई उपलब्ध गराउने र सेवा बापतको मासिक बिलसमेत पेस गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

सम्झौताअनुसार महानगरपालिका क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘उही दिन’ सेवा उपलब्ध हुनेछ । यस्तो सेवामा बढीमा दुई किलोग्रामसम्मका हुलाक वस्तु समावेश हुनेछन् । दुई किलोग्रामसम्मका पत्र वा अन्य सामानका लागि दर्ता सेवा तथा आवश्यकताअनुसार शीघ्र डाँक सेवा र पार्सललगायत अन्य सेवा प्रयोग गरिनेछ ।

महानगरपालिका क्षेत्रभित्र उही दिन सेवाअन्तर्गतका हुलाक वस्तु सामान्यतः सोही दिन वितरण गरिनेछ । दर्ता तथा पार्सल सेवाअन्तर्गतका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रबाहेक काठमाडौं जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका हकमा दर्ता सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिने सम्झौतामा उल्लेख छ । अन्य जिल्लाका लागि प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा प्रदान गरिनेछ ।

सम्झौतामा हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले सुरक्षित प्याकेजिङ गर्नुपर्ने र हुलाक कार्यालयले प्राप्तिदेखि वितरणसम्म उच्च सावधानी अपनाउनुपर्ने उल्लेख छ । प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क एकाइमा फिर्ता गरिनेछ ।

महानगरपालिका र हुलाक कार्यालयबीच भएको सम्झौता एक वर्षका लागि हुनेछ ।

Share News