बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) सँग बुढानीलकण्ठ विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिएको सो नगरका प्रमुख मीठाराम अधिकारीले बताए । नगरको १२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अधिकारीले नेपाल सरकारको सम्बन्धित निकाय र पक्षसँग सो विषयमा विभिन्न चरणमा कुरा भएको जनाए । उनले अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पालिका सक्रिय भएको बताए । प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूदलाई प्राथमिकता दिइएको र शिक्षा क्षेत्रको बजेट बढाएर १३ करोड रुपैयाँसम्म पुर्याइएको जनाउँदै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको बताए । सो पालिकाले ४  जिपिए ल्याउने सामुदायिक विद्यालयलाई  पाँच लाख रुपैयाँ र विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको जनाएको छ । नगरपालिकाले नगर अस्पतालबाट दैनिक ३०० भन्दा बिरामीको उपचार गर्दै आएको छ । स्थापना दिवसका अवसरमा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले विकास, सुशासन र सेवा प्रवाहमा बुढानीलकण्ठ नगरपालिकाले गरेको कामप्रति प्रशंसा व्यक्त गरे । नगरका उपप्रमुख अनिता लामाले जनताले पाउने सेवालाई परिणामुखी बनाउन कर्मचारी संयन्त्रले राम्रो काम गर्दै आएको बताए ।  

भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ ।  महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट  सेवा प्रवाह गरिरहेको छ ।  

शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरिएको छ । नगर शिक्षा समितिको बैठकले बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीसमेतलाई थप पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । यी सबै निर्णय आगामी पुस १ गतेदेखि लागू हुने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले जानकारी दिए । नगर शिक्षा समितिको निर्णयअनुसार नगर शिक्षण–सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षकको पारिश्रमिक, भत्ता तथा व्यवस्थापनसम्बन्धी बजेट व्यवस्थापनका लागि सिफारिस गरिने भएको छ । समितिले गुणस्तर सुधार तथा सिकाइ प्रभावकारितामा जोड दिँदै विभिन्न तहका शिक्षक तथा विद्यालय कर्मचारीको सुविधा समायोजन गरेको प्रमुख भट्टले बताए । माध्यमिक तहमा गणित तथा विज्ञान विषय अध्यापन गर्ने शिक्षकलाई मासिक रु ५०० विशेष अनुदान प्रदान गरिने निर्णय गरिएको छ । यसैगरी माध्यमिक तहका प्रधानाध्यापकको भत्तामा रु ७०० र आधारभूत तहका प्रधानाध्यापकको भत्तामा रु ५०० थप गरिनेछ । विद्यालयको प्रशासनिक कार्य प्रभावकारी बनाउन माध्यमिक विद्यालयलाई रु १५ हजार, आधारभूत तहलाई रु १० हजार प्रशासनिक खर्चका रूपमा उपलब्ध गराइने निर्णय भएको शाखा प्रमुख भट्टले बताए । उनका अनुसार बालविकास तहमा अध्यापन गर्दै आएका शिक्षकलाई थप रु सात हजार गरी रु १९ हजार, विद्यालय सहायक कर्मचारीलाई रु नौ हजार थप गरी रु २४ हजार र विद्यालय सहयोगी कर्मचारीलाई रु सात हजार थप गरी रु १७ हजार मासिक पारिश्रमिक दिने निर्णय गरिएको छ । अतिरिक्त जिम्मेवारी दिइएका बालविकास शिक्षकलाई मासिक रु दुई हजार थप अतिरिक्त रकमसमेत उपलब्ध हुनेछ । नगर शिक्षण–सिकाइ अनुदान शिक्षकको अद्यावधिक तलब–भत्ताको रकममा वृद्धि गरी निम्न माध्यमिक तहका शिक्षकलाई रु २३ हजार, माध्यमिक तहका शिक्षकलाई रु २६ हजार र साविक उच्च माध्यमिक तहका शिक्षकलाई रु २७ हजार तलब भत्ताको रकम उपलब्ध गराइने छ । तीन वटै तहका शिक्षकको तलबमा रु एक हजारले वृद्धि गर्ने निर्णय गरिएको छ । 'यो तलब–भत्ता १३ महिना बराबर उपलब्ध गराइने व्यवस्था गरिएको छ', शाखा प्रमुख भट्टले भने, 'शिक्षकलाई यसका अतिरिक्त हरेक वर्ष रु १० हजार बराबरको पोसाक खर्च उपलब्ध गराइनेछ ।' नगरपालिकामा सामुदायिक विद्यालयमा ८८ नगर शिक्षक, ६५ बालविकास केन्द्र शिक्षक, विद्यालय कर्मचारी १३ र विद्यालय सहयोगी ३३ जना कार्यरत रहेका छन् । स्वीकृत दरबन्दी प्राथमिक तहमा ७३, निम्न माध्यमिक विद्यालयमा १६, माध्यमिक तहमा आठ र उच्च माध्यमिक तहमा दुई रहेका छन् । राहत कोटा प्राथमिक तहमा ५०, निम्न माध्यमिक तहमा २५, माध्यमिक तहमा १६ र उच्च माध्यमिक तहमा आठ रहेका छन् । नगरपालिकाका कुनै पनि विद्यालयमा विज्ञान सङ्काय सञ्चालन नभएकाले, शुक्लाफाँटा–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय गरिएको उनले उल्लेख गरे । नगरपालिकाभित्रका २८ सामुदायिक र २५ निजी विद्यालयमा सौन्दर्यकरणका लागि ‘फुलबारी कार्यक्रम’ अनिवार्य गर्ने निर्णय गरिएको छ । यसका लागि सम्बन्धित विद्यालयलाई पत्राचार गरिने शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले बताए । त्यसैगरी विद्यालयहरूमा नैतिक शिक्षा तथा उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गर्न नगर कार्यपालिकालाई सिफारिस गरिएको छ । विद्यालय भवनको मर्मत–सम्भारका लागि रु २० लाख विनियोजन गर्न नगर कार्यपालिकालाई अनुरोध गर्ने समितिको बैठकले निर्णय गरेको अधिकृत भट्टले बताए । विद्यालय परिसर तथा विद्यालय क्षेत्रभित्र नजिक सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले, विद्यालयमै लागुपदार्थ तथा मदिरा सेवन रोक्ने निर्देशन जारी गर्ने निर्णय गरिएको छ । यसबाहेक विद्यालय परिधिको २०० मिटर क्षेत्रभित्र मदिरा, सुर्तीजन्य तथा लागुपदार्थजन्य सामग्री खरिद–बिक्री गर्न नपाइने व्यवस्था कार्यान्वयनका लागि पनि नगर कार्यपालिकालाई सिफारिस गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षक तथा विद्यार्थीको सिकाइ वातावरण सुधार, विद्यालय प्रशासन सुदृढीकरण तथा समुदायमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यी निर्णय महत्वपूर्ण हुने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले विश्वास व्यक्त गरेका छन् । नगरपालिकामा बालविकासदेखि माध्यमिक तहसम्म गरी १४ हजार ५४३ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन् । रासस