स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । कुनै कारणवश भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले व्यहोर्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर तथा पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुनेछ । उनले भने, 'पाटन अस्पतालकै सुझाव र सल्लाहबमोजिम आवश्यक सुविधाहरू जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण गरिरहेका छौं । निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी छ । त्यो केन्द्र खुलेपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले अझ राम्रो सेवा प्रवाह गर्न सक्छौं । मुलुकका ७५३ स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण पालिकाका लागि असल अभ्यास बनेको छ ।' मेयर महर्जनले ७५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए ।

भाडा नतिर्ने सहकारीलाई महानगरको चेतावनी, सात दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।      सूचनामा भनिएको छ, 'काठमाडौं महानगरपालिका, न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णयमध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्नेसम्बन्धी मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ ।'      कामपा सहकारी विभागका प्रमुख महेशकुमार काफ्लेकाअनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र कामपाका, कानुन तथा मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्नेछ ।      तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयानुसार खाली गरिने जनाइएको छ ।  'उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घरधनीको जिम्मामा दिइनेछ । पछि सहकारीका सम्पत्ति, सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने व्यहोरासमेत यसै सूचनामार्फत सूचित गरिन्छ', सूचनामा उल्लेख छ ।      नाम सार्वजनिक गरिएका सहकारीहरुमा वडा नं ३१ स्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं ६ स्थित नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सोही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं १७ मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन् । त्यसैगरी वडा नं २२ मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं ३२ मा रहेको ग्रेट गङ्गासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, वडा नं  १० मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।      लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन् । यसरी आएका निवेदन फछ्र्यौट गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर सो प्रक्रिया अगाडि बढाएको हो ।    

६७ लाखमा ७ हजार ‘क्याट्स आई’ राखिँदै, दुर्घटना कम गर्न सहयोग पुग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा ७ हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ । रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ । त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । लैनचौर,  कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, छाउनेलगायत स्थानमा ६७ लाख रुपैयाँ बराबरको लागतमा क्याट्स आइ राख्न लागिएको सल्लाहकार श्रेष्ठले बताए । क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । यसैबीच, कामपाले सडक चिह्न राख्ने तयारी थालेको छ ।  धेरै स्थानमा सडक चिन्ह मेटिएका छन् । त्यस्ता चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडक विभागसँगको सहकार्यमा कामपाले राख्न लागेको हो ।  कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिँदै आइएको छ ।