२६ वस्तुमा शतप्रतिशत कर छुट

काठमाडौं । सरकारले विभिन्न २६ वटा वस्तु, सेवा तथा उपकरण पैठारीमा  लाग्ने लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, दस्तुर तथा अन्य सम्पूर्ण शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । सरकारले मुलुकको जनस्वास्थ्य व्यवस्थापन, प्रतिनिधि सभा निर्वाचन सहजीकरण, शान्ति सेनाको बन्दोबस्ती सामग्री स्वदेश फिर्ता र अमेरिकाबाट बहुमूल्य पुरातात्विक मूर्तिहरूको पुनप्राप्ति लगायतमा सतप्रतिशत कर छुट गर्ने निर्णय गरेको हो । 

सरकारले जनस्वास्थ्य तथा मातृत्व सुरक्षालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू मार्फत प्राप्त प्रसूति तथा परिवार नियोजन सम्बन्धी सामग्रीहरूमा भन्सार शुल्क पूर्ण छुट दिएको छ । परिवार कल्याण महाशाखा टेकुका लागि आयातित २४ हजार ४५६.५८ अमेरिकी डलर बराबरका सुरक्षित प्रसूति सेवा उपकरण, ८ हजार ४२४ अमेरिकी डलर मूल्यका २७० वटा नवजात शिशु सघन उपचार सम्बन्धी ’सक्सन क्यानिस्टर होल्डर’, र १२ लाख ४१ हजार १० अमेरिकी डलर बराबरका डिम्पल मेड्रोक्सीप्रोजेस्टेरोन एसिटेट सिरिन्ज, जाडेल इम्प्लान्ट र कन्डमहरूको पैठारीमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिएको छ । 

सरकारले बर्थिङ सेन्टर सञ्चालनका लागि प्राप्त १८ हजार ८०३.५७ अमेरिकी बराबरका औजार, ७४ हजार २१५.८० अमेरिकी डलर बराबरको सायानाप्रेस इन्जेक्सन तथा फिस्टुला मर्मत किट, र ४ लाख ५१ हजार ९९१.२८ अमेरिकी  बराबरका ओरल पिल्स, कन्डम तथा डिपो सामग्री आयात गर्दा लाग्ने सबै दस्तुर र महसुल पूर्ण रूपमा छुट दिइएको छ ।  

सरकारले बालबालिकाको पोषण तथा सरुवा रोग रोकथामका लागि वैदेशिक अनुदानमा प्राप्त औषधिहरूलाई पनि सरकारले शतप्रतिशत राजस्व छुटको दायरामा ल्याएको छ । डब्ल्यूएचओ नेपालमार्फत विद्यालयका विद्यार्थीलाई खुवाउन प्राप्त अमेरिकी डलर १ लाख ११ हजार ९०० बराबरको जुकाको औषधि (अल्बेन्डाजोल ४०० एमजी), युनिसेफ नेपालबाट प्राप्त अमेरिकी डलर ५६ हजार १८.८८ र युरो ११ हजार ९८३.६८ मूल्य बराबरका भिटामिन ’ए’ सफ्ट जेल क्याप्सुल तथा कुपोषित बालबालिकाका लागि उपचारात्मक दूध तथा शीघ्र कुपोषण एकीकृत व्यवस्थापनका लागि प्राप्त क्रमशः अमेरिकी डलर ३ लाख ८० हजार (१० हजार वटा) र अमेरिकी डलर ५ लाख ७० हजार १७० बराबरका उपचारात्मक पोषक आहार आयातमा कुनै पनि कर नलाग्ने गरी छुट दिइएको छ 

मुलुकमा विभिन्न महामारी तथा कडा रोगको रोकथामका लागि आयातित प्रयोगशाला किट र औषधिहरूमा पनि भन्सार शुल्क मिनाहा गरिएको छ ।  डब्ल्यूएचओबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका लागि प्राप्त जापानी इन्सेफलाइटिस, दादुरा, रुबेला र डेङ्गु परीक्षण किटहरू (क्रमशः अमेरिकी डलर २ हजार ७०, युरो १ हजार ३७२, भारू ३ लाख ४७ हजार ९९१.११ तथा अमेरिकी डलर २ हजार ४८४ र भारू १ लाख १० हजार ७५० बराबर), र कालाजार उपचारका लागि प्राप्त अमेरिकी डलर ६५ हजार मूल्यको ४०० वटा ‘लिपोसोमल एम्पोटेरिसिन’ औषधि तथा अमेरिकी डलर ४० हजार ५०० मूल्यको रेबिज खोपमा भन्सार तथा भ्याट पूर्ण छुट दिइएको छ ।

फिलेरिया सर्भेका लागि प्राप्त अमेरिकी डलर ५४ हजार २१० बराबरको ‘फिलेरियल टेस्ट स्ट्रिप्स’ र कालाजार तथा मलेरिया नियन्त्रणका लागि प्राप्त अमेरिकी डलर १ लाख ३६७.४९ मूल्यको कीटनाशकयुक्त कागज आयातमा पनि सम्पूर्ण महसुल छुट भएको छ । 

स्वास्थ्य मन्त्रालय र युएनडीपीको संयुक्त आयोजनामा सञ्चालित ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत आयातित जटिल रोगका औषधिहरूमा सरकारले पूर्ण कर मिनाहा गरेको छ । क्षयरोग नियन्त्रणका लागि प्राप्त अमेरिकी डलर १८ हजार ८८१.४४ मूल्यको मोक्सिफ्लोक्सासिन ४०० एमजी ट्याब्लेट, एड्स नियन्त्रण केन्द्रका लागि प्राप्त अमेरिकी डलर १ लाख १५ हजार ४३२.१६ बराबरका एचआईभी भाइरल लोड परीक्षण रिएजेन्ट, अमेरिकी डलर १९ हजार ४२५ मूल्यको ‘आइसेन्ट्रेस ४०० एमजी’ ट्याब्लेट र अमेरिकी डलर २० हजार ८३७.३८ बराबरका एन्टिरेट्रोभाइरल औषधि ‘लोपिनाभिर÷रिटोनाभिर’ एवं युरो ६९८.६० मूल्यका प्रयोगशाला सामग्री पैठारीमा लाग्ने सम्पूर्ण दस्तुर, शुल्क र भन्सार महसुल छुट दिइएको छ ।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सहजीकरणका लागि भारत सरकारबाट सहायता स्वरूप प्राप्त सुरक्षा सामग्रीहरूमा शतप्रतिशत राजस्व छुट दिइएको छ । भारतबाट अनुदानमा प्राप्त ५३८ सवारी साधनमध्ये १ थान महिन्द्रा स्कोर्पियो पिकअप सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले, सोको सट्टा भारत सरकारबाट भारू ७ लाख ४३ हजार ६४५.७९ सोधभर्ना भई आएको नयाँ सवारी साधन आयात गर्दा महसुल छुट दिइएको छ । 

संयुक्त राष्ट्रसंघको सङ्कटकालीन योजना अन्तर्गत वैदेशिक शान्ति मिसनहरूमा कार्यरत नेपाली शान्ति सैनिकहरूको संख्या घटेपछि उनीहरूका बन्दोबस्तीका सामान स्वदेश फिर्ता ल्याउँदा लाग्ने भन्सार शुल्क मिनाहा गरिएको छ । मिसनबाट ’स्क्यान ग्लोबल लजिस्टिक’ मार्फत नेपाल फर्काइएका अमेरिकी डलर २६ लाख २० हजार ८६ मूल्य बराबरका १५ वटा गाडी, १ वटा ट्रेलर र २ वटा कन्टेनर तथा यूएनआईएसएफए मिसनबाट फिर्ता ल्याइएका अमेरिकी डलर ७६ लाख ७ हजार १३८.६६ मूल्य बराबरका २३ वटा गाडी, १३ वटा कन्टेनर, ४ वटा ट्रेलर र ६ वटा जेनेरेटर सामग्री पैठारीमा लाग्ने सम्पूर्ण महसुल र कर छुट दिने निर्णय भएको छ । 

गैरकानूनी रूपमा अमेरिका पुगी न्युयोर्क डिस्ट्रिक्ट एटोर्नीको अधीनमा रहेका दुईवटा बहुमूल्य प्राचीन कलात्मक मूर्तिहरू स्वदेश फर्काउँदा लाग्ने सम्पूर्ण भन्सार तथा कर पूर्ण छुट दिने निर्णय गरिएको छ ।

१३औँ शताब्दीमा निर्मित, तामामा सुनको जलप लगाइएको पद्मपाणि लोकेश्वरको मूर्ति (अन्तर्राष्ट्रिय बजार मूल्य २५ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड नेपाली रुपैयाँ) र १६औँ शताब्दीमा निर्मित काठको नृत्यदेवीको मूर्ति (अन्तर्राष्ट्रिय बजार मूल्य २ लाख अमेरिकी डलर) नेवाः गुठी न्युयोर्कको आर्थिक सहयोग र नेपाली महावाणिज्य दूतावासको समन्वयमा २०८३ असार १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका थिए । पुरातत्त्व विभागले बुझिलिने गरी फिर्ता ल्याइएका यी अमूल्य सांस्कृतिक सम्पदाको भन्सार जाँचपासमा पूर्ण राजस्व छुट दिइएको छ । 

Share News