काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–३, निर्माण हुने मानवसेवा आश्रमको भवनका लागि काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमबीच एक करोड ५० लाख रुपैयाँको सम्झौता भएको छ।
बुधबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो।
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिकाको क्रसं ६४८ र खर्च संकेत नं. २६४१३ अन्तर्गत ‘सहयोगापेक्षी मानव व्यवस्थापनका लागि मानवसेवा आश्रमलाई घरभाडा, व्यवस्थापन तथा स्क्रिनिङ अनुदान’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले आश्रमलाई उक्त रकम उपलब्ध गराउनेछ। सम्झौताअनुसार आश्रमले पनि कार्यक्रम सञ्चालनका लागि कम्तीमा २० प्रतिशत लागत सहभागिता व्यहोर्नुपर्नेछ।
धुनिवेशीमा निर्माण हुने भवनमार्फत काठमाडौं क्षेत्रका सडक किनारा तथा सार्वजनिक स्थलमा घरबारविहीन भइ बेवारिसे अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पुनर्स्थापनालाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। भवनमा काठमाडौंमा रहेका करिब २०० जना सडकआश्रित मानवहरूको व्यवस्थापन गर्ने योजना रहेको छ। साथै भवनलाई सामुदयस्तरमा मानवता अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने लक्ष्य रहेको आश्रमले उल्लेख गरेको छ ।
काठमाडौं महानगरपालिकाले विसं २०७४ सालदेखि मानवसेवा आश्रमसँगको सहकार्यमा काठमाडौंमा रहेका सडकआश्रित मानवको उद्धार तथा व्यवस्थापन गर्दै आएको थियो। महानगरपालिकाले गत जेठ २६ गते मानवसेवा आश्रमको सहकार्यमा काठमाडौंलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर घोषणा गरिसकेको छ।
भवन निर्माणसँगै सडकआश्रित मानवहरूको उद्धार, संरक्षण तथा पुनर्स्थापनाको सेवा कार्य थप व्यवस्थित हुनुका साथै समाजमा मानवीय सेवाभाव प्रवर्द्धनमा समेत टेवा पुग्नेछ ।