घट्दो आम्दानीले दबाबमा दूरसञ्चार कम्पनी

भ्वाइस कलको बजार ओटीटीले खोस्यो, सस्तो डेटा प्याकले आम्दानी खुम्च्यायो

काठमाडौं । नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या बढिरहेको छ । फोरजी नेटवर्क गाउँगाउँसम्म विस्तार भएको छ । स्मार्टफोनको पहुँच बढेसँगै इन्टरनेट प्रयोग र डेटा खपत पनि प्रत्येक वर्ष उकालो लागिरहेको छ । तर, दूरसञ्चार सेवाको बजार विस्तार भइरहँदा सेवा प्रदायक कम्पनीहरूको आम्दानी भने निरन्तर खुम्चिँदै गएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या साढे चार करोड पुगेको छ । यो संख्या २०७६ सालको तुलनामा ५७ प्रतिशत बढी हो । २०७६ साल भदौमा मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या एक करोड ९५ लाख मात्रै थियो ।

यस्तै, फोरजी नेटवर्क देशभर फैलिएको छ । स्मार्टफोन गाउँगाउँ पुगेका छन् । इन्टरनेटको पहुँच र डेटा खपत हरेक वर्ष बढिरहेको छ । सामाजिक सञ्जाल, भिडियो, म्यासेजिङ, अनलाइन बैठकदेखि बैंकिङ र सरकारी सेवासम्म मोबाइल इन्टरनेटमै निर्भर हुन थालेका छन् । तर, यही अवधिमा दूरसञ्चार कम्पनीहरूको आम्दानी भने अपेक्षाअनुसार बढ्न सकेको छैन । 

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको आम्दानी हेर्दा वर्सेनि घट्दो अवस्थामा छ । आर्थिक वर्ष २०७५÷७६ मा ४३ अर्ब ८३ करोड रुपैयाँ रहेको नेपाल टेलिकमको आम्दानी आर्थिक वर्ष (आव) २०७६÷७७ मा ४२ अर्ब ९८ करोड र आव २०७७/७८ मा ४२ अर्ब २१ करोड पुगेको थियो । 

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा भने केही सुधार हुँदै ४४ अर्ब ३७ करोड र आव २०७९/८० मा ४४ अर्ब ४२ करोड पुगे पनि त्यसपछि फेरि घटेर २०८०/८१ मा ४२ अर्ब १७ करोड र २०८१/८२ मा ३८ अर्ब १९ करोडमा झर्यो । 

कम्पनीको आम्दानी आर्थिक वर्ष २०८२/८३ मा केही सुधार भएर ३९ अर्ब १९ करोड पुगे पनि यो अघिल्लो दशकको तुलनामा सामान्य वृद्धि हो । यसबीच कम्पनीको नाफामा समेत ठूलो उतारचढाव देखिएको छ । कुनै बेला १० अर्ब रुपैयाँसम्म खुद नाफा गर्ने नेपाल टेलिकम अहिले ६ अर्ब रुपैयाँमा झरेको छ । 

null

यस्तै, निजी क्षेत्रको ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेल पनि ठूलो दबाबमा देखिको तथ्यांकले देखाउँछ । कुनै बेला ६० अर्ब रुपैयाँसम्म आम्दानी गर्ने एनसेल अहिले एक त्रैमासमा ६ अर्ब र वार्षिक ३० अर्ब रुपैयाँको हाराहारीमा आम्दानी गर्ने अवस्थामा झरेको छ । 

विदेशी लगानी समेत रहेको एनसेलले आर्थिक वर्ष २०७४/७५ मा ५९ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेकोमा आव २०७५/७६ मा ५५ अर्ब २८ करोड, २०७६/७७ मा ४६ अर्ब ७६ करोड, २०७७/७८ मा ४० अर्ब २२ करोड, २०७८/७९ मा ३९ अर्ब ७२ करोड, २०७९/८० मा ३७ अर्ब ४४ करोड, २०८०/८१ मा ३४ अर्ब ७ करोड र २०८१/८२ मा ३२ अर्ब ५५ करोडमा झरेको देखिन्छ । 

अर्थात् आठ वर्षको अवधिमा एनसेलको आम्दानी करिब आधा अर्थात् ४५ प्रतिशतले घटेको छ । यसले नेपालको दूरसञ्चार क्षेत्रमा देखिएको परिवर्तन सामान्य वार्षिक उतारचढाव मात्रै नभएर व्यवसायको पुरानो आम्दानी संरचनामाथि आएको दीर्घकालीन दबाब भएको स्पष्ट देखाउँछ । 

null

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार विगतका वर्षहरुको तुलनामा कम्पनीको आम्दानी घट्नुका केही कारणहरु छन् । उनका अनुसार विभिन्न परियोजना तथा नेटवर्क विस्तारमा भइरहेको खर्च, प्रविधिमा भइरहेको लगानी, भ्वाइस सेवाबाट हुने आम्दानीको कमी लगायत कारणले कम्पनीको समग्र आम्दानी घटिरहेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा नेपाल टेलिकमको गत वर्षको आम्दानी बढेको उनको भनाइ छ । 

‘विश्वमा भइरहेको सूचना प्रविधिको विकास विस्तार अनुसार हामीले पनि सुधार गर्दै र सोही अनुसारको प्रविधिमा खर्च गर्नुपर्ने हुन्छ । सेवा पनि सुधार गर्नुपर्ने हुन्छ । त्यही किसिमले प्रोजेक्ट र नेटवर्क पनि विस्तार गर्नुपर्छ,’ लामिछाने भन्छन्, ‘बैंकको ब्याज घट्दा र भ्वाइस सेवाबाट हुने आम्दानी घ्टदा कम्पनीको समग्र आम्दानी घटेको हो । यद्यपि, अघिल्लो वर्षको तुलनामा गत वर्षको आम्दानी बढेको छ ।’

एउटा समय थियो, मोबाइल सेवा भनेको भ्वाइस कल र एसएमएस थियो । ग्राहकले मिनेटका आधारमा पैसा तिर्थे र टेलिकम कम्पनीको मुख्य आम्दानी त्यहीँबाट आउँथ्यो । अहिले मोबाइल फोनको मुख्य प्रयोग भ्वाइस कलबाट डेटा सेवातर्फ सरेको छ । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, भाइबर, टिकटक, युट्युब, इन्स्टाग्रामलगायत ओटीटी तथा डिजिटल प्लेटफर्मले मानिसको सञ्चार व्यवहार परिवर्तन गरेका छन् । 

फलतः टेलिकम कम्पनीले आफ्नो नेटवर्कमार्फत डेटा उपलब्ध गराइरहेको भए पनि प्रयोगकर्ताले त्यही नेटवर्कमा चल्ने तेस्रो पक्षका एपबाट कल, म्यासेज र भिडियो सेवा लिइरहेका छन् ।

नेपाल टेलिकमका अनुसार टेलिकमको भ्वाइस सेवाको बजार हिस्सा ६३.५५ प्रतिशत रहेको छ भने इन्टरनेट सेवाको बजार ६६.८२ प्रतिशत रहेको दाबी गरेको छ । टेलिकमका अनुसार २० अर्ब बढी भ्वाइस सेवाबाट आम्दानी गरेको छ भने साढे १२ अर्ब रुपैयाँ इन्टरेन सेवाबाट आम्दानी गरेको छ । तर, पछिल्लो समय यो दर घट्दै गइरहेको बताएको छ । 

नेपाल टेलिकमका अनुसार भ्वाइस सेवामा एनटीसीको ६३.५५ प्रतिशत र एनसेलको ३६.०५ प्रतिशत बजार हिस्सा रहेको छ भने डेटा सेवामा एनटीसीको ६६.८२ प्रतिशत र एनसेलको ८.८ प्रतिशत बजार हिस्सा रहेको छ । 
नेपाल टेलिकमको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण अनुसार कुल आम्दानीको १८ अर्ब ३ करोड भ्वाइस सेवाबाट भएको थियो भने करिब १४ अर्ब रुपैयाँ इन्टरनेट सेवाबाट भएको थियो । यसले भ्वाइस अझै ठूलो आम्दानीको स्रोत रहेको देखाउँछ । तर, बजारको दिशा भने उल्टो छ । मानिसले नियमित टेलिफोन कलभन्दा म्यासेन्जर, ह्वाट्सएप, भाइबर, सामाजिक सञ्जाल र अन्य ओटीटी माध्यमबाट कुराकानी गर्न थालेपछि परम्परागत भ्वाइस सेवा आम्दानीको भोलुम घट्दै गएको प्रवक्ता लामिछाने बताउँछन् । 

अघिल्लो वर्ष नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एउटा कार्यक्रममा एनसेलका तत्कालीन सीएलआरओ विशालमणि उपाध्यायले पनि दूरसञ्चार कम्पनीहरुको आम्दानी घट्नुको कारणहरु राखेका थिए । उनका अनुसार पछिल्लो पाँच वर्षमा टेलिकम सेवाको आम्दानी २५ प्रतिशतले घटेको र इन्टरनेट सेवा प्रदायकसमेत जोड्दा समग्र दूरसञ्चार तथा आईएसपी बजारको आम्दानी ५ प्रतिशतले घटेको बताएका थिए । 

उनका अनुसार कुनै समय अन्तर्राष्ट्रिय कलबाट सबैभन्दा बढी आम्दानी प्राप्त गर्ने टेलिकम कम्पनीहरू ह्वाट्सएप, म्यासेन्जर, इमो, टेलिग्रामजस्ता दर्जनौं सामाजिक सञ्जाल र प्लेटफर्मको प्रयोग बढेसँगै दूरसञ्चार कम्पनीहरु अप्ठ्यारो स्थितिमा पुगेका हुन् ।  

फोरजीको बजार विस्तार, आम्दानी मोडलमा अन्योल 

नेपालमा फोरजी विस्तारले मोबाइल इन्टरनेटको पहुँचमा ठूलो परिवर्तन ल्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकमा फोरजी प्रयोगकर्ताको संख्या साढे दुई करोडभन्दा माथि पुगिसकेको छ । देशमा फोरजीको विकास र विस्तार भए पनि त्यसले कम्पनीको आम्दानी बढाउनमा भने भूमिका खेलेको देखिँदैन । 

यसको मुख्य कारण डेटा प्याकको मूल्यमा भएको तीव्र प्रतिस्पर्धा भएको कम्पनीहरु बताउँछन् । कम्पनीहरूले ग्राहक तान्न ठूलो डेटा भोलुम सस्तो मूल्यमा उपलब्ध गराउन थालेपछि एक गिगाबाइट डेटा उपलब्ध गराएबापत कम्पनीले पाउने औसत आम्दानी अर्थात् एआरपीयूमा दबाब पर्न थालेको उनीहरुको तर्क छ । 

ग्राहकले पहिले थोरै डेटा महँगो मूल्यमा प्रयोग गर्ने अवस्था थियो भने अहिले ठूलो डेटा प्याक सस्तोमा किनेर लामो समयसम्म प्रयोग गर्न सक्ने अवस्था छ । यसले डेटा ट्राफिक बढाए पनि प्रतियुनिट डेटाबाट आउने आम्दानी भने घटाउने गरेको उनीहरुको तर्क छ । 

डेटा प्रयोग बढेपछि नेटवर्कमा ट्राफिक बढ्छ । ट्राफिक बढेपछि थप स्पेक्ट्रम, नयाँ साइट, टावरको क्षमता वृद्धि, फाइबर ब्याकहोल, ट्रान्समिसन उपकरण, डेटा सेन्टर, पावर सिस्टम र मर्मतसम्भारमा थप लगानी आवश्यक पर्छ । तर, ग्राहकले तिर्ने डेटा शुल्क सोही अनुपातमा नबढ्दा आम्दानीको वृद्धि र नेटवर्क सञ्चालनको लागतबीच दूरी बढ्दै जाने गरेको एनसेलका एक प्रतिनिधिले बताए । 

‘डेटा बढ्नु टेलिकम कम्पनीका लागि अवसर पनि हो र लागतको दबाब पनि हो । एकै पटक ठूलो मात्रामा प्रविधिको विकास र विस्तारमा लगानी बढाउँदा समग्र आम्दानी घट्न जान्छ,’ उनले भने । 

null

दूरसञ्चार बजारको तथ्यांक विश्लेषण गर्दा ‘ग्राहक’ र ‘सक्रिय ग्राहक’ बीचको फरक पनि महत्वपूर्ण हुन्छ । नेपालमा एउटै व्यक्तिले दुई वा तीनवटा सिम प्रयोग गर्ने अभ्यास छ । कार्यालय, परिवार वा विभिन्न डेटा प्याकका लागि अलग-अलग सिम राख्ने अभ्यासले प्रयोगकर्ताको संख्या वास्तविक व्यक्तिको संख्याभन्दा धेरै हुन गभएको कम्पनीहरुको विश्लेषण छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले पनि जीएसएम/आईएमटीमा एचएलआर र भीएलआर अर्थात् दर्ता भएका र सक्रिय प्रयोगकर्ताको छुट्टाछुट्टै तथ्यांक राख्दै आएको छ । त्यसैले ‘मोबाइल सब्स्क्रिप्सन धेरै भयो’ भन्नु र ‘प्रत्येक ग्राहकले कम्पनीलाई पर्याप्त रेभेन्यु दिइरहेको छ’ भन्नु फरक विषय भएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् । 

उनका अनुसार कति सिम बिक्री भयो भन्नेभन्दा पनि कति सक्रिय ग्राहक छन्, उनीहरूले कति डेटा प्रयोग गर्छन्, कति पैसा तिर्छन् र कम्पनीले प्रत्येक ग्राहकबाट कति एआरपीयू कमाउँछ भन्ने रहेको उनको बुझाइ छ । 

उनका अनुसार पछिल्लो समय भ्वाइस सेवाको ट्राफिक डेटामा रुपान्तर भइरहेकोले पनि दूरसञ्चार कम्पनीको आम्दानी घट्न गएको हो । ‘कम्पनीहरुको आम्दानी भ्वाइस सेवाबाट भन्दा इन्टरनेट सेवाबाट वृद्धि हुँदै गएको छ, प्रविधिमा आएको परिवर्तन र ओटीटी प्लेटफर्मको विस्तारले पनि दूरसञ्चार कम्पनीहरुको आम्दानी घट्न गएको हो,’ उनले भने, ‘सूचना प्रविधिमा बढ्दै गइरहेको लगानी प्रतिस्पर्धा लगायत अन्य चुनातीको कारणले पनि दूरसञ्चार सेवा प्रदायकको आम्दानी घट्दै गइरहेको हो ।’

नेपालको मोबाइल नेटवर्क पनि अहिले एउटा प्रविधिबाट अर्को प्रविधिमा रुपान्तरणको चरणमा छ । थ्रीजी विस्तारै हट्दै गएको छ र फोरजीलाई मुख्य मोबाइल ब्रोडब्यान्ड नेटवर्कका रूपमा अगाडि बढाइएको छ । एनसेलले पनि थ्रीजी बन्द गर्दै भ्वाइसलाई फोरजीमा रहेको भीओएलटीईमार्फत सञ्चालन गर्ने रणनीति अघि बढाएको छ । कम्पनीका अनुसार थ्रीजीभन्दा फोरजी बढी प्रभावकारी भएकाले थ्रीजी बन्द गर्दा उपलब्ध स्रोतलाई फोरजी क्षमता विस्तार तथा भविष्यमा फाइभजीतर्फ लैजान सकिन्छ ।

तर, फाइभजी आफैंमा अर्को चुनौती हो । फाईभजी ल्याउन प्रविधि मात्रै पर्याप्त हुँदैन । पर्याप्त स्पेक्ट्रम, नेटवर्क क्यापेक्स, फाइबर ब्याकहोल, नयाँ उपकरण, फाईभजी सपोर्ट गर्ने डिभाइस, प्रयोगकर्ताको माग र नयाँ आम्दानी मोडल आवश्यक हुन्छ । आम्दानीमा दबाब परिरहेका कम्पनीका लागि पुरानो नेटवर्कलाई गुणस्तरीय राख्दै नयाँ प्रविधिमा ठूलो लगानी गर्नु वित्तीय हिसाबले कठिन हुन्छ । एनसेलले नेपालमा फाईभजीसहित भविष्यका प्रविधि विस्तार गर्न घट्दो आम्दनी र बढ्दो लगानीको आवश्यकता चुनौतीपूर्ण रहेको बताउँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भने फाईभजीका लागि नीतिगत तयारी अघि बढाएको छ । प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड इन्हान्समेन्ट प्लान-नेपाल्स रोड टु फाइभजी’ र एकीकृत दूरसञ्चार नीति २०८३ को मस्यौदामाथि परामर्श प्रक्रिया अघि बढाएको छ । 

सरकारका लागि ‘दुहुनो गाई’

सरकारले दूरसञ्चार कम्पनीहरुबाट वार्षिक अर्बौं रुपैयाँ राजस्व असुल गर्दै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकले कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष अर्थात् आरटीडीएफमा बुझाउनुपर्छ । कम्पनीको आम्दानी घट्दै जाँदा र बढ्दो लागत र शुल्कको भारले नाफामा दबाब बढ्दै गएको कम्पनीहरुको गुनासो छ । 

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा दूरसञ्चार सेवा प्रदायकबाट ४ प्रतिशत रोयल्टीबापत ३ अर्ब ४४ करोड ४८ लाख ९१ हजार ८७७ सरकारको राजस्व खातामा दाखिला भएको थियो । ग्रामिण दूरसञ्चार कोष (आरटीडीएफ)  मा २ प्रतिशतबापत २ अर्ब ३२ करोड ४ लाख ४७ हजार रुपैयाँ जम्मा भएको थियो । 

२०८१÷८२ मा फ्रिक्वेनसी शुल्कबाट मात्रै नेपाल सरकारको राजस्व खातामा ४ अर्ब ९५ करोड ८० लाख ५७ हजार दाखिला भएको प्राधिकरणले जनाएको छ । 

null

नेपाल टेलिकमले मात्रै आर्थिक वर्ष २०८१/८२ मा सरकारको ढुकुटीमा विभिन्न कर तथा शुल्कमार्फत १८ अर्ब ४६ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । यस्तै, एनसेलले आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३ अर्ब बढी कर तथा शुल्क तिरेको बताएको छ । 

कम्पनीका अनुसार अहिले एनसेलका ग्राहक संख्या १ करोड ४० लाखभन्दा बढी पुगेको छ । कम्पनीका अनुसार अहिले उसको फोरजी नेटवर्कले नेपालको करिब ९५ प्रतिशत जनसंख्यालाई समेटेको छ । कम्पनीका अनुसार एनसेलका प्रत्यक्ष तथा अप्रत्यक्ष गतिविधिबाट करिब १ लाख मानिसको रोजगारीमा सहयोग पुगेको छ । स्वास्थ्य, शिक्षा तथा वातावरणलाई मुख्य प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वका कार्यक्रममा २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको कम्पनीको दाबी छ ।

दूरसञ्चार कम्पनीको आम्दानीको ५० प्रतिशतभन्दा बढी रकम कर तथा शुल्कमा जाने अवस्था रहेको कम्पनीहरुको भनाइ छ । कुनै समय नेपालको कुल गार्हस्थ्य उत्पादनमा दूरसञ्चार क्षेत्रको योगदान करिब ५ प्रतिशत थियो । अहिले यो घटेर करिब २ प्रतिशतमा सीमित भएको छ ।

टेलिकम कम्पनीले अब मोबाइल बजारमा मात्रै प्रतिस्पर्धा गर्नुपरेको छैन । घरमा फाइबर इन्टरनेट पुगेपछि धेरै ग्राहकले मोबाइल डेटा प्रयोगको ठूलो हिस्सा वाइफाइमा सार्छन् । नेपालमा एफटीटीएच, केबल, फाइबर र अन्य फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार हुँदै जाँदा मोबाइल डेटा बजारको प्रतिस्पर्धा आईएसपीसँग समेत जोडिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकमा फिक्स्ड ब्रोडब्यान्डको विस्तार उल्लेख्य छ । २०८० वैशाखमा मात्रै केबल तथा एफटीटीएचतर्फ १ करोडभन्दा बढी सब्स्क्रिप्सन र मोबाइल ब्रोडब्यान्डतर्फ करिब २ करोड सब्स्क्रिप्सन देखिएको थियो । 

अहिले नेपालको दूरसञ्चार क्षेत्र एउटा निर्णायक मोडमा पुगेको छ । विगतमा व्यावसायिक मोडलमा ग्राहक बढेपछि सिम बिक्री बढ्थ्यो, भ्वाइस कल बढ्थ्यो, एसएमएस बढ्थ्यो र आम्दानी पनि बढ्थ्यो । अहिले ग्राहक र डेटा प्रयोग बढे पनि भ्वाइस आम्दानी घटेको छ, डेटा प्याकको मूल्यमा प्रतिस्पर्धा छ, ओटीटीले परम्परागत टेलिकम सेवाको ठाउँ लिएको छ र नेटवर्कमा थप लगानीको आवश्यकता बढिरहेको छ । त्यसैले पुरानो मोडलबाट नयाँ आम्दानीको स्रोत खोज्नुपर्ने दबाब कम्पनीहरूमाथि छ । 

Share News