काठमाडौं । होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड २ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीले २ करोड २९ लाख ५० हजार रुपैयाँ खुद घाटा व्यहोरेका थिए ।
समीक्षा अवधिमा समग्र ६ वटा हाेटल खुद नाफामा छन् भने २ वटा हाेटल मात्रै नाफामा छन् । गत वर्ष घाटामा रहेका चन्द्रागिरि हिल्स नाफामा फर्किएको छ भने बन्दीपुर केबलकार, ओरियण्टल होटल्स र सिटी होटलले घाटा घटाएका छन् । होटल फरेस्ट इनको घाटा यथावत् रहेको छ भने कालिञ्चोक दर्शन नाफाबाट घाटामा गएको छ । तारागाउँ रिजेन्सी होटल्सको घाटा पनि बढेको छ ।
यद्यपि, होटल तथा पर्यटन क्षेत्रका आठ कम्पनीको कुल आम्दानी भने ५.४१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म यी कम्पनीले कुल १ अर्ब ३३ करोड ५२ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४१ करोड १६ लाख ९२ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा पर्यटन क्षेत्रले प्राकृतिक विपद्का कारण विभिन्न चुनौती सामना गर्नुपरेको देखिन्छ । रसुवा तथा नेपाल-चीन सीमावर्ती भोटेकोसी नदीको माथिल्लो जलाधार क्षेत्रमा आएको बाढी तथा पहिरोले पर्यटनसम्बद्ध पूर्वाधार, यातायात सञ्जाल, होटल तथा आतिथ्य सेवा र साहसिक पर्यटन गतिविधिमा असर पारेको थियो ।
उक्त प्राकृतिक विपद्का कारण विदेशी पर्यटकको आगमन तथा पर्यटनसम्बद्ध आर्थिक गतिविधि प्रभावित भएका थिए । पूर्वनिर्धारित सभा, सम्मेलन तथा उत्सवसमेत स्थगित हुँदा विदेशी मुद्रा आर्जनमा अस्थायी प्रतिकूल प्रभाव परेको थियो । यसले होटल तथा पर्यटन व्यवसायको सञ्चालन र आम्दानीमा समेत दबाब सिर्जना गरेको देखिन्छ । यद्यपि, सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रको समन्वित प्रयासबाट प्रभावित पर्यटन गतिविधि पुनः सञ्चालन हुन थालेको होटल कम्पनीहरुले जनाएका छन् ।

बन्दीपुर केबलकारको चालु आर्थिक वर्ष २०८३ असोजसम्म १ करोड ५३ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा १ करोड ७९ लाख ३९ हजार रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । २०८२ असोजमा १ करोड २८ लाख २७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी २०८३ असोजमा बढेर १ करोड ३० लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
तर, अन्य आम्दानीमा कमी आएको छ । अघिल्लो वर्ष ५३ लाख २६ हजार रुपैयाँ रहेको अन्य आम्दानी घटेर ४२ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । यससँगै कम्पनीको कुल आम्दानी १ करोड ८१ लाख ५४ हजार रुपैयाँबाट घटेर १ करोड ७३ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको कुल खर्च पनि घटेको छ । गत वर्ष २ करोड ५८ लाख ५५ हजार रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ करोड ४० लाख २४ हजार रुपैयाँमा झरेको छ । कर्मचारी खर्च बढे पनि प्रशासनिक तथा बिक्री प्रवद्र्धन खर्च घट्दा कुल खर्चमा कमी आएको देखिन्छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ । सञ्चित नोक्सानी भने बढेर २५ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नोक्सानी २० करोड ५५ लाख ५१ हजार रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ०.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९०.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात ऋणात्मक १ हजार ५१.१९ गुणा रहेको छ ।

होटल फरेस्ट इनले चालु आवको तीन महिनामा ६ करोड ५० लाख १२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी ४ करोड ४१ लाख २४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल आम्दानी ४ करोड ४२ लाख १२ हजार रुपैयाँ रहेको छ । तर, कुल खर्च १० करोड ९२ लाख २४ हजार रुपैयाँ पुगेपछि कम्पनीले ठूलो घाटा व्यहोर्नुपरेको देखिन्छ । आम्दानीको तुलनामा खर्च निकै बढी हुँदा कम्पनीको वित्तीय अवस्थामा दबाब परेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तमा १ अर्ब ६० करोड रुपैयाँ रहेको चुक्ता पुँजी ४० करोड रुपैयाँले बढेको हो ।
त्यस्तै, कम्पनीको सञ्चित नोक्सानी बढेर ५२ करोड ३३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो अवधिमा यस्तो नोक्सानी ३० करोड ४४ लाख ४६ हजार रुपैयाँ थियो । यसले कम्पनीको सञ्चित वित्तीय दायित्वमा थप दबाब परेको देखाउँछ ।
कम्पनीको अन्य इक्विटी ६२ करोड ९६ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ऋणात्मक ९.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ऋणात्मक ५१.५६ गुणा रहेको छ ।

ओरियण्टल होटल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा २८ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २ करोड ९५ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धि र खर्चमा आएको कमीले घाटा घटाउन सहयोग गरेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७.६१ प्रतिशतले बढेर २५ करोड ८४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २१ करोड ९७ लाख ७० हजार रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको अन्य आम्दानी भने घटेको छ । अघिल्लो वर्ष २१ लाख ९७ हजार रुपैयाँ रहेको अन्य आम्दानी समीक्षा अवधिमा घटेर १५ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । यससँगै कम्पनीको कुल आम्दानी २२ करोड १९ लाख ६८ हजार रुपैयाँबाट बढेर २५ करोड ९९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल खर्चमा पनि कमी आएको छ । अघिल्लो वर्ष २३ करोड ७४ लाख २ हजार रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा घटेर २२ करोड ९७ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । कर्मचारी खर्च ९ करोड ५ लाख ८४ हजार रुपैयाँबाट घटेर ७ करोड २१ लाख ९८ हजार रुपैयाँमा झरेको छ । त्यस्तै, प्रशासनिक खर्च पनि ५ करोड ४२ लाख २५ हजार रुपैयाँबाट घटेर ४ करोड ५ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
आम्दानी बढ्नु र खर्च घट्नुको संयुक्त प्रभावले कम्पनीको सञ्चालन नाफा ऋणात्मक अवस्थाबाट सकारात्मक बनेको छ । अघिल्लो वर्ष १ करोड ५४ लाख ३४ हजार रुपैयाँ सञ्चालन घाटा रहेकोमा समीक्षा अवधिमा ३ करोड २ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा भएको छ ।
यद्यपि, वित्तीय लागतमा भएको वृद्धिले खुद नाफामा दबाब कायम राखेको छ । कम्पनीको वित्तीय लागत अघिल्लो वर्ष २ करोड १ लाख ७४ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ३ करोड ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोष २ अर्ब ६४ करोड १६ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष असोजमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५.२० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १२ करोड ३५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । होटलको आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिले खुद नाफा बढाउन सहयोग गरेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १५ प्रतिशतले बढेर ७२ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ६२ करोड ७९ लाख ४० हजार रुपैयाँ थियो ।
आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ । अघिल्लो वर्ष ४८ करोड ३८ लाख ४९ हजार रुपैयाँ रहेको कुल खर्च समीक्षा अवधिमा बढेर ५५ करोड ३ लाख २ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कर्मचारी खर्च १५ करोड ३ लाख ७९ हजार रुपैयाँबाट बढेर १७ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रशासनिक खर्च पनि ८ करोड २१ लाख २४ हजार रुपैयाँबाट बढेर १० करोड ९९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । कर्मचारी तथा प्रशासनिक खर्च बढे पनि आम्दानीमा भएको वृद्धिका कारण कम्पनीको सञ्चालन नाफा बढेको छ ।
कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षको १४ करोड ४० लाख ९१ हजार रुपैयाँबाट बढेर १७ करोड १३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यसअनुसार सञ्चालन नाफामा करिब १८.९४ प्रतिशतको वृद्धि भएको छ ।
कम्पनीको चुक्ता पुँजी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असोज मसान्तमा १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको चुक्ता पुँजी समीक्षा अवधिमा बढेर १ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको सञ्चित नाफा १८ करोड ७० लाख १० हजार ५०० रुपैयाँले बढेर २३४ करोड ३ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले तीन महिनामा २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।
समीक्षा अवधिमा सञ्चालन आम्दानी ३७.४१ प्रतिशतले बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म यस्तो आम्दानी १३ करोड ८७ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल आम्दानी १४ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल आम्दानी ११ करोड ५८ लाख रुपैयाँ थियो । यस अवधिमा बिक्री लागत २ करोड २८ लाख रुपैयाँबाट बढेर ४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने घटेको छ । गत वर्ष असोजसम्म ७ करोड ५१ लाख रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षको सोही अवधिमा ६ करोड १० लाख रुपैयाँमा झरेको छ । कर्मचारी खर्च ४ करोड १७ लाख रुपैयाँबाट बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ३ करोड ३३ लाख रुपैयाँबाट घटेर १ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । वित्तीय लागत पनि ३ करोड ४१ लाख रुपैयाँबाट घटेर ३ करोड ४ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ६१ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजमा यस्तो पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ थियो । जगेडा कोष १० करोड ४३ लाख रुपैयाँबाट बढेर ११ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

सिटी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४ करोड ३ लाख ३३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा ५ करोड ५६ लाख ५२ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४.७० प्रतिशतले बढेर १२ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५५ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । तर, कम्पनीको मुख्य व्यवसायबाट हुने सञ्चालन आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १० करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा ४.५९ प्रतिशतले घटेर १० करोड २६ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।
यता, अन्य आम्दानीमा भने उल्लेख्य वृद्धि भएको छ । कम्पनीको अन्य आम्दानी १३०.६३ प्रतिशतले बढेर १ करोड ८३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७९ लाख ४८ हजार रुपैयाँ थियो ।
कम्पनीको कुल खर्च समीक्षा अवधिमा ८.१८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड १२ लाख ५१ हजार रुपैयाँ रहेको कुल खर्च चालु आर्थिक वर्षमा घटेर ८ करोड ३७ लाख ७८ हजार रुपैयाँमा झरेको छ । कस्ट अफ गुड्स सोल्ड १४.३५ प्रतिशतले घटेर ३ करोड ४७ लाख ८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, कर्मचारी खर्च ११.६४ प्रतिशतले घटेर १ करोड ७२ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।
ब्रान्ड अपरेटर शुल्क पनि ४२.७८ प्रतिशतले घटेर १९ लाख ६३ हजार रुपैयाँमा झरेको छ । तर, प्रशासनिक खर्च भने ७.४९ प्रतिशतले बढेर २ करोड ९८ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४५ लाख ९६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन आम्दानीमा आएको ठूलो गिरावटले वित्तीय अवस्थामा प्रत्यक्ष असर पारेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९४.४५ प्रतिशतले घटेर ४९ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ८ करोड ९६ लाख ९४ हजार रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको अन्य आम्दानी पनि ९१.८५ प्रतिशतले घटेको छ । गत वर्ष ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ रहेको अन्य आम्दानी चालु आर्थिक वर्षमा घटेर २९ लाख ४६ हजार रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कर्मचारी खर्च ८१.९३ प्रतिशतले घटेर ३५ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ करोड ९६ लाख ५ हजार रुपैयाँ थियो । त्यस्तै, अन्य खर्च ८३.३९ प्रतिशतले घटेर ३३ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको अन्य खर्च २ करोड २ लाख ३१ हजार रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी भने अघिल्लो वर्षकै ६३ करोड रुपैयाँ रहेको छ । तर, जगेडा कोष ७.९० प्रतिशतले घटेर ५ करोड ३५ लाख २७ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष ५ करोड ८१ लाख २३ हजार रुपैयाँ थियो ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले असोज मसान्तसम्म ३ करोड २५ लाख ६५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा २ करोड ३७ लाख ४२ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ७७.११ प्रतिशतले घटेर ७५ लाख १ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड २७ लाख ७६ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको अन्य आम्दानीमा पनि ठूलो गिरावट आएको छ । गत वर्षको सोही अवधिमा २० करोड ३८ लाख २० हजार रुपैयाँ रहेको अन्य आम्दानी चालु आर्थिक वर्षमा घटेर ७५ लाख १ हजार रुपैयाँमा झरेको छ । यो ९६.३१ प्रतिशतको गिरावट हो ।
त्यस्तै, चालु आर्थिक वर्षको असोज मसान्तसम्म होटल सञ्चालनमा नआउँदा सञ्चालन आम्दानी पनि भएको छैन । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७ करोड १० लाख ४४ हजार रुपैयाँ थियो ।