काठमाडौं । अमेरिका, चीन र रुसले आणविक युद्ध कहिल्यै लड्न नहुने प्रतिबद्धतासहित संयुक्त ‘शान्ति घोषणा’ जारी गरेका छन् ।
तीनै देशका राष्ट्रप्रमुखबीच भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनमा यस्तो घोषणा भएको हो ।
चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको दक्षिणी सहर सेन्जेनमा भएको भेटवार्तापछि संयुक्त घोषणा जारी गरिएको हो ।
यद्यपि विश्व शान्ति, संयुक्त राष्ट्रसंघमा सुधार र आणविक जोखिम न्यूनीकरणका विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाए पनि लामो समयदेखि चर्चामा रहेको आणविक हतियार कटौतीसम्बन्धी वार्तामा भने कुनै ठोस सहमति जुटाउन सकेनन् ।
तीन महाशक्तिबीच पहिलोपटक भएको यसस्तरको त्रिपक्षीय शिखर सम्मेलनलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
संयुक्त घोषणामा आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै लड्न नहुने उल्लेख छ । साथै आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको विस्तार रोक्न तीन देशबीच संवाद अघि बढाउने प्रतिबद्धता जनाइएको छ । तर, त्यसका लागि कुनै समयसीमा भने तोकिएको छैन ।
विशेषगरी अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै जोड दिँदै आएको तीन देशबीचको आणविक हतियार कटौतीसम्बन्धी सम्झौतामा भने सम्मेलनले कुनै प्रगति गर्न सकेन ।
चीनले आफ्नो आणविक हतियार भण्डार अमेरिका र रुसको तुलनामा निकै सानो रहेको भन्दै त्रिपक्षीय हतियार कटौती वार्तामा सहभागी हुन यसअघि अस्वीकार गर्दै आएको छ ।
सम्मेलनको सुरुमै ट्रम्पले आणविक हतियार त्याग्नु सहज नभएको बताएका थिए । उनले आणविक हतियार कटौतीको विषयमा नेताहरूका लागि मनोवैज्ञानिक रूपमा सहमतिमा पुग्न कठिन हुने स्वीकार गरे ।
सम्मेलनपछि अमेरिकी सञ्चारमाध्यम एनबीसीसँग कुरा गर्दै ट्रम्पले भेटवार्ता निकै सफल भएको प्रतिक्रिया दिए । उनले सम्मेलनको उपलब्धिलाई शून्यदेखि १० सम्मको मापनमा १२ अंक दिन सकिने भन्दै तीन नेताबीच उत्कृष्ट सम्बन्ध विकास भएको दाबी गरे ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत शुक्रबार वासिङ्टनमा पत्रकार सम्मेलन गर्ने जानकारीसमेत दिएका छन् ।
युक्रेन युद्धबारे मौन
तीन महाशक्तिबीच जारी संयुक्त घोषणामा रुसले युक्रेनमाथि गरिरहेको युद्ध र अमेरिकाको इरानसँगको द्वन्द्वबारे भने कुनै उल्लेख छैन । यसले सम्मेलनबाट विश्वका प्रमुख द्वन्द्व समाधान गर्ने ठोस पहल नभएको भन्दै आलोचना भइरहेको छ ।
राष्ट्रसंघमा सुधार गर्ने, सबै देशका लागि इन्धनजन्य पदार्थको आपूर्ति बढाउने र अन्तर्राष्ट्रिय अदालतमा राज्यका अधिकारीहरूले पाउँदै आएको उन्मुक्ति कायम राख्ने विषयमा पनि तीन देशले प्रतिबद्धता जनाएका छन् ।
सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले घोषणाले महत्त्वाकांक्षी लक्ष्य निर्धारण नगरेको स्वीकार गरे । उनले यसका निर्णय पालना गर्न कुनै पनि देशलाई बाध्य नपारिने पनि बताए ।
राज्यका अधिकारीले अन्तर्राष्ट्रिय अदालतमा पाउँदै आएको उन्मुक्तिको विषयलाई घोषणामा समेटिनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
युक्रेनमा युद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पुटिनसहित रुसी अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको तीन वर्षभन्दा बढी भइसकेको छ । रुसले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
लन्डनस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका अन्तर्राष्ट्रिय निर्देशक जोनाथन इयालले अन्तर्राष्ट्रिय मान्यता र अदालतको भूमिकाविरुद्ध देखिएको संकेतलाई सम्मेलनको सबैभन्दा चासोपूर्ण पक्षका रूपमा व्याख्या गरेका छन् ।
पुटिनलाई कूटनीतिक लाभ
तीन नेताबीचको भेटवार्ताले विशेषगरी रुसी राष्ट्रपति पुटिनलाई अन्तर्राष्ट्रिय कूटनीतिमा आफ्नो स्थान बलियो बनाउने अवसर दिएको विश्लेषण गरिएको छ ।
युक्रेन युद्धका कारण पश्चिमी मुलुकहरूको प्रतिबन्ध खेपिरहेको रुसको अर्थतन्त्र चीनको तुलनामा निकै सानो छ । रुसी अर्थतन्त्र चीनको अर्थतन्त्रको करिब दशांश मात्रै रहेको छ । रुसका अधिकांश व्यवसाय पश्चिमी बजारसँग कारोबार गर्न प्रतिबन्धित छन् ।
यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीसँग एउटै मञ्चमा बसेर शान्ति घोषणामा हस्ताक्षर गर्नु पुटिनका लागि कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।
सम्मेलनमा ट्रम्पले पुटिनलाई ‘मेरो साथी’ भन्दै सम्बोधन गरेका थिए भने सीले ट्रम्पलाई आत्मीय स्वागत गरेका थिए ।
ट्रम्पले पुटिनसँग मित्रवत् सम्बन्ध राख्नुको कारण पनि खुलाएका छन् । उनका अनुसार चार हजार आणविक हतियार भएको व्यक्तिलाई शत्रुभन्दा मित्र बनाउनु राम्रो हुन्छ ।
ट्रम्पले सीलाई पनि आफ्नो मित्र र असाधारण नेता भन्दै प्रशंसा गरेका थिए ।
यसअघि उत्तर कोरियाली नेता किम जोङ उन र पुटिनसँग प्रत्यक्ष भेटवार्ता गरेका ट्रम्पको कूटनीतिक शैलीलाई कतिपयले प्रशंसा गरेका छन् ।
उनीहरूका अनुसार अमेरिकाका प्रतिद्वन्द्वी शक्तिसँग प्रत्यक्ष संवाद गर्नु तनाव कम गर्ने माध्यम हुन सक्छ । तर, आलोचकहरूले भने यसले अधिनायकवादी नेताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा थप वैधता र प्रतिष्ठा दिएको टिप्पणी गरेका छन् ।
अमेरिकास्थित आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक ड्यारिल किमबलले आणविक युद्ध रोक्नुपर्ने प्रतिबद्धतालाई सकारात्मक भने पनि त्यसले मात्रै पर्याप्त नहुने बताएका छन् । उनका अनुसार आणविक हतियार निःशस्त्रीकरणका लागि व्यवहारमै कूटनीतिक पहल आवश्यक छ ।
याल्टा सम्मेलनसँग तुलना
ट्रम्पले सेन्जेनमा भएको त्रिपक्षीय सम्मेलनलाई सन् १९४५ मा अमेरिका, बेलायत र तत्कालीन सोभियत संघका नेताहरूबीच भएको याल्टा सम्मेलनभन्दा पनि ठूलो बताएका छन् ।
दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको याल्टा सम्मेलनलाई विश्वका शक्तिशाली राष्ट्रहरूले विश्व व्यवस्थाबारे महत्त्वपूर्ण निर्णय गरेको घटनाका रूपमा लिइन्छ ।
तर, ट्रम्पको यस्तो दाबीलाई युरोपेली नेताहरूले सहज रूपमा स्वीकार गरेका छैनन् । जर्मनीको बर्लिनमा बिहीबार युरोपेली सहयोगी राष्ट्रहरू युक्रेनको समर्थनमा एकजुट भएका थिए । उनीहरूले युक्रेनको भविष्य र शान्तिको सर्त युरोपलाई बाहिर राखेर तय गर्न नहुने चेतावनी दिएका छन् ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘याल्टा शैली’को सम्मेलनले शान्ति ल्याउन नसक्ने टिप्पणी गरे । युरोपलाई विभाजन गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो ।
उनले सेन्जेन सम्मेलनलाई केवल तस्बिर खिच्ने अवसरका रूपमा व्याख्या गर्दै युरोपको सहभागिताबिना युक्रेनमा शान्ति सम्भव नहुने बताए ।
बर्लिन बैठकमा ट्रम्पका ज्वाइँ तथा विशेष दूत जारेड कुश्नरले भने ट्रम्प युरोपलाई साथमा लिएर शान्ति सम्झौता गर्न चाहेको बताएका थिए । उनका अनुसार रुस पनि युरोपेली देशहरूसहित बहुपक्षीय वार्तामा सहभागी हुन सहमत भएको छ । ट्रम्पले पनि बर्लिनको बैठकमा फोनमार्फत सहभागिता जनाएका थिए ।
अमेरिका र युरोपबीच दोस्रो विश्वयुद्धपछि कायम रहँदै आएको निकट सम्बन्ध ट्रम्पको कार्यकालमा कमजोर हुँदै गएको छ । उनले युक्रेनलाई दिइँदै आएको अमेरिकी सहयोग घटाएका छन् भने नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षाका लागि थप खर्च गर्न दबाब दिँदै आएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ट्रम्पले पुटिनलाई ‘मेरो साथी’ भनेर सम्बोधन गरेको विषयमा पत्रकारको प्रश्न आउँदा कुनै प्रतिक्रिया नदिई हिँडेका थिए ।
अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले भने त्रिपक्षीय सम्मेलनलाई अमेरिकाका लागि ऐतिहासिक लज्जास्पद घटना भन्दै आलोचना गरेका छन् । उनका अनुसार ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी राष्ट्रका नेताहरूलाई अनावश्यक महत्त्व दिँदै अमेरिकाको हितविपरीत काम गरेका छन् ।
आगामी जी–२० सम्मेलनमा पुनः भेट हुने सम्भावना
तीन नेताबीचको भेटवार्तापछि पनि उनीहरूबीचको कूटनीतिक संवाद जारी रहने चीनका विदेशमन्त्री वाङ यीले बताएका छन् । उनका अनुसार तीन देशले कार्यस्तरमा समन्वय र सहकार्यलाई निरन्तरता दिनेछन् ।
आगामी केही सातामा अमेरिकाले आयोजना गर्ने जी–२० शिखर सम्मेलनमा पनि तीन नेताबीच पुनः भेट हुने सम्भावना छ । ट्रम्पले फ्लोरिडास्थित आफ्नो गल्फ रिसोर्टमा जी–२० सम्मेलन आयोजना गर्ने तयारी गरेका छन् । त्यहाँ सीसँग पुनः भेट हुने र पुटिन पनि सहभागी हुन सक्ने सम्भावना छ ।
पुटिनले ट्रम्पसँग यसबारे छलफल भइसकेको र सम्मेलनमा सहभागी हुने विषयमा विचार गर्ने बताएका छन् । तर, रुसको आन्तरिक परिस्थितिलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सेन्जेन सम्मेलनले तीन महाशक्तिबीच संवाद र सहकार्यको ढोका खुला राखे पनि आणविक हतियार नियन्त्रण, युक्रेन युद्ध र विश्वव्यापी द्वन्द्व समाधानका विषयमा ठोस सहमति जुटाउन सकेन ।
सम्मेलनले तत्कालीन उपलब्धिभन्दा पनि तीन शक्तिबीचको सम्बन्ध र उनीहरूको आगामी कूटनीतिक समीकरण मात्र देखाएको विज्ञहरू बताउँछन् ।
आईपीओमा एन्थ्रोपिकको विश्व रेकर्ड, कम्पनीको बजार मूल्य १.५ ट्रिलियन डलर पुग्यो
जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी
एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी
सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी