४ अर्बको लगानीमा इन्टरनेट बजार विस्तार गर्दै टेकमाइन्ड्स, साढे ३ अर्ब ऋण

काठमाडौं । नेपालको इन्टरनेट सेवा बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला टेकमाइन्ड्स नेटवर्क लिमिटेडले आफ्नो व्यावसायिक दायरा विस्तार गर्न ४ अर्ब रुपैयाँ लगानी गर्ने दीर्घकालीन योजना अघि सारेको छ । कम्पनीले बजारमा सञ्चालनरत साना तथा स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राप्ति गर्दै आफ्नो ग्राहक आधार र सञ्जाल विस्तार गर्ने रणनीति बनाएको हो ।

कम्पनीको प्रस्तावित लगानी योजना १० वर्षमा कार्यान्वयन हुनेछ । यसअनुसार प्रत्येक वर्ष औसत ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखिएको छ । कुल लगानीको ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत स्वपुँजीबाट जुटाउने कम्पनीको योजना छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ४२ करोड रुपैयाँ दीर्घकालीन ऋण लिएको छ । 

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा मात्रै २२ करोड २० लाख रुपैयाँ पुँजीगत लगानी गरिसकेको छ । उक्त लगानीमध्ये ८ करोड रुपैयाँ बैंक ऋण र १४ करोड २० लाख रुपैयाँ स्वपुँजीबाट जुटाइएको हो । कम्पनीले नयाँ बजार निर्माणमा ठूलो समय र स्रोत खर्च गर्नुभन्दा पहिल्यै सञ्चालनमा रहेका तथा आफ्नै ग्राहक आधार भएका इन्टरनेट सेवा प्रदायकलाई प्राप्ति गरेर बजार विस्तार गर्ने रणनीति लिएको जनाएको छ ।

सन् २०११ जुन २ मा स्थापना भएको टेकमाइन्ड्स नेटवर्कले नेपालको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा क्षेत्रमा करिब १५ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । उच्च गतिको तारसहितको इन्टरनेट, केबल इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै आएको कम्पनीले प्रविधिमा आधारित सञ्चार तथा मनोरञ्जन सेवामार्फत आफ्नो बजार उपस्थिति विस्तार गरेको छ ।

खुद्रा ग्राहक सङ्ख्याका आधारमा कम्पनी नेपालका शीर्ष ९ इन्टरनेट सेवा प्रदायकमध्ये एक हो । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीले नेपालको इन्टरनेट सेवा बजारमा करिब ३ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीका सक्रिय ग्राहक सङ्ख्या १ लाख १८ हजार ६७८ पुगेको छ । कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कमलराज बास्तोला रहेका छन् । 

गत आर्थिक वर्ष २०८२/८३ मा टेकमाइन्ड्स नेटवर्कले ७० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ६९ करोड ८० लाख रुपैयाँको तुलनामा ५० लाख रुपैयाँ अर्थात् करिब ०.७१ प्रतिशत बढी हो ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ७९ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ७४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बिक्री लागतमा वृद्धि हुँदा कुल नाफाको अनुपातमा केही कमी आए पनि सञ्चालन नाफामा भने सुधार भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १४ करोड १० लाख रुपैयाँ रहेको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन नाफा आर्थिक वर्ष २०८२/८३ मा बढेर १५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

तर, खुद नाफामा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । सञ्जाल विस्तारमा गरिएको लगानीका कारण ह्रासकट्टी खर्च बढ्नु र गैरसञ्चालन आम्दानी घट्नुले खुद नाफामा दबाब परेको कम्पनीले जनाएको छ । 

कम्पनीको नगद आर्जन क्षमतामा सुधार देखिएको छ । अघिल्लो वर्ष १० करोड ७० लाख रुपैयाँ रहेको कुल नगद सञ्चिति आम्दानी गत वर्ष बढेर ११ करोड ६० लाख रुपैयाँ पुगेको छ । 

टेकमाइन्ड्स नेटवर्कले इन्टरनेट सेवासँगै संस्थागत सेवा, उपकरण बिक्री, सञ्जाल अनुगमन तथा प्राविधिक सहयोगबाट समेत आम्दानी गर्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल आम्दानीको करिब ३३ प्रतिशत खुद्रा ग्राहकबाट प्राप्त भएको छ । त्यस्तै, संस्थागत ग्राहकको योगदान पाँच प्रतिशत र उपकरण बिक्रीको योगदान २० प्रतिशत रहेको छ । सञ्जाल अनुगमन तथा प्राविधिक सहयोग सेवाबाट मात्रै कुल आम्दानीको करिब ३१ प्रतिशत प्राप्त भएको छ ।

कम्पनीको सञ्चालन तथा वित्तीय व्यवस्थापनमा भने केही चुनौती देखिएका छन् । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन चक्र ऋणात्मक १८३ दिन रहेको छ । यसै अवधिमा आपूर्तिकर्तालाई भुक्तानी गर्न लाग्ने औसत अवधि ३६६ दिन पुगेको छ ।

साथै ग्राहकबाट रकम सङ्कलन गर्न लाग्ने औसत अवधि पनि बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा १४७ दिन रहेको यस्तो अवधि आर्थिक वर्ष २०८२/८३ मा बढेर १५९ दिन पुगेको छ । 

प्रतिस्पर्धात्मक बजारमा ३ प्रतिशत हिस्सा

नेपालको इन्टरनेट सेवा बजार पछिल्ला वर्षमा इन्टरनेट पहुँच विस्तार, चौथो पुस्ताको मोबाइल सञ्जालको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तारका कारण विस्तार हुँदै गएको छ । तर, बजारमा ६० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी सक्रिय रहे पनि ग्राहक सङ्ख्याका आधारमा बजारको ठूलो हिस्सा सीमित कम्पनीको नियन्त्रणमा छ । 

सन् २०२६ जुलाईसम्मको तथ्याङ्कअनुसार नेपालका शीर्ष २० इन्टरनेट सेवा प्रदायकले कुल बजार हिस्साको करिब ९८ प्रतिशत ओगटेका छन् । त्यसमध्ये शीर्ष पाँच कम्पनीको मात्रै बजार हिस्सा करिब ७२ प्रतिशत छ । बजारको नेतृत्व गरिरहेको एकल सेवा प्रदायकको हिस्सा करिब ३१ प्रतिशत रहेको छ । यस्तो प्रतिस्पर्धात्मक बजारमा टेकमाइन्ड्स नेटवर्कको हिस्सा भने करिब ३ प्रतिशत मात्रै छ ।

Share News