उद्योगी, पूर्वबैंकर र प्रशासनका हस्तीले हाँकेको बैंक

काठमाडौं । बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ग्लोबल आइएमई बैंक वित्तीय सेवा, संस्थागत संरचना र लगानीका आधारमा स्थापित वाणिज्य बैंकमध्ये एक हो । कम्पनी ऐन, २०६३ अनुसार २०६३ जेठ १५ गते स्थापना भएको यस बैंकले सोही वर्ष पुस १६ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार सञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो । त्यसको दुई दिनपछि अर्थात् २०६३ पुस १८ गतेदेखि ‘क’ वर्गको इजाजतपत्र प्राप्त संस्थाका रूपमा बैंकिङ कारोबार सुरु गरेको हो ।

स्थापनाकालदेखि नै संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको बैंकमा संस्थापक सेयरधनीको ५१.२४ प्रतिशत स्वामित्व रहेको छ भने सर्वसाधारण सेयरधनीको ४८.७६ प्रतिशत हिस्सा रहेको छ । बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख ८६ हजार रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंकको संस्थापक तथा सञ्चालक समूहमा वित्तीय क्षेत्र, पर्यटन, उद्योग, जलविद्युत् तथा अन्य व्यापारिक र व्यवस्थापकीय क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूको सहभागिता रहेको छ 

चन्द्रप्रसाद ढकाल

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालका प्रतिष्ठित व्यवसायी तथा आइएमई समूहका संस्थापक अध्यक्ष हुन् । उनले निजी तथा विदेशी लगानी विस्तार, वैदेशिक लगानी आकर्षण तथा व्यवसायमैत्री वातावरण निर्माणमा योगदान गर्दै आएका छन् । औपचारिक रेमिट्यान्स प्रणालीको विकास तथा संस्थागत विस्तारमा आइएमई समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो आम्दानी सहज रूपमा नेपाल पठाउन सक्ने वातावरण निर्माणमा समेत समूहको योगदान रहेको छ । व्यवसाय तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदानका लागि ढकाल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सम्मानित भएका छन् । उनी नेपालका उद्योगी तथा व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्षसमेत हुन् । ढकाल नेपालका लागि इन्डोनेसिया गणतन्त्रका मानार्थ वाणिज्यदूतका रूपमा समेत कार्यरत छन् ।

रामबहादुर भण्डारी

भण्डारी सूर्येदय ऊर्जा प्रालिका प्रबन्ध निर्देशक हुन् । नेपालमा सौर्य ऊर्जा व्यवसाय प्रवद्र्धनमा उनको २५ वर्षभन्दा बढीको अनुभव रहेको छ । भण्डारी तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको सञ्चालक समितिका अध्यक्षका रूपमा समेत कार्यरत थिए । यसअघि उनले तत्कालीन जनता बैंकको सञ्चालक समितिमा समेत काम गरेका थिए । भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नातकोत्तर गरेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा समेत काम गरेका छन् । हाल उनी बैंकको सञ्चालक समितिका सदस्यका साथै लेखापरीक्षण समिति तथा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) समितिका सदस्यका रूपमा कार्यरत छन् ।

राधेश पन्त

पन्त वित्तीय तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव भएका अनुभवी बैंकर हुन् । उनले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट सन् १९९१ मा वित्त तथा रणनीति विषयमा विशेषज्ञतासहित व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । यसअघि उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बम्बईबाट सन् १९८७ मा प्रविधिमा स्नातक गरेका थिए । पन्तले कुमारी बैंकमा सन् २०११ देखि २०१६ सम्म तथा तत्कालीन बैंक अफ काठमाडौंमा सन् २००२ देखि २००९ सम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नेतृत्व गरेका थिए । यसअघि उनले सन् १९९० देखि १९९२ सम्म प्यासिफिक रिम इन्टरफेस मेम्बर इन्टरप्राइजेज इंकमा वित्तीय विश्लेषक तथा सन् १९८७ देखि १९८९ सम्म रोयल नेपाल एयरलाइन्स कर्पोरेसनमा योजना विश्लेषकका रूपमा काम गरेका थिए । 

पन्त नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा युनाइटेड नेसन्स एसोसिएसन अफ नेपालका सहअध्यक्षसमेत रहिसकेका छन् । उनी साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट नेपालका संस्थापक सञ्चालक तथा सहायक प्राध्यापक र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका सञ्चालकसमेत रहेका छन् । हाल पन्त बैंकको कर्मचारी सेवा तथा सुविधा समितिको संयोजकका रूपमा कार्यरत छन् ।

कृष्णप्रसाद शर्मा

बैंकिङ क्षेत्रमा ३२ वर्षभन्दा बढीको अनुभव भएका अनुभवी बैंकर शर्माले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत जिम्मेवारी सम्हालेका छन् । शर्माले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कर्मचारी सञ्चय कोष, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, कर्जा सूचना केन्द्र तथा निक्षेप तथा कर्जा सुरक्षण कोषलगायत विभिन्न प्रतिष्ठित संस्थाको सञ्चालकका रूपमा काम गरेका छन् । उनले कृषि विज्ञान विषयमा स्नातक तथा व्यवस्थापन र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । हाल उनी ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यका साथै लेखापरीक्षण समितिको संयोजक तथा कर्मचारी सेवा सुविधा समिति र जोखिम व्यवस्थापन समितिका सदस्यका रूपमा कार्यरत छन् ।

मदनलाल जोशी

मदनलाल जोशीले तत्कालीन लुम्बिनी बैंक तथा बैंक अफ काठमाडौंको सञ्चालक समितिमा समेत काम गरेका थिए । जोशीले व्यवस्थापन विषयमा स्नातक गरेका छन् । उनले तत्कालीन नारायणी फाइनान्समा कम्पनी सचिवका रूपमा समेत काम गरेका थिए । साथै, उनी चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा फर्निचर ल्यान्ड प्रालिका प्रबन्ध निर्देशकसमेत रहिसकेका छन् । उनी चितवन सप्लाई सेन्टरका सञ्चालकसमेत हुन् । हाल जोशी बैंकको सञ्चालक समितिका सदस्यका साथै जोखिम व्यवस्थापन समितिका संयोजकका रूपमा कार्यरत छन् ।

नारायणप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक (ईडी)बाट अवकाशप्राप्त अनुभवी बैंकर हुन्, नारायणप्रसाद पौडेल । नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा उनको लामो अनुभव तथा विशेषज्ञता रहेको छ । नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदा पौडेलले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष तथा ग्रामीण विकास बैंकलगायत विभिन्न संस्थाको सञ्चालकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । उनले प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत काम गरेका छन् । हाल पौडेल बैंकको सञ्चालक समितिका सदस्यका साथै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) समितिका संयोजक तथा जोखिम व्यवस्थापन समितिका सदस्यका रूपमा कार्यरत छन् ।

बिन्द्रा हाडा भट्टराई 

सार्वजनिक प्रशासन, संस्थागत सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव भएकी बिन्द्रा हाडा भट्टराईले विभिन्न मन्त्रालय तथा राष्ट्रिय संस्थामा सचिवलगायत वरिष्ठ नेतृत्वदायी जिम्मेवारी सम्हालेकी छन् । साथै, उनी सन् २०१५ देखि २०२१ सम्म लोकसेवा आयोगकी सदस्यका रूपमा कार्यरत थिइन् । भट्टराईले संस्थागत सुशासन तथा प्रशासनिक सुधार, सार्वजनिक संस्थान पुनर्संरचना, निजामती सेवा आधुनिकीकरण तथा लैङ्गिक उत्तरदायी नीति र बजेट प्रणाली विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (साउथी) को कार्यकारी बोर्ड सदस्यका रूपमा कार्यरत छन् । 

भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर, अर्गानिक केमेस्ट्रीमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइना एट च्यापल हिलबाट ह्युबर्ट एच. हम्फ्रे फेलोसिपसमेत प्राप्त गरेकी छन् । साथै, ड्युक विश्वविद्यालयबाट गैरनाफामूलक संस्था व्यवस्थापन तथा नेतृत्व विकाससम्बन्धी व्यावसायिक प्रमाणपत्र तालिम पूरा गरेकी छन् ।

Share News