चिनियाँ जासुसको जालमा एनभीडीया प्रमुख !

काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ चिनियाँ जासुसी सञ्जालसँग जोडिएको आशंकापछि विवादमा तानिएका छन् । 

चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी एक महिलासँग हुआङको निकट सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि उनी विवादमा मुछिएका हुन् ।

कम्पनीको सञ्चालक समितिले उनीमाथि स्वतन्त्र छानबिन सुरु गर्ने निर्णयसमेत गरिसकेको छ ।

कम्पनीको सञ्चालक समितिले आइतबार जारी गरेको वक्तव्यमा हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको भन्ने पछिल्लो समाचारलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । 

घटनाबारे अनुसन्धान गर्न स्वतन्त्र सञ्चालकहरूको समिति गठन गरिने र उनीहरूलाई बाह्य कानुनी परामर्शदाताले सहयोग गर्ने कम्पनीले जनाएको छ ।

null

जेन्सेन हुआङ ।

कम्पनीका अनुसार अनुसन्धानले राष्ट्रिय सुरक्षा वा एनभीडीयाको गोप्य व्यावसायिक सूचनामा कुनै असर परेको छ कि छैन भन्ने विषयसमेत समेट्नेछ । 

यद्यपि, अहिलेसम्म राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको कुनै प्रमाण आफूहरूसँग नरहेको सञ्चालक समितिले स्पष्ट पारेको छ ।

हुआङले पनि छानबिनलाई पूर्ण समर्थन गर्ने र अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विवाद सार्वजनिक भए पनि उनले तत्कालका लागि सीईओ पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।

एनभीडीयाका सार्वजनिक नीति तथा सञ्चार प्रमुख जोन रिजोले हुआङले सीईओका रूपमा निरन्तर काम गर्ने बताएका छन् । कम्पनीले उनको नेतृत्वप्रति विश्वास कायम रहेकोसमेत जनाएको छ । 

को हुन् हुआङसँग जोडिएकी एलिस हुआङ ?

यो विवादको केन्द्रमा रहेकी महिला हुन् एलिस हुआङ । उनी चिनियाँ नागरिक हुन् । अमेरिकी गुप्तचर निकायहरूले उनलाई चीनको गुप्तचर निकायका लागि काम गर्ने व्यक्तिका रूपमा शंका गरेको विभिन्न अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

द न्युयोर्क टाइम्सले अक्टोबरको अन्तिम साता सार्वजनिक गरेको समाचारअनुसार एलिसको एनभीडीयाका प्रमुख जेन्सेन हुआङसँग निकट सम्बन्ध रहेको थियो । 

अमेरिकी गुप्तचर निकायहरूको आकलनमा उनी चीनको राज्य सुरक्षा मन्त्रालयसँग जोडिएकी थिइन् र हुआङबाट सूचना प्राप्त गरी बेइजिङसम्म पुर्याउने उद्देश्यले परिचालित भएकी थिइन् ।

एलिस पहिले चीनमा टेलिभिजन पत्रकारका रूपमा काम गर्थिन् । पछि उनी सिंगापुरमा रहेको डेटा सेन्टरसम्बन्धी कम्पनी मेगास्पिडमा उच्च तहको कार्यकारी पदमा पुगेकी थिइन् । मेगास्पिड एनभीडीयाको दक्षिणपूर्वी एसियाली क्षेत्रका प्रमुख ग्राहक कम्पनीमध्ये एक हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एलिस र जेन्सेनबीचको सम्बन्ध सामान्य व्यावसायिक सम्पर्कभन्दा निकट रहेको थियो । उनीहरू सन् २०२४ मा ताइवानमा सँगै देखिएको तस्बिरसमेत सार्वजनिक भएको छ । दुवैको थर एउटै भए पनि उनीहरूबीच पारिवारिक सम्बन्ध भने नरहेको समाचारमा उल्लेख छ ।

अमेरिकी गुप्तचर निकायहरूले एलिसले हुआङसँगको सम्बन्धलाई प्रयोग गरेर एनभीडीयाका उच्चस्तरीय प्रविधि र व्यावसायिक सूचनासम्म पहुँच बनाउने प्रयास गरेकी थिइन् भन्ने आशंका छ ।

साथै अमेरिकी सरकारले चीनतर्फ अत्याधुनिक चिप निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाउन हुआङलाई प्रभावमा पार्ने प्रयाससमेत भएको हुन सक्ने आकलन गरिएको छ ।

यद्यपि यी आरोप र गुप्तचर निकायहरूको आकलन अनुसन्धानबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन् । 

मेगास्पिड र अर्बौं डलरको चिप कारोबार

यो घटनालाई अझ संवेदनशील बनाउने अर्को पक्ष मेगास्पिड र एनभीडीयाबीचको ठूलो व्यावसायिक कारोबार हो । द न्युयोर्क टाइम्सका अनुसार मेगास्पिडले पछिल्ला दुई वर्षमा एनभिडियाबाट ४ अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी मूल्यका चिप खरिद गरेको थियो ।

मेगास्पिडले खरिद गरेका चिप र त्यसको सम्भावित अन्तिम प्रयोगबारे अमेरिकी अधिकारीहरूले पनि चासो देखाउँदै आएका थिए । 

अमेरिकी सरकारले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पहुँच सीमित गर्ने उद्देश्यले एनभीडीयाका केही शक्तिशाली एआई चिपको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अधिकारीहरूलाई मेगास्पिडमार्फत प्रतिबन्धित चिप चीनसम्म पुग्न सक्ने आशंका रहेको समाचारमा उल्लेख छ । यही पृष्ठभूमिमा एलिसको गतिविधि र हुआङसँगको सम्बन्धलाई अमेरिकी गुप्तचर निकायहरूले चासोका साथ हेरेका थिए ।

एनभीडीयाका चिपहरू कृत्रिम बौद्धिकता (एआई) प्रणाली विकास गर्न आवश्यक पर्ने डेटा सेन्टर र कम्प्युटिङ प्रणालीमा व्यापक रूपमा प्रयोग हुन्छन् । त्यसैले कम्पनीको प्रविधि र सूचनामा विदेशी गुप्तचर निकायको पहुँच हुन सक्ने आशंकाले अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडिएको प्रश्नसमेत उठाएको छ ।

हुआङले यसअघि अमेरिकी बजारबाट चीनलाई चिप बिक्री गर्न सहज बनाउनुपर्ने पक्षमा सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए । उनको तर्क अमेरिकी प्रविधि चिनियाँ बजारमा उपलब्ध रहँदा अमेरिकी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बलियो हुने र चीनलाई आफ्नै प्रविधि विकास गर्न थप प्रोत्साहन नपुग्ने भन्ने थियो ।

तर, चीनसँगको प्रविधि प्रतिस्पर्धालाई राष्ट्रिय सुरक्षाको विषय मान्दै आएका अमेरिकी अधिकारीहरूले भने अत्याधुनिक चिपको निर्यातमा कडाइ गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

पत्नी र परिवारसँग माफी माग्दै हुआङ

विवाद चर्किएपछि हुआङले कम्पनीका कर्मचारीलाई सम्बोधन गर्दै आफूले पत्नीप्रति बेइमानी गरेको स्वीकार गरेका छन् । एक्सियोसले प्राप्त गरेको उनको आन्तरिक सन्देशअनुसार उनले पत्नी र परिवारसँग माफी माग्दै आफ्नो व्यवहारका कारण पत्नी र सन्तानलाई चोट पुगेको बताएका छन् ।

उनले सन्देशमा लेखेका छन्, ‘मैले मेरी पत्नीप्रति बेइमानी गरेँ । मेरा कामले उनलाई र हाम्रा सन्तानलाई चोट पुर्याएको छ । मैले गरेको कामको कुनै बहाना छैन ।’

उनले कम्पनीका कर्मचारी, सञ्चालक समिति, व्यावसायिक साझेदार र सेयरधनीसँग पनि माफी मागेका छन् । आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गर्दै उनीहरूको विश्वास पुनः प्राप्त गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘एनभीडीयाको नेतृत्व गर्नु मेरो जीवनकै ठूलो अवसर हो । म कम्पनीप्रति पूर्ण रूपमा प्रतिबद्ध छु र तपाईंहरूको विश्वास पुनः प्राप्त गर्न काम गर्नेछु,’ उनको सन्देशमा उल्लेख छ ।

यद्यपि, कर्मचारीलाई पठाइएको उक्त सन्देशमा उनले एलिस हुआङको नाम उल्लेख गरेका छैनन् । न त उनीसँगको सम्बन्धबारे विस्तृत विवरण नै दिएका छन् । उनले मुख्य रूपमा आफ्नो वैवाहिक सम्बन्धमा बेइमानी गरेको स्वीकार गरेका हुन् ।

अमेरिकी संसद्ले पनि माग्यो जवाफ

हुआङसँग जोडिएको यो विषय अमेरिकी संसद्सम्म पुगेको छ । अमेरिकी प्रतिनिधिसभाका चीनसम्बन्धी समिति, विदेश मामिला समिति र गुप्तचर समितिका रिपब्लिकन नेतृत्वले नोभेम्बर ४ मा हुआङलाई पत्र लेख्दै घटनाबारे जानकारी दिन आग्रह गरेका थिए ।

उनीहरूले एलिससँगको सम्बन्ध र एनभीडीयाको संवेदनशील सूचना सुरक्षासम्बन्धी व्यवस्थाबारे जानकारी दिन आग्रह गरेका हुन् ।

पत्रमा चीनले अमेरिकी संवेदनशील प्रविधि र सूचनामा पहुँच प्राप्त गरेको हुन सक्ने विषय राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर रहेको उल्लेख गरिएको छ । अमेरिकी संसद्ले यस घटनाबाट राष्ट्रिय सुरक्षामा परेको सम्भावित जोखिमको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने जनाएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि हुआङ र एलिसबीचको सम्बन्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई जानकारी गराएको द न्युयोर्क टाइम्स ले जनाएको थियो । समाचारअनुसार ट्रम्पलाई पनि यस विषयमा जानकारी दिइएको थियो ।

तर, ट्रम्पले यसअघि यस विषयमा कुनै कदम नचालेको समाचारमा उल्लेख छ । आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुआङलाई राम्रो व्यक्ति भन्दै उनको कामको प्रशंसासमेत गरेका थिए । 

उनले हुआङसँग त्यस दिन कुरा नभएको बताए पनि आफूले उनीसँग चीन भ्रमणमा जान सक्ने सम्भावनालाई अस्वीकार नगरेको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री रुबियोले भने यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । उनले घटनाको संवेदनशील प्रकृति र कम्पनीभित्रको आन्तरिक विषय भएकाले यसबारे बोल्न नसक्ने बताएका थिए ।

चीन भन्छ– आरोप निराधार

उता, चीनले भने जासुसीसम्बन्धी आरोप अस्वीकार गरेको छ । चिनियाँ पक्षले एलिस हुआङलाई चीनको गुप्तचर निकायले परिचालन गरेको भन्ने दाबीलाई निराधार र चीनलाई बदनाम गर्ने प्रयास रहेको बताएको हो ।

एनभीडीयाले यसअघि हुआङ र एलिसबीचको सम्बन्ध सामान्य व्यावसायिक सम्पर्क मात्रै रहेको बताउँदै आएको थियो । 

कम्पनीले आफ्ना प्रमुखले प्रत्येक वर्ष हजारौं ग्राहक कम्पनीका कार्यकारीहरूसँग भेटघाट गर्ने र एसियाका क्लाउड सेवा ग्राहकलाई सामान्य व्यावसायिक जानकारी मात्रै उपलब्ध गराउने गरेको जनाएको थियो । 

यस्ता खाले भेटघाटमा कम्पनीको व्यापारिक गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी आदानप्रदान नहुने कम्पनीको दाबी थियो ।

तर, पछिल्लो घटनाक्रमपछि कम्पनीले स्वतन्त्र छानबिन सुरु गर्ने निर्णय गरेको हो । 

नेतन्याहूलाई सत्ताच्युत गर्ने दाउमा आइजेनकोट

मध्यावधि चुनावपछि मस्कलाई ४२० अर्ब डलर बढी घाटा 

कुवेतमा सद्दाम हुसेनको कब्जा र ४ दिन टिकेको ‘कुवेत गणराज्य’

बाइनान्स ह्याकमा उत्तर कोरियाको संलग्नता अस्वीकार

जेनजी आन्दोलनको रापमा जर्मनी

इजरायलको चुनावी नतिजा र अबका चुनौती ​​​​​

चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै 

एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा

ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन

Share News