उद्यमी, सीए र पूर्वबैंकरले हाँकेको सिद्धार्थ बैंक

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सिद्धार्थ बैंकले वित्तीय कारोबार विस्तारसँगै संस्थागत सुशासन र अनुभवी नेतृत्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ । वित्तीय क्षेत्रदेखि उद्योग, व्यापार र व्यवस्थापनसम्म लामो अनुभव हासिल गरेका व्यक्तिहरूको नेतृत्वमा बैंकले आफ्नो व्यावसायिक यात्रा अघि बढाइरहेको छ ।

कम्पनी ऐन, २०६३ बमोजिम २०५८ असोज १२ गते स्थापना भएको सिद्धार्थ बैंकले २०५९ पुस ९ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार सञ्चालन गर्ने अनुमति पाएको थियो । त्यसको भोलिपल्ट अर्थात् २०५९ पुस १० गतेदेखि बैंकले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त संस्थाका रूपमा औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको हो ।

स्थापनाकालदेखि नै संस्थापक तथा सञ्चालकहरूको अनुभव र व्यावसायिक पृष्ठभूमिलाई आफ्नो संस्थागत संरचनाको महत्त्वपूर्ण पक्ष बनाउँदै आएको बैंकमा संस्थापक सेयरधनीहरूको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको ४९ प्रतिशत स्वामित्व रहेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकले ३ खर्ब ३४ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको वित्तीय कारोबारलाई व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी सञ्चालक समितिले निर्वाह गर्दै आएको छ । समितिको नेतृत्व अध्यक्ष राहुल अग्रवालले गरिरहेका छन् । उनीसँगै दिनेश शंकर पालिखे, वीरेन्द्रकुमार शाह, अंकित केडिया र भोजन अर्याल सञ्चालकका रूपमा आबद्ध छन् । त्यस्तै, कमला वाग्लेले स्वतन्त्र सञ्चालकका रूपमा समितिमा प्रतिनिधित्व गरिरहेकी छन् ।

राहुल अग्रवाल

सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल बैंकको सञ्चालक समितिमा २१ जनवरी २०२१ देखि सञ्चालकका रूपमा आबद्ध छन् । उनले १२ जनवरी २०२५ देखि बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । बेलायतको लन्डनस्थित मिडलसेक्स विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका अग्रवालसँग नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा साढे २ दशकको अनुभव रहेको छ । 

रिलायन्स ग्रुपका सञ्चालकका रूपमा कार्यरत उनी रिलायन्स सुपरटेक सिमेन्ट प्रालि., रिलायन्स सिमेन्ट प्रालि., अन्नपूर्ण क्वारिज प्रालि. र रिलायन्स पेपर मिल्स प्रालिको सञ्चालकका रूपमा समेत आबद्ध छन् । उनी रिलायन्स ट्रेड सेन्टरका सञ्चालक पनि हुन् ।

अग्रवालले यसअघि सिद्धार्थ क्यापिटल लिमिटेड र शुभलक्ष्मी फाइनान्स लिमिटेडको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् । नेपाल तथा भारतको बैंकिङ क्षेत्रमा समेत अनुभव हासिल गरेका अग्रवालसँग औद्योगिक, व्यावसायिक र वित्तीय क्षेत्रको अनुभव रहेको छ ।

दिनेश शंकर पालिखे 

बैंकका सञ्चालक दिनेश शंकर पालिखे बैंकका प्रवर्द्धक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा आबद्ध छन् । उनी २७ जुन २०१६ देखि बैंकको सञ्चालक समितिको सदस्यका रूपमा कार्यरत छन् । हाल उनी बैंकको कर्मचारी सेवा तथा सुविधा समितिको संयोजकसमेत हुन् ।

पालिखेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । व्यवसाय तथा लगानी क्षेत्रमा करिब २९ वर्षको अनुभव हासिल गरेका उनी जलविद्युत्, मर्चेन्ट बैंकिङ तथा लगानी व्यवस्थापनसम्बन्धी कम्पनीहरूमा संलग्न रहँदै आएका छन् ।

उनले यसअघि १० फेब्रुअरी २०१३ देखि २० जुन २०१६ सम्म बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको सञ्चालकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । व्यावसायिक क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय पालिखे नेपाल क्यान्सर रिलिफ सोसाइटी, रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा हिमालयनलगायत विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा आबद्ध छन् ।

वीरेन्द्रकुमार शाह 

वीरेन्द्रकुमार शाह १२ जनवरी २०२५ देखि बैंकको सञ्चालक समितिको सदस्यका रूपमा कार्यरत छन् । यसअघि पनि उनले सन् २०१७ फेब्रुअरीदेखि सन् २०२१ जनवरीसम्म सञ्चालकको जिम्मेवारी सम्हालेका थिए । हाल शाह बैंकको लेखापरीक्षण समितिको संयोजक तथा जोखिम व्यवस्थापन समितिको सदस्यका रूपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक गरेका उनीसँग नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।

शाहले प्रेस्टिज लुप म्याट इन्डस्ट्रिज प्रालि. र डीबी इन्डस्ट्रिज प्रालिको सञ्चालक तथा एसटीसी फेब्रिक प्रालिको प्रबन्ध सञ्चालकका रूपमा काम गरेका छन् । यसैगरी, उनले सन् २००० देखि २०१३ सम्म तत्कालीन एभरेस्ट इन्स्योरेन्स कम्पनीको सञ्चालकका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लामो अनुभव हासिल गरेका शाह बैंकको लेखापरीक्षण र जोखिम व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा समेत संलग्न छन् ।

अंकित केडिया

अंकित केडिया लेभरेज होल्डिङ्स प्रालिको प्रतिनिधित्व गर्दै सिद्धार्थ बैंकको सञ्चालक समितिमा आबद्ध छन् । उनी २९ जनवरी २०२१ देखि बैंकको सञ्चालक समितिको सदस्यका रूपमा कार्यरत छन् । हाल उनी बैंकको जोखिम व्यवस्थापन समितिको संयोजक तथा कर्मचारी सेवा तथा सुविधा समितिको सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

केडियाले सिंगापुरस्थित जेम्स कुक विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । नेपालको कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्रमा उनको १४ वर्षभन्दा बढीको अनुभव रहेको छ । उनले महावीर ओभरसिज प्रालि., लेभरेज होल्डिङ्स प्रालि. र महावीर इन्टरनेसनल सप्लायर्स प्रालिको प्रबन्ध सञ्चालकका रूपमा काम गरेका छन् ।

साथै उनी ग्लोबल पल्स कन्फेडरेसनमा नेपालको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा समेत कार्यरत छन् । कृषि, उद्योग तथा व्यवसायको अनुभवलाई वित्तीय क्षेत्रसँग जोड्दै आएका केडिया बैंकको जोखिम व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा समेत सक्रिय छन् ।

भोजन अर्याल 

भोजन अर्याल रिनुअल इन्भेस्टमेन्ट प्रालिको प्रतिनिधित्व गर्दै सिद्धार्थ बैंकको सञ्चालक समितिमा आबद्ध छन् । उनी १२ जनवरी २०२५ देखि बैंकको सञ्चालक समितिको सदस्यका रूपमा कार्यरत छन् । हाल उनी बैंकको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण समितिको संयोजक छन् ।

वरिष्ठ लेखापरीक्षण (सीए)का रूपमा परिचित अर्याल भारतको चार्टर्ड एकाउन्टेन्ट संस्था र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्य हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।

वित्तीय व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा संस्थागत सुशासनका क्षेत्रमा उनको १२ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । उनी बी. अर्याल एन्ड एसोसिएट्सका सञ्चालकसमेत हुन् । अर्यालले नेपाल र भारतका विभिन्न बैंक तथा वित्तीय संस्थामा वरिष्ठ व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन् ।

साथै उनले नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिको सदस्यका रूपमा समेत काम गरेका छन् । वित्तीय व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी अनुभव हासिल गरेका अर्यालले बैंकको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी समितिको नेतृत्व गरिरहेका छन् ।

कमला वाग्ले

कमला वाग्ले सिद्धार्थ बैंककी स्वतन्त्र सञ्चालक हुन् । उनी ६ जुन २०२५ मा बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी हुन् । हाल उनी बैंकको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण समितिको सदस्यका रूपमा कार्यरत छन् ।

वाग्लेले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेकी छन् । बैंकिङ क्षेत्रमा साढे २ दशक बढीको अनुभवी उनले एभरेस्ट बैंक लिमिटेडमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी थिइन् ।  बैंकिङ सञ्चालन तथा वित्तीय सुशासनसम्बन्धी क्षेत्रमा हासिल गरेको अनुभवले सञ्चालक समितिको स्वतन्त्र निगरानी र परामर्श भूमिकालाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share News