नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले शुक्रबार पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका थिए ।
बैंकिङमा तीन दशककाे अनुभव हासिल गरेका सुवेदीले नेपाल राष्ट्र बैंकबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । सन् १९९६ देखि २००० सम्म राष्ट्र बैंकमा सहायक पदमा कार्यरत उनी त्यसपछि कर्मचारी सञ्चय कोषमा शाखा अधिकृतका रूपमा काम गरेका थिए । सन् २००० देखि कृषि विकास बैंकमा आबद्ध भएका उनले प्रमुख कर्जा अधिकृत, उपमहाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृतलगायतका जिम्मेवारी सम्हालेका थिए । सन् २०२२ मा केही समय बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरेका सुवेदीसँग कर्जा व्यवस्थापन, निक्षेप परिचालन, वित्तीय योजना तथा संस्थागत सञ्चालनको अनुभव छ ।
उनले नेको इन्स्योरेन्स, साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तलगायतका संस्थामा सञ्चालक तथा फन्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षका रूपमा समेत काम गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका सुवेदी लेखापरीक्षण तथा अध्यापन क्षेत्रमा समेत अनुभव प्राप्त व्यक्ति हुन् । बैंकिङ क्षेत्रको लामो अनुभवपछि पुँजी बजारको नेतृत्वमा पुगेका सुवेदीसँग नेप्सेको आगामी कार्यदिशा, बजार विकास र सुधारका योजनाबारे गरिएको संक्षिप्त कुराकानीको अंश ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदभार ग्रहण गर्नुभएको छ । पहिलो निर्णय के गर्नुभयो ? आगामी योजना के-के छन् ?
आज धनतेरशको सुभदिनमा शपथ ग्रहण गरेर पदभार सम्हालेको छु । सबै साथीहरूलाई सँगै राखेर पदभार ग्रहण गरेको हुँ । साथीहरूसँग छलफल गरेर एउटा निर्णय पनि गरेको छु । ‘भिजिट नेप्से’ र ‘नेप्से विथ इन्भेस्टर’ कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेको छुँ । नेपाल धितोपत्र बोर्डबाट हरेक महिना वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न परिपत्र आएको छ । सोहीअनुसार ‘भिजिट नेप्से’ र ‘नेप्से विथ इन्भेस्टर’ कार्यक्रम महिनामा एकपटक सञ्चालन गर्ने निर्णय गरेको छु ।
निश्चय पनि लगानीकर्ताहरूलाई धेरै विषयमा आश्वस्त पार्नुपर्नेछ । एकातिर सूचना प्रविधिको स्तरोन्नति गर्नुपर्ने देखिन्छ भने अर्कोतर्फ लगानीकर्तालाई आफ्नो लगानी सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्नेछ । लगानीकर्तालाई उनीहरूको लगानी सुरक्षित रहेको अनुभूति गराउनु आवश्यक छ ।

नेप्सेमा धेरै लगानीकर्ता जोडिनुभएको छ । संस्थागत सुशासन कायम छ भन्ने विश्वास लगानीकर्तामा जगाउन सकियो भने उहाँहरूले आफ्नो हित सुरक्षित रहेको महसुस गर्नुहुन्छ । त्यसैले संस्थागत सुशासन कायम गर्ने र लगानीकर्ताको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउनेछु ।
मैले अध्ययन गर्दा सूचना प्रविधि र सफ्टवेयरको स्तरोन्नति गरी त्यसलाई थप मजबुत बनाउनुपर्ने देखेको छु । त्यसअनुसार पनि काम अघि बढाउने निर्णय गरेको छु । नेप्सेलाई अझ राम्रो बनाउने र यसको पुनर्संरचना गरेर अघि बढ्ने योजना छ । नेपाल सरकार, अर्थ मन्त्रालयले तयार पारेको नेप्सेको पुनर्संरचनासम्बन्धी मार्गचित्रका दस्तावेजहरू पनि मैले अध्ययन गरेको छु । त्यसका आधारमा नेप्सेको पुनर्संरचनालाई अघि बढाउनुपर्ने कार्यभार हामीसँग छ ।
नेप्सेमा विभिन्न नयाँ कारोबारका उपकरण पनि थप गर्नुपर्नेछ । जस्तै, अन्तरदिवसीय कारोबार (इन्ट्रा डे), सर्ट सेलिङ र साना तथा मझौला उद्यम (एसएमई)का लागि छुट्टै कारोबारको व्यवस्था सञ्चालन गर्नुपर्ने देखिन्छ । यस विषयमा थप अध्ययन गरेर काम अघि बढाउनेछौँ ।
बैंकिङ क्षेत्रबाट पुँजी बजारमा आउनुभएको छ । पुँजी बजारलाई कसरी लिनुभएको छ ?
वित्तीय बजारका दुईवटा पाटा हुन्छन्- मुद्रा बजार र पुँजी बजार । यी दुई बजार नङ र मासुजस्तै एकअर्कासँग जोडिएका हुन्छन् । पुँजी बजारमा कारोबार हुने उपकरण दीर्घकालीन प्रकृतिका हुन्छन् । मैले कृषि विकास बैंकमा काम गर्दा बैंकिङ क्षेत्रका विभिन्न उपकरणसँग परिचित हुने अवसर पाएको थिएँ । बैंकिङ क्षेत्रमा रहँदा पनि सेयर कारोबारलगायत अन्य वित्तीय कारोबार गर्ने गरिन्थ्यो । अहिले पुँजी बजारमा आइपुग्दा दीर्घकालीन प्रकृतिका वित्तीय उपकरणलाई नजिकबाट हेर्ने अवसर मिलेको छ । विशेषगरी यहाँ धितोपत्रको कारोबार हुने गर्छ ।

नेपाल धितोपत्र बोर्डले निर्देशनहरू पठाइरहेको छ । नेतृत्व नहुँदा कतिपय काम रोकिएका थिए । नेप्सेमा रोकिएका काम कसरी अगाडि बढाउनुहुन्छ ?
महत्त्वपूर्ण निर्णयहरू साथीहरूले पालना गर्नुभएकै हुनुपर्छ । धितोपत्र बोर्डको निर्देशनअनुसार मैले आफ्नो कामको सुरुवात गरेको छु । ‘भिजिट नेप्से’ र ‘नेप्से विथ इन्भेस्टर’ कार्यक्रम सञ्चालन गर्ने निर्णयबाटै मैले आफ्नो काम अघि बढाएको छु । समयसीमा तोकिएका विषयमा काम कार्यान्वयन भएकै छन् । छलफल र निर्णयको तहमा थप परिपक्व बनाएर अघि बढाउनुपर्ने विषयहरू बाँकी छन् भने ती कामलाई क्रमशः अगाडि बढाउनेछौँ ।
नेपालको पुँजी बजारमा नेप्सेको प्रतिस्पर्धी वा अर्को स्टक एक्सचेन्ज आवश्यक छ ?
संस्थागत सुशासन कायम गर्न सकियो भने नेप्सेका कामहरू छिटोछरितो ढङ्गले गर्न सक्छौँ । नेपालमा अर्को बजार आवश्यक छ जस्तो मलाई लाग्दैन । नेप्सेलाई नै थप सबल बनाएर अघि बढ्यौँ भने अहिलेको बजारको माग धान्न सक्छ भन्नेमा म विश्वस्त छु । नेप्सेमा कहाँनेर सुधार गर्नुपर्ने हो भन्ने कुरा पहिचान गरेर ती विषयलाई सुधार गर्दै अघि बढ्नुपर्छ । त्यसैले अर्को संस्था तत्काल आवश्यक देख्दिनँ ।
बैंकको ब्याजदर न्यून छ । नियामकका नीति तथा नियम पनि सहज हुँदा बजारमा सुधार देखिएको छैन । लगानीकर्ताको मनोबल बढ्न सकिरहेको छैन । लगानीकर्ताको मनोबल बढाउन के-के काम गर्नुहुन्छ ?
नेप्सेका तर्फबाट लगानीकर्तालाई आश्वस्त हुने गरी काम गर्नेछौँ । नेप्सेले गर्नुपर्ने काममध्ये धितोपत्रसम्बन्धी साक्षरता बढाउनु पनि महत्त्वपूर्ण छ । जसलाई वित्तीय साक्षरताको आवश्यकता छ, त्यही वर्गसम्म कार्यक्रम पुर्याउने हाम्रो लक्ष्य हो । ‘भिजिट नेप्से’ र ‘नेप्से विथ इन्भेस्टर’ कार्यक्रम सञ्चालन गरेर साक्षरताका कार्यक्रमलाई व्यापक बनाउनेछौँ ।
साथै, लगानीकर्ताहरूले पनि अध्ययन गरेर लगानी गर्नुपर्छ । नेप्सेले कारोबार सहज रूपमा सञ्चालन गरोस् र प्रणालीले राम्रोसँग काम गरोस् भन्ने लगानीकर्ताको चाहना हो । यस विषयमा नेप्से हिजो पनि प्रतिबद्ध थियो र भोलिका दिनमा पनि रहनेछ ।
समयानुकूल सूचना प्रविधिलाई थप सबल र सुरक्षित बनाउने, अनलाइन कारोबारलाई व्यवस्थित तथा भरपर्दो बनाउने काम गर्नेछौँ । त्यसबाहेक लगानीकर्ताका कुनै जिज्ञासा वा सुझाव आएमा उहाँहरूसँग बसेर छलफल गर्नेछौँ र उचित विषयलाई यथोचित रूपमा सम्बोधन गर्नेछौँ ।

बैंकमा रहँदा तपाईं नेप्सेको सेवाग्राही हुनुहुन्थ्यो । सेवाग्राहीका रूपमा नेप्से आउँदा कस्ता समस्या भोग्नुभएको थियो ? अहिले नेतृत्वमा आइसकेपछि ती समस्या कसरी समाधान गर्नुहुन्छ ?
म सेवाग्राहीका रूपमा नेप्सेमा सूचीकरणका लागि आइरहन्थेँ । सूचीकरणलगायत अन्य स्वीकृतिका लागि आउँदा त्यस्तो किसिमको समस्या महसुस गर्नुपरेको थिएन । सेयर निष्कासनका बेला पनि खासै समस्या भोग्नुपरेको थिएन । तर, सेवालाई गुणस्तरीय बनाउनका लागि धितोपत्र बोर्डले दिएका निर्देशनहरू यथाशक्य कार्यान्वयन गर्नुपर्छ । लगानीकर्ताहरूले उठाएका विषयलाई समयमै सम्बोधन गर्नुपर्छ । हाम्रो संस्थागत सुशासनलाई बलियो बनाउँदै लैजानुपर्छ ।
सूचना प्रविधिलाई सबल बनाउने, बजारमा नयाँ-नयाँ उपकरण र पडक्ट थप्ने तथा वित्तीय साक्षरता नपुगेका ठाउँमा साक्षरता कार्यक्रम पुर्याउने काम गर्न सकियो भने धेरै समस्या सम्बोधन गर्न सकिन्छ ।
पछिल्लो समय ब्रोकरको तथ्याङ्क राखिएको डाटा सेन्टरमा साइबर आक्रमण भयो । साइबर सुरक्षाका विषयमा कसरी काम गर्नुहुन्छ ?
यस विषयमा अहिले सूचना प्रविधि टोलीसँग मिलेर काम भइरहेको छ । सूचना प्रविधिलाई थप सबल बनाउने कामसँगै साइबर सुरक्षाको विषयलाई पनि अघि बढाउनेछौँ । यो निकै गम्भीर विषय हो । लगानीकर्ताको लगानी र तथ्याङ्क सुरक्षित रहने गरी हामीले काम गर्नुपर्छ । यसका लागि आवश्यक र उपयुक्त उपाय अपनाउन नेप्से पछि हट्नेछैन ।
कृत्रिम कारोबार हुने, बिचौलियाहरू प्रवेश गर्ने र अवैध धन प्रवेश गर्ने माध्यम सेयर बजार बनेको आरोप लाग्ने गरेको छ । यसको नियन्त्रणमा तपाईंको भूमिका के रहन्छ ?
विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी आफ्नै सिद्धान्त र मापदण्ड छन् । हामीले ती मापदण्ड पालना गर्नुपर्छ । सूचक संस्थाका रूपमा सम्बन्धित निकायलाई आवश्यक जानकारी गराउनेलगायतका काम र कर्तव्य हामीसँग छन् । यसका लागि हामीसँग अनुपालन समिति पनि छ । अवैध धनको कारोबारका विषयमा हामी शून्य सहनशीलताको नीति अपनाएर काम गर्नेछौँ । यस विषयमा म स्पष्ट छु ।