मध्यावधि चुनावपछि मस्कलाई ४२० अर्ब डलर बढी घाटा

मस्कले रिपब्लिकन उम्मेदवार र पार्टीका विभिन्न अभियानमा ४७ करोड डलरभन्दा बढी रकम खर्च गरेका थिए ।

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनपछि अर्बपति एलन मस्कका कम्पनी टेस्ला र स्पेसएक्सको संयुक्त बजार मूल्यमा ४२० अर्ब अमेरिकी डलरभन्दा बढी गिरावट आएको छ ।

बिहीबार दिउँसो टेस्लाको सेयर मूल्य करिब ११ प्रतिशत र स्पेसएक्सको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको थियो । 

अमेरिकी मध्यावधि निर्वाचनपछि मस्कका कम्पनीमाथि संसदमा नयाँ छानबिन सुरु हुन सक्ने र नियामकीय नियन्त्रण थप कडा हुन सक्ने आशङ्काले लगानीकर्तामा चिन्ता बढ्दा सेयर मूल्य घटेको हो ।

प्रविधि क्षेत्रका अन्य कम्पनीको सेयरमा समेत गिरावट आएका बेला टेस्ला र स्पेसएक्सको बजार पुँजीकरणमा मंगलबारको बजार बन्दयता ४२० अर्ब डलरभन्दा बढीको क्षति पुगेको हो ।

फोब्र्सका अनुसार गत जुनमा स्पेसएक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि एक ट्रिलियन डलर नाघेको मस्कको सम्पत्ति अहिले ८०० अर्ब डलरभन्दा तल झरेको छ । 

पछिल्लो एक सातामै उनको सम्पत्ति करिब ९० अर्ब डलर घटेको छ । यद्यपि उनी अझै पनि विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क रिपब्लिकन पार्टीका उम्मेदवार र अभियानका सबैभन्दा ठूला आर्थिक सहयोगकर्ता थिए । फाइनान्सियल टाइम्सका अनुसार उनले रिपब्लिकन उम्मेदवार र पार्टीका विभिन्न अभियानमा ४७ करोड डलरभन्दा बढी रकम खर्च गरेका थिए ।

तर, रिपब्लिकन पार्टीको चुनावी कोष बलियो बनाउन ठूलो रकम खर्चिए पनि मस्कले समर्थन गरेका अधिकांश उम्मेदवार पराजित भए । निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण कायम गरेको छ । 

टेस्ला र स्पेसएक्सको मुख्यालय रहेको टेक्सासमा पनि मस्कका निकट सहयोगी मानिने राज्यका महान्यायाधिवक्ता केन प्याक्सटन र गभर्नर ग्रेग एबट पराजित भएका छन् । 

उनीहरूलाई डेमोक्रेटिक पार्टीका सिनेटरमा निर्वाचित जेम्स टालारिको र गभर्नरमा निर्वाचित जिना हिनोजोसाले हराएका हुन् ।

ड्युश बैंकका विश्लेषकहरूले बुधबार सार्वजनिक गरेको एक टिप्पणीमा राजनीतिक नीतिको दिशा अनुमान गर्न कठिन भए पनि यस्तो परिस्थितिमा स्पेसएक्सले थप नीतिगत अवरोध सामना गर्न सक्ने उल्लेख गरेका छन् ।

विश्लेषकहरूका अनुसार नवनिर्वाचित गभर्नर हिनोजोसाले आफ्नो चुनावी अभियानमा डेटा सेन्टरलाई प्रमुख मुद्दा बनाएकी थिइन् । 

उनले पानीको प्रयोग, विद्युत् लागत, स्थानीय सरकारको अधिकार र लगानी प्रोत्साहनसम्बन्धी कडा व्यवस्था नबनाएसम्म नयाँ डेटा सेन्टर निर्माणको स्वीकृति रोक्नुपर्ने धारणा राखेकी थिइन्। ठूला डेटा सेन्टरलाई दिइने कर छुटको पनि उनले आलोचना गरेकी थिइन् ।

टेस्ला र स्पेसएक्स दुवैले टेक्सासमा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तार गरिरहेका छन् । उनीहरूले टेक्सासको ग्राइम्स काउन्टीमा टेराफ्याब नामको विशाल संरचना निर्माण गर्ने योजना बनाएका छन् । यसमा डेटा सेन्टर र ठूलो अर्धचालक (सेमिकन्डक्टर) कारखाना रहनेछन् ।

त्यस्तै, स्पेसएक्सले टेक्सासस्थित आफ्नो स्टारबेस प्रक्षेपण केन्द्र तथा कम्पनीको बस्तीमा सुपर कम्प्युटर निर्माण गर्ने योजना पनि बनाएको छ । कम्पनीले सार्वजनिक गरेका रोजगारीसम्बन्धी विज्ञापनमा समेत यसको उल्लेख गरिएको छ ।

ड्युश बैंकका विश्लेषकहरूले टेक्सासमा स्पेसएक्सले विस्तार गर्न खोजेको कम्प्युटिङ क्षमता निर्माणमा ढिलाइ हुन सक्ने जोखिम औंल्याएका छन् । डेटा सेन्टर निर्माणसम्बन्धी नियमन कडा भएमा त्यसको मापदण्ड पूरा गर्न कम्पनीले पुँजीगत खर्चसमेत बढाउनुपर्ने उनीहरूको भनाइ छ ।

यसैबीच, युक्रेनमा प्रयोग भइरहेको स्टारलिंकको सैन्य प्रयोजनका लागि बनाइएको संस्करणमा लगाइएको प्रतिबन्धसम्बन्धी अभिलेख सुरक्षित राख्न मस्क र स्पेसएक्सलाई निर्देशन दिइएको छ । 

सीएनएनले एक डेमोक्रेटिक सिनेटरका सहयोगीलाई उद्धृत गर्दै जनाएअनुसार उक्त प्रतिबन्धले रुसी आक्रमणविरुद्ध प्रतिरक्षा गर्ने युक्रेनको क्षमतामा असर पारेको थियो ।

त्यस्तै, नियामकीय निगरानी बढ्दा स्पेसएक्स र टेस्लालाई गाभ्ने मस्कको योजनामा समेत अवरोध आउन सक्ने देखिएको छ । मस्कले यी दुई कम्पनीलाई एकीकरण गर्ने विचार अघि सारेका छन् । तर, त्यसका लागि सेयरधनीको स्वीकृति आवश्यक पर्ने उनले स्वीकार गरिसकेका छन् ।

पछिल्लो गिरावटसँगै स्पेसएक्स र टेस्लाको संयुक्त बजार पुँजीकरणमा करिब ४५६ अर्ब डलरको क्षति पुगेको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) 

कुवेतमा सद्दाम हुसेनको कब्जा र ४ दिन टिकेको ‘कुवेत गणराज्य’

बाइनान्स ह्याकमा उत्तर कोरियाको संलग्नता अस्वीकार

जेनजी आन्दोलनको रापमा जर्मनी

इजरायलको चुनावी नतिजा र अबका चुनौती ​​​​​

चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै 

एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा

ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन

Share News