राष्ट्र बैंकका निवृत्तदेखि बीमाका पूर्वसीईओसम्म, कोसँग कस्तो छ अनुभव ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वित्तीय सेवा विस्तारसँगै संस्थागत सुशासन, व्यावसायिक दक्षता र अनुभवी नेतृत्वलाई प्राथमिकता दिँदै आएको छ । कम्पनी ऐन, २०६३ बमोजिम २०५८ असोज ११ गते दर्ता भएको लक्ष्मी बैंकले २०५८ चैत ८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने अनुमति प्राप्त गरेको थियो । ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा कारोबार गर्दै आएको लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा गाभिएपछि २०८० असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकका नाममा एकीकृत कारोबार सुरु भएको हो ।

बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकमा संस्थापक सेयरधनीको ५१.०५ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४८.९५ प्रतिशत स्वामित्व रहेको छ । अर्थविद्, उद्योगपति तथा व्यावसायिक संस्थापकहरूको लगानीमा स्थापना भएको बैंकको सञ्चालक समितिमा बैंकिङ, बीमा, लगानी, जलविद्युत्, उद्योग तथा अनुसन्धान क्षेत्रका अनुभवी व्यक्ति आबद्ध छन् ।  

रमण नेपाल 

बैंकका अध्यक्ष रमणसँग नेपाल बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी निर्देशक पदबाट अवकाश पाएका नेपालले केन्द्रीय बैंकको नियमन, वित्तीय व्यवस्थापन तथा संस्थागत सञ्चालनमा लामो अनुभव हासिल गरेका छन् । तीन दशक लामो सेवा अवधिमा उनले केन्द्रीय बैंकको कार्यप्रणाली, वित्तीय क्षेत्रको नियमन तथा मौद्रिक व्यवस्थापनसम्बन्धी अनुभव प्राप्त गरेका छन् । 

राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश भएपछि पनि उनी वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा सक्रिय रहे । राष्ट्र बैंकबाट अवकाश पाएपछि नेपालले २०७५ देखि २०८१ सम्म नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनले विद्युत् उत्पादक कम्पनी लिमिटेड तथा माथिल्लो तामाकोशी जलविद्युत् लिमिटेडमा सञ्चालकका रूपमा काम गरेका छन् । त्यसैगरी, उनी बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका कोषाध्यक्षसमेत हुन् । 

दिनेश पौड्याल

लक्ष्मी सनराइज बैंकका सञ्चालक दिनेश पौड्यालसँग वित्तीय क्षेत्र, जलविद्युत्, औद्योगिक व्यवसाय तथा संस्थागत व्यवस्थापनमा अनुभव छ । पौड्याल सन् २०१४ फेब्रुअरीदेखि लक्ष्मी सनराइज बैंकको सञ्चालकका रूपमा कार्यरत छन् । 

उनी सन् २०२५ जनवरीदेखि म्याग्दीस्थित धौलागिरि कालिका हाइड्रोपावर लिमिटेडमा वित्तीय सल्लाहकारका रूपमा कार्यरत छन् । त्यसैगरी, उनी सन् २०२२ जनवरीदेखि कियान केमिकल्स इन्डस्ट्री प्रालिका सञ्चालक छन् । उनी सन् २०१४ जनवरीदेखि डेलिम मोनोरेल नेपालका सञ्चालकका रूपमा पनि कार्यरत छन् ।

पौड्यालले जलविद्युत् क्षेत्रमा कार्यकारी नेतृत्वको अनुभवसमेत हासिल गरेका छन् । उनले सन् २०१५ फेब्रुअरीदेखि २०२२ जुलाईसम्म भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए । 

उनको व्यावसायिक यात्रा लेखा तथा वित्तीय व्यवस्थापनबाट सुरु भएको देखिन्छ । उनले सन् २००० अक्टोबरदेखि २०१४ नोभेम्बरसम्म एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा लेखापालका रूपमा काम गरेका थिए । 

त्यस्तै, पौड्यालले सन् २०५८ देखि २०७१ सम्म एभरेस्ट इन्स्योरेन्सको वित्तीय विभागमा काम गरेका थिए । उनी सिन्धु इन्भेस्टमेन्ट प्रालिका सञ्चालक तथा २०६७ देखि २०७१ सम्म शुभ टाइम्स सेभिङ एन्ड कोअपरेटिभका अध्यक्षसमेत रहेका थिए । उनले नेपाल उद्योग वाणिज्य महासंघको महासचिवका रूपमा पनि काम गरेको अनुभव छ ।

व्यावसायिक क्षेत्रबाहेक पौड्याल सामाजिक तथा शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी सन् २००६ अक्टोबरदेखि २०२५ अप्रिलसम्म रिडर्स क्लब नेपालका उपाध्यक्ष थिए । शैक्षिक रूपमा पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट सन् २००२ देखि २००९ सम्म व्यवस्थापन तथा वाणिज्य विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

मनोज कुमार भट्टराई 
    
बैंकका सञ्चालक मनोजकुमार भट्टराई भट्टराईले आफ्नो व्यावसायिक यात्रामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा नेतृत्व गरेका थिए । उनले नेपाल लाइफ इन्स्योरेन्समा सन् २००८ मार्चदेखि २०११ जुनसम्म सीईओको जिम्मेवारी सम्हालेका थिए 

त्यसैगरी, उनले सन् २०११ जुलाईदेखि ग्रान्ड बैंक नेपाल लिमिटेडमा महाप्रबन्धकका रूपमा काम गरेका थिए । भट्टराईले तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको रूपमा समेत लामो समय नेतृत्व गरेका थिए । वि.सं. २०७१ देखि २०७९ सम्म उक्त संस्थाको नेतृत्व सम्हालेका उनले बीमा व्यवसायको व्यवस्थापन, संस्थागत विस्तार तथा सञ्चालनमा अनुभव हासिल गरेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९७९ देखि १९८१ सम्म वित्त तथा वित्तीय व्यवस्थापन विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

स्वाती रुङ्गटा

स्वाति रुंगटा अग्रवाल नेपालको वित्तीय तथा लगानी क्षेत्रमा सक्रिय महिला व्यावसायिक व्यक्तित्व हुन् । निजी इक्विटी, उद्यम पुँजी, बैंकिङ, बीमा तथा पूर्वाधार क्षेत्रमा लगानी र व्यावसायिक विकासका अवसर पहिचान गर्दै आएकी अग्रवाल ग्लोबल इक्विटी फन्डकी प्रबन्ध साझेदार तथा लक्ष्मी बैंककी सञ्चालक हुन् ।

अग्रवाल सन् २०२१ मेदेखि ग्लोबल इक्विटी फन्डको प्रबन्ध साझेदारका रूपमा कार्यरत छिन् । यो नेपालमा स्थापना भएको पहिलो संस्थागत निजी इक्विटी तथा उद्यम पुँजी कोषका रूपमा परिचित छ । 

ग्लोबल इक्विटी फन्डले विभिन्न क्षेत्रमा करिब तीन करोड ५० लाख अमेरिकी डलर बराबरको लगानी पोर्टफोलियोसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ । यस कोषको प्रवर्द्धनमा लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स र लक्ष्मी कर्पको संलग्नता रहेको छ ।

बैंकिङ क्षेत्रमा पनि अग्रवालको लामो अनुभव छ । उनी सन् २०१३ फेब्रुअरीदेखि लक्ष्मी बैंकको सञ्चालकका रूपमा कार्यरत छिन् । बैंकको सञ्चालक समितिमा रहँदा उनले जोखिम व्यवस्थापन समिति, मानव संसाधन समिति तथा गाभ्ने र प्राप्ति गर्ने प्रक्रियासम्बन्धी समितिमा रहेर जिम्मेवारी निर्वाह गरेकी छन् । बैंकको रणनीतिक व्यवस्थापन र संस्थागत निर्णय प्रक्रियामा उनको सहभागिता रहँदै आएको छ ।

बैंकिङ र लगानीबाहेक अग्रवाल उद्यमशीलता तथा व्यापार क्षेत्रमा पनि सक्रिय छिन् । उनी सन् २०१३ मार्चदेखि साना इम्पेक्सकी संस्थापक सञ्चालक हुन् । उक्त संस्थाले नेपालमा विभिन्न उपभोग्य वस्तुका प्रमुख ब्रान्डको बजारीकरण तथा वितरण गर्दै आएको छ ।

यसअघि उनले सन् २०१२ जुनदेखि २०१४ जुनसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा स्वतन्त्र सञ्चालकका रूपमा काम गरेकी थिइन् । त्यस्तै, सन् २००९ जुनदेखि २०१० सेप्टेम्बरसम्म अन्तर्राष्ट्रिय वित्तीय संस्था क्रेडिट स्विसमा पनि कार्यानुभव हासिल गरेकी छन् ।

शैक्षिक रूपमा अग्रवालले भारतको सिम्बायोसिस इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्टबाट सन् २००७ देखि २००९ सम्म वित्त विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । त्यसअघि उनले लेडी श्रीराम कलेज फर विमेनबाट सन् २००४ देखि २००७ सम्म वाणिज्य विषयमा स्नातक अध्ययन पूरा गरेकी थिइन् । उनले भारतको अशोक हल गर्ल्स आवासीय विद्यालयबाट उच्च माध्यमिक तहको शिक्षा हासिल गरेकी छन् ।

विद्या बस्न्यात

स्वतन्त्र सञ्चालक विद्या बस्न्यातले एम.बि.ए गरेकी छिन् । उनी २०६० सालदेखि बैंकमा आबद्ध रहँदै आएकी छिन् । उनी नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट (कार्यकारी समिति सदस्य) पनि हुन् ।

Share News