विद्युत् खपत बढाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन, चुहावट नियन्त्रणमा जोड

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय र वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा उनले विद्युत् खपत र गुणस्तरीय सेवा बढाउन अग्रसर हुनुपर्ने बताए ।

विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा कमी आउनु सकारात्मक रहेको उनले बताए । तर, विद्युत् चुहावट नियन्त्रण, पुराना संरचनाको सुधार र सेवा प्रवाहमा अझै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने बताए । उपभोक्ताले सुरक्षित, गुणस्तरीय र नियमित विद्युत् सेवा पाउनुपर्नेमा उनले जोड दिए । साथै, विपद् प्रतिरोधी वितरण प्रणाली निर्माण गर्न पनि निर्देशन दिए ।

प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा दिइरहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ । यो लक्ष्यको ९९.१ प्रतिशत हो ।

ट्रान्सफर्मर जल्ने घटनामा पनि कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेका थिए । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्रै जलेका छन् । यो अघिल्लो वर्षको तुलनामा ७२.५ प्रतिशतभन्दा बढी कमी हो ।

गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ ।

तर, प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत छ । यो चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा बढी हो । चुहावटलाई लक्ष्यभित्र ल्याउन मन्त्री श्रेष्ठले प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

बाढीपहिरोका कारण गण्डकी प्रदेशको विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । विपद्का कारण ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन र ६३ किलोमिटर एलटी लाइनमा क्षति पुगेको छ ।

त्यस्तै, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति भएको छ । क्षतिग्रस्त संरचना पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्ने विषयमा पनि छलफल भएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको प्रगति, सेवा प्रवाह र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए । 

Share News