सबै दल असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिन सक्छ : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताको कालो बादल मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन्। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। मुलुकका अन्य राजनीतिक दलहरू असफल भइसकेको उनको भनाइ छ। उनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको बताए। पार्टीको आगामी महाधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिने गरी संगठनको पुनर्गठन गरेर जानुपर्नेमा पनि उनले जोड दिए। मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै पार्टीलाई देशको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा तयार पार्न पुनर्गठनको आवश्यकता रहेको उनको भनाइ छ। त्यसका लागि महाधिवेशनको तयारीमा जुट्न उनले नेता–कार्यकर्तालाई आग्रहसमेत गरे। पार्टी संगठन विस्तार नगरी सीमित कार्यकर्तामै केन्द्रित भएर राप्रपा ठूलो बन्न नसक्ने भन्दै उनले सबैका लागि ढोका खुला गर्नुपर्ने बताए। राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको एजेन्डा स्थापित गर्न संगठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको उनको भनाइ थियो। उनले भने, ‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ। अनिश्चय र अनिश्चितताका कालो बादलहरू आज हाम्रो शिरमाथि मडारिरहेका छन्। सबैजसो राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका छन्। यस्तो बेला देशलाई निकास दिने र एउटा दृष्टि दिने कुनै शक्ति र पार्टी नेपालमा जीवित छ भने त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो।' आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनको जोड छ।
दशैंमा धुर्कोट घुम्ने पर्यटकलाई सहज, संग्रहालयमै सस्तो होमस्टे
काठमाडौं । दशैंको बिदामा विचित्र गुफा घुम्ने, सराय नाचको रौनकमा रमाउने र ऐतिहासिक धुर्कोट दरबार संग्रहालय अवलोकन गर्ने योजना बनाउनुभएको छ? घुम्न जाने ठाउँ तय भए पनि कहाँ बस्ने भन्ने चिन्ता छ भने गुल्मीको धुर्कोटमा सुलभ विकल्प उपलब्ध भएको छ। धुर्कोट दरबार संग्रहालय परिसरमा सञ्चालनमा रहेको होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तो दरमा खाने र बस्ने सुविधा दिन थालेको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलका अनुसार होमस्टेमा सुलभ मूल्यमा बस्न र खान पाइन्छ। पर्यटकले चाहेमा आफैँ खाना पकाएर खानसमेत सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए। धुर्कोट क्षेत्रका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन गरिएको अध्यक्ष पोखरेलले बताए। यसले धुर्कोट घुम्न आउने पर्यटकलाई आवासको सहज विकल्प उपलब्ध गराउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए। हिमाल, खोँच र फाँटको मनमोहक दृश्य धुर्कोट दरबार संग्रहालय ऐतिहासिक महत्त्वका साथै प्राकृतिक दृश्यावलोकनका लागि पनि आकर्षक गन्तव्य हो। धुर्कोटको उच्च स्थानमा रहेको संग्रहालय परिसरबाट छल्दी र पनादी खोलाले निर्माण गरेका खोँच, आसपासका फाँट तथा उत्तरतर्फका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। मौसम अनुकूल हुँदा यहाँबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसमेत देख्न सकिन्छ। इतिहासमा रुचि राख्ने, प्रकृतिमा रमाउन चाहने र शान्त वातावरणमा समय बिताउन खोज्ने पर्यटकका लागि धुर्कोट उपयुक्त गन्तव्य बन्न सक्छ। विचित्र गुफादेखि सराय नाचसम्म धुर्कोट भ्रमणलाई थप रोचक बनाउने आकर्षणमा विचित्र गुफा र स्थानीय सराय नाच पनि पर्छन्। ऐतिहासिक सम्पदाको अवलोकनसँगै गुफा घुम्ने र स्थानीय मौलिक संस्कृतिसँग परिचित हुने अवसरले यहाँको यात्रालाई विशेष बनाउन सक्छ। दशैंका बेला सराय नाचको सांस्कृतिक रौनकले धुर्कोटको भ्रमणलाई थप आकर्षक बनाउँछ । स्थानीय परम्परा, कला र संस्कृतिलाई नजिकबाट बुझ्न चाहने पर्यटकका लागि यो क्षेत्र उपयोगी गन्तव्य हो । धुर्कोट दरबार संग्रहालयसम्म गुल्मी सदरमुकाम तम्घासबाट पक्की सडकमार्ग हुँदै पुग्न सकिन्छ। सडक सञ्जालले जोडिएकाले पर्यटकलाई आवतजावत गर्न सहज रहेको गाउँपालिकाले जनाएको छ। दशैंको बिदामा नयाँ ठाउँ घुम्ने, स्थानीय संस्कृति बुझ्ने र प्राकृतिक सौन्दर्यमा रमाउने योजना बनाएका पर्यटकका लागि धुर्कोट राम्रो विकल्प बन्न सक्छ। संग्रहालय परिसरमै सुलभ आवासको सुविधा उपलब्ध भएपछि पर्यटकले बसोबासको चिन्ता कम गर्दै आसपासका पर्यटकीय स्थलको भ्रमण गर्न सक्नेछन्। ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको अनुभव लिन चाहनेहरूका लागि धुर्कोटको भ्रमण यसपटकको दशैं बिदामा नयाँ गन्तव्यको विकल्प बन्न सक्छ।
उदयशमशेर राणा : विद्यार्थी राजनीतिदेखि कांग्रेस महामन्त्रीसम्म
काठमाडौं । तरुण दलको नेतृत्व, अर्थ राज्यमन्त्रीको जिम्मेवारी र ललितपुर–१ बाट पटक-पटकको चुनावी प्रतिस्पर्धा पार गर्दै उदयशमशेर राणा नेपाली कांग्रेसको महामन्त्री बनेका छन् । उनको राजनीतिक यात्रामा जित र हार, संगठनात्मक अनुभव र पार्टीभित्रको निरन्तर सक्रियता रहेको छ । जसले नै आज उनलाई महामन्त्री बनाएको हो । उदयशमशेर राणाको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु भएको हो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदै कांग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्वमा पुगेका उनी संविधानसभा सदस्य बने, अर्थ राज्यमन्त्रीको जिम्मेवारी सम्हाले र पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भए । अहिले उनी नेपाली कांग्रेसको महामन्त्रीका रूपमा पार्टीको संगठनात्मक राजनीतिमा नयाँ जिम्मेवारीमा निर्वाचित भएका छन् । विसं २०२६ फागुन १६ गते ललितपुरमा जन्मिएका राणाले नेपाल, भारत र अमेरिकामा अध्ययन गरेका छन् । दिल्ली विश्वविद्यालयअन्तर्गत सेन्ट स्टेफेन्स कलेजबाट स्नातक र अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । राणाको राजनीतिक परिचय निर्माणमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भूमिका महत्वपूर्ण छ । दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा उनी नेविसंघको संस्थापक अध्यक्ष बनेका थिए । त्यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको हो । त्यसपछि अन्तर्राष्ट्रिय युवा राजनीतिमा पनि उनी सक्रिय रहे । राणा सन् १९९७–१९९८ मा इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथका उपाध्यक्ष बनेका थिए । नेपाल फर्किएपछि उनले कांग्रेसको युवा संगठन तरुण दलमा विभिन्न जिम्मेवारी सम्हाले । ललितपुर जिल्ला अध्यक्षबाट सुरु भएको उनको संगठनात्मक यात्रा केन्द्रीय सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुग्यो । तरुण दलको नेतृत्वले उनलाई कांग्रेसको युवापंक्तिमा स्थापित हुने अवसर दियो । संगठनभित्रको यही अनुभवलाई उनले पछि पार्टीको मूल राजनीतिमा विस्तार गरे । उदय श्री ३ चन्द्रशमशेर राणाका पनाति तथा मृगेन्द्रशमशेर राणाका नाति, सागरशमसेर राणाका छोरा हुन् । चुनावी राजनीतिमा हार र पुनरागमन राणाको चुनावी यात्रा भने सधैं सफलताले मात्रै भरिएको छैन । ललितपुर–१ बाट उनले पटकपटक प्रतिस्पर्धा गरे। कुनै निर्वाचनमा विजयी भए, कुनैमा पराजयको नमीठो पनि चाखे । तर पराजयपछि पनि उनी यही क्षेत्रको राजनीतिमा सक्रिय रहिरहे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर–१ बाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने १८ हजार ५६० मत प्राप्त गर्दै विजयी भए । यससँगै उनी संविधानसभा सदस्य बने । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नवराज सिलवालसँग पराजित भएपछि उनको संसदीय यात्रा रोकियो । तर २०७९ सालको निर्वाचनमा उनले पुनरागमन गरे । यसपटक सिलवाललाई नै पराजित गर्दै २३ हजार ८९२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०७९ को विजयपछि प्रतिनिधिसभामा फर्किएका राणा २०८२ सालको निर्वाचनमा भने पुनः पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत प्राप्त गर्दा राणाले १३ हजार ५२० मत पाए । संविधानसभा र प्रतिनिधिसभाका निर्वाचन जोड्दा राणाले पाँच पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । तीमध्ये दुई पटक विजयी र तीन पटक पराजित भएका छन् । तर पार्टीमा भने अत्यन्तै छोटो समयमा राणाले अधिकतम् सफलताको सिँडी चढेका छन् । ७८ को १४ औं महाधिवेशनवाट पार्टीको केन्द्रीय सदस्य बनेका राणा ८२ मा सम्पन्न विशेष महाधिवेशनवाट सहमहामन्त्री बनेका थिए । त्यसको ६ महिनापछि भएको १५ औं महाधिवेशनमा उनले २ हजार ३३० मतसहित महामन्त्री निर्वाचित भएका हुन् । अर्थ राज्यमन्त्रीदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्म २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राणा अर्थ राज्यमन्त्री बनेका थिए । सरकारमा जानुअघि उनले संसद्को अर्थ समितिमा रहेर काम गरिसकेका थिए । अर्थसम्बन्धी संसदीय काममा संलग्न रहँदा बैंक तथा वित्तीय संस्था, सहकारी र सार्वजनिक खरिदसम्बन्धी कानुनी विषयमा उनको भूमिका रहेको थियो । अर्थ राज्यमन्त्रीको जिम्मेवारीले उनलाई पार्टी संगठनबाहिर सरकारको आर्थिक प्रशासनमा काम गर्ने अवसर पनि दियो । २०७८ सालमा कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका राणा त्यसपछि पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहे । कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेपछि उनको संगठनात्मक जिम्मेवारी थपिएको थियो । १५औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएसँगै उनी पार्टीको केन्द्रीय नेतृत्वको महत्त्वपूर्ण तहमा पुगेका हुन् ।
सेयर बजारमा ४ अर्ब ७३ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै माउन्टेन इनर्जीको २५ करोड ९७ लाख, कुमारी बैंकको २५ करोड ३७ लाख, रिलाइन्स स्पिीनिङको १२ करोड र लक्ष्मी सनराइज बैंकको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा अधिकांश समूहगत सूचकमा गिरावट आएको छ । जीवन बीमा समूह सबैभन्दा बढी १.७७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूह सबैभन्दा बढी ०.५८ प्रतिशतले घटेको छ । जीवन बीमा समूहको सूचक २०६.४२ अंकले बढेर ११ हजार ८२५.३३ विन्दुमा पुगेको छ । निर्जीवन बीमा समूह ५०.५३ अंकले बढेर ९ हजार ४२०.१२ विन्दुमा पुगेको छ । बैंकिङ समूह १०.६५ अंकले बढेर १ हजार ५४३.२३ विन्दुमा कायम भएको छ । त्यस्तै, विकास बैंक समूह ३.०३ अंकले बढेर ५ हजार ४०३.३७ विन्दुमा पुगेको छ भने लगानी समूह ०.१२ अंकले बढेर ९३.६७ विन्दुमा कायम भएको छ । यता होटल तथा पर्यटन समूह ४०.१२ अंकले घटेर ६ हजार ८७०.५७ विन्दुमा झरेको छ । जलविद्युत् समूह १५.७५ अंकले घटेर ३ हजार ५१०.६९ विन्दुमा कायम भएको छ । उत्पादन तथा प्रशोधन समूह ४२.८१ अंकले घटेर १० हजार ५३२.१३ विन्दुमा झरेको छ । वित्त समूह ६.७९ अंकले घटेर २ हजार १८१.२७ विन्दुमा कायम भएको छ । त्यस्तै, लघुवित्त समूह ४.३८ अंक, अन्य समूह ९.२७ अंक र व्यापार समूह १२.९६ अंकले घटेका छन् । सामूहिक लगानी कोष समूहमा भने ०.१० प्रतिशतको गिरावट आएको छ । १३ समूहगत सूचकमध्ये पाँच समूह बढेका छन् भने आठ समूह घटेका छन् ।
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभा जिल्लाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योगलगायतका विद्युत् उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत आपूर्ति थप भरपर्दो र पर्याप्त भई स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा स्वास्थ्य संस्था, त्यस क्षेत्रमा रहेका कुटानीपिसानी मिल, घरेलु उद्योग लगायतले प्रत्यक्ष लाभ लिन सक्नेछन् । खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हाहियास्थित अस्पतालमा थ्रि फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको उपलब्धता, नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनले बताए । चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त क्षेत्रसम्म विद्युत् पुर्याउन ठेक्का प्रक्रिया अघि बढिसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पुर्याउने लक्ष्य रहेको छ । सङ्खुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै प्राधिकरणले विकट तथा दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् भने बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ । दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्राधिकरणको प्रयासले स्थानीय जनताको जीवनस्तर सुधार, स्वास्थ्य तथा शिक्षा सेवाको प्रभावकारी सञ्चालन र स्थानीय आर्थिक गतिविधिको विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरु
काठमाडौं । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कविहीन भएका थिए । जसमध्ये ६ जनाको परिवारलाई तत्कालको राहत प्रदान गरिएको हो । सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसकेका छन् । राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रहसमेत गरिएको छ । प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ । प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ ।
जर्मनीका लागि प्रस्तावित राजदूत जोशीः ‘कुटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु’
काठमाडौं । जर्मनीका लागि नेपाली राजदुतमा प्रस्तावित सरु जोशीले कुटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कुटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । संसदीय सुनुवाइ समितिको मंगलवारको बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताएकी हुन् । प्रस्तावित राजदूत जोशीले संयुक्त राष्ट्र संघमा करिव २१ वर्ष काम गरेको अनुभवलाई कुटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताइन् । उनले आफूले कुनैपनि गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्दै राष्ट्रसंघीय निकायमा गरेको कामले स्वार्थको द्वन्द्व नहुने दाबी गरिन् । उनले आफ्नो कुटनीतिक प्राथमिकताका रूपमा आर्थिक कुटनीति, पर्यटन प्रवद्र्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई अघि सारिन् । श्रम बजारको विषयमा उनले नेपाल र जर्मनीबीचको कन्सुलर सेवा र श्रम सम्झौतालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरिन् । दक्ष जनशक्ति पठाउने र नेपालमा रहेको जनशक्ति अभावलाई सम्बोधन गर्न निजी क्षेत्र र सरकारी निकायसँग समन्वय गरी कार्ययोजना बनाउने उनको भनाइ छ । जोशीले भनिन्, ‘कुटनीति भनेको केवल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो । फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि ग्रयाब गर्दै दुवै मुलुकको हित हुनेगरी परिणाममा लैजान केन्द्रित हुनेछु ।’ युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै उनले नेपालको जडीबुटीजन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानलमार्फत जोड्ने योजना पनि सुनाइन् ।
नेपाल टेलिकमले ल्यायो नयाँ अफर, ३५ रुपैयाँमै १०१ मिनेट कल
काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०८३ सार्वजनिक गरेको छ । कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेजसहितका आकर्षक सुविधा उपलब्ध गराएको हो । कम्पनीका अनुसार नयाँ अफरअन्तर्गत अल नेट भ्वाइस प्याकमा ३५ रुपैयाँदेखि २९९ रुपैयाँसम्मका प्याकेज उपलब्ध छन् । ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेट कल गर्न सकिनेछ । यी प्याकेजको समयावधि क्रमशः एक दिन, तीन दिन, सात दिन, ३० दिन र ३० दिन रहेको छ । त्यस्तै, कम्पनीले सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँ र १ हजार ४९९ रुपैयाँका प्याकेज पनि उपलब्ध गराएको छ । ६९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म सबै नेटवर्कमा असीमित कल, ३० जीबी डाटा र सबै नेटवर्कमा पठाउन सकिने २०० वटा एसएमएस उपलब्ध हुनेछन् । त्यस्तै, १ हजार ४९९ रुपैयाँको प्याकेजमा ३० दिनसम्म असीमित कल, ६०० जीबी डाटा र ३५० वटा एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमले पोस्टपेड प्रयोगकर्ताका लागि पनि विभिन्न भ्वाइस, डाटा तथा कम्बो प्याकेज उपलब्ध गराएको छ । पोस्टपेड ग्राहकले ३७३ रुपैयाँको मासिक शुल्कमा उपलब्ध हुने सेवासहित अन्य प्याकेज प्रयोग गर्न सक्नेछन् । कम्पनीले भ्वाइस तथा डाटा प्याकेजका अतिरिक्त बन्डल्ड प्याक, एडअन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याकेज र एफटीटीएच प्याकेजसमेत उपलब्ध गराएको छ । फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत विभिन्न प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन् । त्यस्तै, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np बाट पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।