भरतपुर अस्पतालमा पोष्टमार्टममा चुनौती, चार फरेन्सिक टोली परिचालन

काठमाडौं । भरतपुर अस्पतालले सयौंको संख्यामा शव प्राप्त भएपछि पोस्टमार्टम, पहिचान तथा आवश्यक जैविक नमुना संकलनलगायतका काम व्यवस्थापन गर्न चुनौती भएको जनाएको छ। अस्पतालले सीमित स्रोत–साधन र न्यून जनशक्तिबाट शव संरक्षण गर्न गाह्रो भएको जनाएको छ ।

अस्पतालले जिल्लामा रहेका मेडिकल कलेज, भेरी अस्पताल तथा काठमाडौं र पाल्पाका मेडिकल कलेजसँग समन्वय गरी थप फरेन्सिक विज्ञ व्यवस्थापन गरेको छ। 

भदौ १२ गतेदेखि चारवटा फरेन्सिक विज्ञ टोली गठन गरी परिचालन गरिएको अस्पतालले जनाएको छ।
टोलीले शव पहिचान तथा आवश्यक डीएनएलगायत जैविक नमुना संकलनको काम निरन्तर गरिरहेका छन्। त्यसैगरी, भदौ १३ गतेदेखि नमुना संकलन तथा अन्य चिकित्सकीय प्रक्रिया थप प्रभावकारी बनाउन सातजना थप चिकित्सकीय टोलीसमेत परिचालन गरिएको छ।

चितवनको उच्च तापक्रम र आद्रताका कारण शवमा हुने परिवर्तन तीव्र गतिमा भइरहेको भन्दै अस्पतालले शव संरक्षण, पहिचान, पोस्टमार्टम तथा नमुना संकलनको काममा थप चुनौती भएको जनाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति भरतपुर अस्पतालले दुःख व्यक्त गरेको छ।

बाढीपछि सुरक्षाकर्मीले नारायणी नदीबाट संकलन गरेका शवहरू अस्पतालमा ल्याएर संरक्षण, पहिचान तथा आवश्यक चिकित्सकीय प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, जिल्ला प्रशासन तथा अन्य प्रशासनिक निकाय, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग समन्वय तथा सहकार्य गर्दै प्रचलित चिकित्सकीय मापदण्ड र फरेन्सिक विधिअनुसार सम्पूर्ण प्रक्रिया यथासम्भव शीघ्र सम्पन्न गर्न अस्पताल निरन्तर क्रियाशील रहेको जनाएको छ।

गत बुधबार बिहान रसुवामा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतको स्थानमा ठूलो मात्रामा जनधनको क्षति गरेको छ । बाढीले बगाएर शवहरू नारायणी नदीमा पुर्याएको छ ।

Share News