विकासन्युज

सिलिगुडीको दिवाली एक्जिबिसनमा मोरङ उद्योग व्यापार संघको सहभागिता, के के भयो छलफल ?

काठमाडौं । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडीमा आयोजना गरिएको ‘दिवाली एक्जिबिसन (प्रदर्शनी)’मा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले सहभागिता जनाउँदै द्विपक्षीय व्यापारिक छलफल गरेका छन् । भारतको महिला उद्यमीहरूको प्रतिष्ठित संस्था ‘इन्डियन उमन्स इरा (आईडब्ल्यूई) बजार’ले कात्तिक १० र ११ गते सो प्रदर्शनी आयोजना गरेको हो । आईडब्ल्यूई बजारकी अध्यक्ष नेहा जैनको विशेष निमन्त्रणामा संघका अध्यक्ष साह प्रदर्शनीमा सहभागी थिए । उत्पादन अवलोकन तथा अनुभव आदानप्रदानप्रदर्शनीका क्रममा अध्यक्ष साहले त्यहाँका महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरू, हस्तकला, फेसन, दैनिक उपभोग्य वस्तुहरू तथा सेवामूलक स्टलहरूको स्थलगत अवलोकन गरेका थिए ।  सो अवसरमा उनले उद्यमीहरूको व्यावसायिक सिर्जनशीलता, उद्यमशीलता विकास र सीमापार बजारीकरणका विविध सम्भावनाहरूबारे प्रत्यक्ष कुराकानी गर्दै उत्पादनसम्बन्धी जानकारी तथा अनुभवहरू आदानप्रदान गरे ।  सीमावर्ती व्यापार र नेटवर्क विस्तारमा जोडछलफलका क्रममा अध्यक्ष साहले नेपालको औद्योगिक तथा व्यावसायिक विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मोरङ उद्योग व्यापार संघको ऐतिहासिक पृष्ठभूमि, वर्तमान गतिविधि र संस्थागत उद्देश्यहरूबारे जानकारी गराए । सीमावर्ती क्षेत्रका महिला उद्यमीहरूको व्यावसायिक सञ्जाल विस्तार गर्न र नेपाली तथा भारतीय बजारबीच सेतुको भूमिका निर्वाह गर्न संघ सदैव अग्रसर रहेको उनले बताए । साथै, संघद्वारा नियमित रूपमा आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको एक्स्पोमा सहभागी हुन उनले भारतीय महिला उद्यमीहरूलाई निमन्त्रणा दिए । यसबाट नेपाली महिला उद्यमीहरूको सञ्जाल विस्तार गर्न र नेपाली उत्पादनहरूको प्रवद्र्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 

नेपालभर सुरू भयो चेरी क्यूको डेलिभरी

काठमाडौं । गत नाइमा मोबिलिटी एक्सोपमा नेपाल आएको चेरी क्यू इलेक्ट्रीक एसयूभीको नेपालभर डेलिभरी सुरु भएको छ । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले एकसाथ देशका प्रमुख सहरहरुमा डेलिभरी सुरू गरेको हो । कम्पनीका अनुसार काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल, विराटनगरमा औपचारिक रूपमा डेलिभरी सुरू गरिएको छ । सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले एकपटकको फुचार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । चेरी क्यूमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउण्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी एडास सुविधाहरू रहेका छन् । आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयूभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ । चेरी क्यूले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आइएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ ।

२ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना धनुषाबाट पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुन विपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गरी उनलाई पक्राउ गरेको हो ।  २ अर्ब १६ करोडभन्दा बढीको अवैध कारोबारपक्राउ पर्नेमा जिल्ला धनुषाको सबेला नगरपालिका वडा नं. १२ स्थायी वतन भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन् । प्रहरीका अनुसार यादवले बाइनान्स आईडीमार्फत २,६९,११,३८८.५० युएसडी अर्थात नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ बराबरको कारोबार गरेको खुल्न आएको छ । कानूनी कारवाही प्रक्रियाजिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा पक्राउ परेका यादवलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा सोही संहिताको दफा २६२ (क) १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसूरमा कारवाही अगाडि बढाइएको छ ।  उनलाई सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अहिले आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रहरी भन्छ- आईजीपीको राजीनामाबारेको समाचार भ्रामक हो

काठमाडौं । नेपाल प्रहरीको संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने प्रहरीले स्पष्ट पारेको छ ।  प्रहरी प्रवक्ता अविनारायण काफ्लेले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन सधैं प्रतिबद्ध र जिम्मेवार रहेको बताएका छन् ।  केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू आएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’ पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम, नकारात्मकता र सुरक्षा जोखिम सिर्जना हुने प्रहरीले जनाएको छ ।  नागरिकको सेवामा समर्पित संस्थाप्रतिको विश्वास र सांगठनिक निष्ठामा असर पर्न सक्ने भन्दै यस्ता अपुष्ट, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गरिएको छ । सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित रहेको उल्लेख गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार वा अनावश्यक दबाबबाट विचलित नहुन भनिएको छ ।  प्रहरीका सकल दर्जाका कर्मचारीहरूलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिँदै प्रहरीले आम नागरिकलाई आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा मात्र विश्वास गर्न र जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्‍याउन अपिल गरेको छ । 

सोमपालको विस्फोटक अर्धशतकमा कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित

काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीको जितमा कप्तान सोमपालको प्रदर्शन निर्णायक बन्यो । विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६२ रनको विस्फोटक अर्धशतकीय पारी खेले। एनपीएलको पहिलो सिजनदेखि कर्णालीको कप्तानी सम्हाल्दै आएका सोमपालको यो पहिलो अर्धशतक हो ।  त्यस्तै, पवन सर्राफले १ चौका र ३ छक्काको मद्दतमा ३६ रन बनाए । सोमपाल र पवनबीच ६६ रनको महत्वपूर्ण अर्धशतकीय साझेदारी भयो, जुन टोलीको जितको मुख्य आधार बन्यो। यो साझेदारी पछि धरमराएको पारीलाई मध्यक्रमका ब्याटरहरूले सम्हालेका थिए ।  टोलीका लागि ओपनर अरिफुल इस्लामले ३२ रन बनाए भने गुल्सन झाले अविजित २८ र दीपक डुम्रेले २० रनको योगदान दिए । विराटनगर किंग्सतर्फबाट एञ्जेलो म्याथयुजले ४ ओभरमा २५ रन खर्चिंदै सर्वाधिक ३ विकेट लिए ।  त्यस्तै, चरिथ अशलंका, प्रतिस जिसी र कप्तान सन्दीप लामिछानेले समान १-१ विकेट हात पारे ।  यस जितसँगै कर्णाली याक्सले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। यता, विराटनगरले भने लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि पहिलो खेलमा विराटनगर चितवन राइनोजविरुद्ध ८ रनले पराजित भएको थियो । 

तीन दशकदेखि अलपत्र दमक-चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं । झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक-चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा-चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ ।  पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र रहेको यस सडक खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन दमकले प्रकाशित गरेको सूचनाअनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको छ ।  उक्त ठेक्काका लागि महालक्ष्मी-जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल रकमको बोलपत्र प्रारम्भिक रुपमा छनोट भएको छ । यो सडक खण्डको करिब २५‍‍‍‍.५ किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो ।  तर, मन्त्रालयले पटक–पटक ताकेता, पत्राचार तथा सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सम्झौताअनुसार ठेक्का अन्त्य गरिएको थियो । ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो । ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेपछि कानुनी निरूपणका कारण नयाँ ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको थियो ।  कानुनी प्रक्रिया तथा विभिन्न विवादको समाधान, स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने कार्य सम्पन्न गरी पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन् । नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएसँगै लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको छ ।  स्थानीयवासीका लागि वर्षौँदेखि सास्तीको विषय बनेको यो सडक राजनीतिक दलका चुनावी एजेन्डामा समेत पटक–पटक समेटिँदै आएको थियो । सरकारले प्रतिबद्धताअनुसार सडक निर्माण प्रक्रियालाई अघि बढाएको उल्लेख गर्दै मन्त्री लम्सालले लामो समयदेखि अलपत्र आयोजनालाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया पूरा गरिएको बताएका छन् ।  अब ठेक्का स्वीकृति तथा निर्माणसम्बन्धी बाँकी प्रक्रिया पूरा भएपछि सडक स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ । यो सडक कालोपत्रे गर्ने एजेन्डा प्रधानमन्त्री वालेन्द्र शाहको झापा-५को चुनावी प्रतिबद्धता पत्रमा समेत समावेश थियो ।

विराटनगरले कर्णालीलाई दियो १८७ को लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्न सफल भएको हो । ओपनर लोकेश बमले ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरेका हुन् । यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे । सोमपालले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

२ अर्ब बढीको क्रिप्टोकरेन्सीसहित एक युवक पक्राउ

काठमाडौं । २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले धनुषाको सबैला नगरपालिका– १२ का सुनीलकुमार यादवलाई पक्राउ गरेको हो । बाइनान्स आइडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८ युएसडिटी (२ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँ) बराबरको कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो ।  काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।