सिलिगुडीको दिवाली एक्जिबिसनमा मोरङ उद्योग व्यापार संघको सहभागिता, के के भयो छलफल ?

काठमाडौं । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडीमा आयोजना गरिएको ‘दिवाली एक्जिबिसन (प्रदर्शनी)’मा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले सहभागिता जनाउँदै द्विपक्षीय व्यापारिक छलफल गरेका छन् । भारतको महिला उद्यमीहरूको प्रतिष्ठित संस्था ‘इन्डियन उमन्स इरा (आईडब्ल्यूई) बजार’ले कात्तिक १० र ११ गते सो प्रदर्शनी आयोजना गरेको हो ।

आईडब्ल्यूई बजारकी अध्यक्ष नेहा जैनको विशेष निमन्त्रणामा संघका अध्यक्ष साह प्रदर्शनीमा सहभागी थिए । उत्पादन अवलोकन तथा अनुभव आदानप्रदानप्रदर्शनीका क्रममा अध्यक्ष साहले त्यहाँका महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरू, हस्तकला, फेसन, दैनिक उपभोग्य वस्तुहरू तथा सेवामूलक स्टलहरूको स्थलगत अवलोकन गरेका थिए । 

सो अवसरमा उनले उद्यमीहरूको व्यावसायिक सिर्जनशीलता, उद्यमशीलता विकास र सीमापार बजारीकरणका विविध सम्भावनाहरूबारे प्रत्यक्ष कुराकानी गर्दै उत्पादनसम्बन्धी जानकारी तथा अनुभवहरू आदानप्रदान गरे । 

सीमावर्ती व्यापार र नेटवर्क विस्तारमा जोडछलफलका क्रममा अध्यक्ष साहले नेपालको औद्योगिक तथा व्यावसायिक विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मोरङ उद्योग व्यापार संघको ऐतिहासिक पृष्ठभूमि, वर्तमान गतिविधि र संस्थागत उद्देश्यहरूबारे जानकारी गराए ।

सीमावर्ती क्षेत्रका महिला उद्यमीहरूको व्यावसायिक सञ्जाल विस्तार गर्न र नेपाली तथा भारतीय बजारबीच सेतुको भूमिका निर्वाह गर्न संघ सदैव अग्रसर रहेको उनले बताए ।

साथै, संघद्वारा नियमित रूपमा आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको एक्स्पोमा सहभागी हुन उनले भारतीय महिला उद्यमीहरूलाई निमन्त्रणा दिए ।

यसबाट नेपाली महिला उद्यमीहरूको सञ्जाल विस्तार गर्न र नेपाली उत्पादनहरूको प्रवद्र्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 

Share News