२ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना धनुषाबाट पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुन विपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गरी उनलाई पक्राउ गरेको हो । 

२ अर्ब १६ करोडभन्दा बढीको अवैध कारोबारपक्राउ पर्नेमा जिल्ला धनुषाको सबेला नगरपालिका वडा नं. १२ स्थायी वतन भएका २८ वर्षीय सुनिल कुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार यादवले बाइनान्स आईडीमार्फत २,६९,११,३८८.५० युएसडी अर्थात नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ बराबरको कारोबार गरेको खुल्न आएको छ ।

कानूनी कारवाही प्रक्रियाजिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा पक्राउ परेका यादवलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) तथा सोही संहिताको दफा २६२ (क) १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अन्तर्गतको कसूरमा कारवाही अगाडि बढाइएको छ । 

उनलाई सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अहिले आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Share News