विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री बैंकक प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्ईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । मंगलबार (आज) बेलुका वाग्ले बैंकक प्रस्थान गरेका हुन् । वाग्लेको प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी रहेका छन् । बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्ने सचिवालयले जनाएको छ । बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, द्विपक्षीय बैठकमा सन् २०२७ मा शक्ति राष्ट्रहरूको अन्तरसरकारी फोरम (जी २०) को अध्यक्षता गर्ने बेलायतका विदेश मन्त्रीसँग द्विपक्षीय भेटघाट एवं बहुपक्षीय कार्यक्रमहरूमा पनि उनी सहभागी हुने जनाइएको छ । उनले आर्थिक विषयहरूका साथै विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।
स्पेनमा नेपाली श्रमिकको अवस्था गम्भीर, कूटनीतिक पहल बढाउन पुनको आग्रह
काठमाडौं । स्पेनमा झन्डै ८० हजार नेपाली पुगे पनि अधिकांश गैरकानुनी र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले श्रमिक सुरक्षा तथा कन्सुलर सेवालाई चुस्त बनाउनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको छ । मंगलबार स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचनको सुनुवाइका क्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले स्पेनमा रहेका नेपालीहरू चरम श्रम शोषणमा परेको तथ्य औँल्याउँदै तत्काल कूटनीतिक पहलकदमी बढाउन आग्रह गरे । सांसद पुनका अनुसार स्पेन सरकार र नेपाली दूतावासको औपचारिक अभिलेखमा आठदेखि नौ हजार नेपाली मात्र दर्ता छन् । यद्यपि, पूर्वी युरोप हुँदै स्पेन प्रवेश गर्ने नेपालीहरूको यथार्थ सङ्ख्या ७० देखि ८० हजार पुगिसकेको अनुमान छ । यकिन तथ्याङ्कको अभाव र कागजातविहीन स्थितिका कारण नेपाली श्रमिकहरू गम्भीर श्रम शोषण तथा मानव तस्करीको चपेटामा पर्ने गरेको उनले बताए । तेस्रो मुलुकका दलालहरूले नेपालीहरूलाई कागजातविहीन बनाएर पाँचदेखि सात महिनासम्म बिनातलब खान मात्र दिएर काममा जोताएको पाइएको भन्दै उनले प्रस्तावित राजदूत शेरचनलाई कार्यभार सम्हालेपछि यस्ता समस्या समाधानमा केन्द्रित हुन सुझाव दिए । प्रस्तावित राजदूत शेरचनको संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय निकायमा लामो कार्यानुभव रहेको उल्लेख गर्दै पुनले उक्त अनुभवलाई स्पेनमा रहेका नेपाली श्रमिकको संरक्षण, द्विपक्षीय पर्यटन प्रवर्द्धन तथा वैदेशिक लगानी भित्र्याउन उपयोग गर्नुपर्ने बताए ।
निर्जीवन बीमकको विभिन्न क्षेत्रमा ६५ अर्ब बढी लगानी, कुन कम्पनीको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ लगानी गरेका हुन् । बीमा कम्पनीहरूले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गरेका छ । मुद्दति निक्षेपमा मात्रै कम्पनीहरूले ४४ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ६७.५५ प्रतिशत हिस्सा हो । निर्जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकहरूमा ३८ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, विकास बैंकहरूमा ४ अर्ब १४ करोड ७३ लाख रुपैयाँ र वित्त कम्पनीमा १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् । त्यसैगरी, बीमा कम्पनीहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा १ अर्ब १० करोड ७३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब २३ करोड ६३ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छ । त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा २ अर्ब १६ करोड ५८ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३४ करोड ७३ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ८ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् । बीमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत विकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब ३६ करोड ट लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब ३ करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन् । कुन कम्पनीको कति लगानी ? प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन् । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७ अर्ब ५ करोड ६८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, नेको इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ५ अर्ब ८२ करोड लगानी गरेका छन् । प्राधिरकणको तथ्यांकअनुसार विभिन्न क्षेत्रमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ७६ करोड, नेपाल इन्स्योरेन्सले ५ अर्ब ४० करोेड, हिमालयन एभरेष्टले ५ अर्ब २७ करोड, शिखर इन्स्योरेन्सले ४ अर्ब ९९ करोड, आइजिआई प्रुडुन्सियलले ४ अर्ब २८ करोड, युनाइटेड अजोडले ४ अर्ब ९ करोड र ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्सले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब २ करोड, नेशनल इन्स्योरेन्सले ३ अर्ब ५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् ।
राष्ट्रपतिद्वारा वन र भूमिसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले दुवै अध्यादेश जारी भएको जानकारी दिएका छन् ।
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । खतिवडा २ हजार ९१९ र सिवाकोटी २ हजार १७२ मत प्राप्त गरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार खुलातर्फ सहमहामन्त्रीमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए । डिल्लीराम सुवेदीले एक हजार ८५१, देवेन्द्रराज कँडेलले एक हजार ३८२, राजीव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९, अमृतकुमार अर्यालले एक हजार ३९, रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरेका छन् । कांग्रेसका खुलाबाट दुईवटा सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । सहमहामन्त्रीका लागि सात हजार ४५ मत खसेको समितिले जनाएको छ ।
दशैं–तिहारमा बन्दीपुर हिलमा ९ दिने ‘बन्दीपुर फेस्ट’, प्रवेश निःशुल्क
काठमाडौं । दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । तनहुँको बन्दीपुरस्थित केबलकारको लोअर स्टेसनमा दुई चरणमा आयोजना हुने महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि र पारिवारिक मनोरञ्जनका कार्यक्रम समावेश गरिनेछ । कम्पनीका अनुसार महोत्सवको पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ । दुवै चरणमा गरी नौ दिनसम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । महोत्सवमा स्थानीय परिकारको स्वाद लिनुका साथै रमाइला खेल, सांस्कृतिक प्रस्तुति र बालबालिकाका लागि विशेष गतिविधिमा सहभागी हुन सकिनेछ । बालबालिकालाई लक्षित गरी किड्स जोनसमेत राखिने कम्पनीले जनाएको छ । त्यस्तै, महोत्सवमा सहभागी हुनेले केबलकार, जिपलाइन, स्काई साइकलिङलगायतका गतिविधिको अनुभव लिन सक्नेछन् । स्थानीय संस्कृति, खानपान र साहसिक मनोरञ्जनलाई एकै ठाउँमा समेटेर बिदा मनाउन चाहने परिवार तथा यात्रुलाई लक्षित गरी महोत्सव आयोजना गर्न लागिएको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुर हिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, खानपान र साहसिक गतिविधिसँग जोड्न महोत्सवले सहयोग गर्नेछ । कार्यक्रम संयोजक सुरज राईले महोत्सव सबैका लागि खुला रहने र प्रवेश शुल्क नलाग्ने जानकारी दिए । स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा सहभागी गराउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए । दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुर हिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपनसमेत वितरण गर्ने जनाएको छ । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव, केबलकार तथा अन्य मनोरञ्जनका सुविधा उपलब्ध गराउँदै आएको बन्दीपुर हिलले महोत्सवमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरेको छ ।
नेपाल एयरलाइन्समा पावर बैंक बोक्न प्रतिबन्ध
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ । नेपाल एयरलाइन्सले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूका लागि मोबिकिङ एमके–पीबी–०४ मोडलको पावर बैंक लैजान रोक लगाइएको हो । भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरअनुसार यस्तो रोक लगाइएको हो । भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने सम्पूर्ण उडानहरूमा यो पावर बैंक बोक्न पूर्ण रूपमा प्रतिबन्धित गरिएको हो । यसै नियमलाई ध्यानमा राख्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हवाई यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई यात्रा गर्दा पावर बैंक साथमा नबोक्न नेपाल वायुसेवा निगमले आग्रह गरेको हो । जारी सूचनामा भनिएको छ, ‘भारतको नागरिक उड्डयन महानिर्देशानालयको वैमानिक सूचना परिपत्रअनुसार मोबिकिङ एमके–पीबी–०४ पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन–ह्यान्ड ब्याग, चेक इन ब्यागेज वा कार्गोको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको जानकारी गराउँदछौं ।’ केही दिनअघि मात्र भारतको राजधानी दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोटपछि आगो लागेको थियो । सोही घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले यस्तो सर्कुलर जारी गरेको हो । उडानका क्रममा पावर बैंकबाट अन्य उपकरण चार्ज गर्न रोक लगाउन पनि डीजीसीएले सिफारिस गरेको थियो ।
खाद्य तथा औषधी प्राधिकरण स्थापनाबारे मन्त्रालयमा छलफल
काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधीको नियमनलाई थप प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना तथा सञ्चालनसम्बन्धी छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार (आज) सम्पन्न बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना र नियामक जिम्मेवारीबारे छलफल भएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थितिमा भएको बैठकमा प्राधिकरणको वित्तीय मोडेल तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा समेत विचारविमर्श गरिएको मन्त्रालयले जनाएको छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर र औषधीको नियमनलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन प्रस्तावित प्राधिकरणको भूमिका, विद्यमान नियामक निकायबीचको समन्वय तथा आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । बैठकमा मन्त्रालयका महाशाखा प्रमुखहरू, औषधी व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, सम्बन्धित शाखाका अधिकारी तथा सरोकारवालाका प्रतिनिधिहरू सहभागी थिए ।