काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ लगानी गरेका हुन् ।
बीमा कम्पनीहरूले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा लगानी गरेका छ । मुद्दति निक्षेपमा मात्रै कम्पनीहरूले ४४ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ६७.५५ प्रतिशत हिस्सा हो ।
निर्जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकहरूमा ३८ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, विकास बैंकहरूमा ४ अर्ब १४ करोड ७३ लाख रुपैयाँ र वित्त कम्पनीमा १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।
त्यसैगरी, बीमा कम्पनीहरूले सरकारी बचतपत्र तथा ऋणपत्रमा १ अर्ब १० करोड ७३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब २३ करोड ६३ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छ ।
त्यस्तै, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा २ अर्ब १६ करोड ५८ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३४ करोड ७३ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ८ करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् ।
बीमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत विकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब ३६ करोड ट लाख रुपैयाँ र अन्य क्षेत्रमा २ अर्ब ३ करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन् ।
कुन कम्पनीको कति लगानी ?
प्राधिकरणको तथ्यांकअनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन् । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७ अर्ब ५ करोड ६८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, नेको इन्स्योरेन्सले विभिन्न क्षेत्रमा ५ अर्ब ८२ करोड लगानी गरेका छन् ।
प्राधिरकणको तथ्यांकअनुसार विभिन्न क्षेत्रमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ७६ करोड, नेपाल इन्स्योरेन्सले ५ अर्ब ४० करोेड, हिमालयन एभरेष्टले ५ अर्ब २७ करोड, शिखर इन्स्योरेन्सले ४ अर्ब ९९ करोड, आइजिआई प्रुडुन्सियलले ४ अर्ब २८ करोड, युनाइटेड अजोडले ४ अर्ब ९ करोड र ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् ।
त्यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्सले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब २ करोड, नेशनल इन्स्योरेन्सले ३ अर्ब ५ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् ।
