प्रतिआना साढे ३ लाखमा गौतम श्री सहकारीको जग्गा बिक्रीमा

फाइल फोटो

काठमाडौं । समस्याग्रस्त गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको जग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा-५ मा रहेको जग्गाको ५० प्रतिशत हकहिस्सा लिलाम बिक्री गर्न लागेको हो ।

समितिका अनुसार कित्ता नम्बर १०४८ को १ रोपनी ८ आना २ पैसा १ दाम क्षेत्रफल रहेको जग्गाको ५० प्रतिशत हकहिस्सा बिक्रीमा राखिएको छ । उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ३ लाख ६० हजार रुपैयाँ तोकिएको छ । सोअनुसार जग्गाको कुल न्यूनतम मूल्य ४४ लाख २१ हजार २५ रुपैयाँ कायम गरिएको छ । समितिले उक्त जग्गा भिरालो रहेको जनाएको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्था तथा संघको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको जिम्मेवारी सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समितिमा रहेको छ । समस्याग्रस्त सहकारी संस्था, ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट तिर्नुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक गर्न पटक-पटक सूचना जारी गरिए पनि दायित्व भुक्तानी नभएपछि संस्थाको नाममा रहेको जग्गा लिलाम बिक्री गर्न लागिएको समितिले जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० बमोजिम जग्गाको चलनचल्तीको न्यूनतम मूल्य कायम गरी लिलाम बिक्रीको प्रक्रिया अघि बढाइएको हो । समितिले जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्तालाई ३५ दिनभित्र बोलपत्र पेस गर्न आह्वान गरेको छ । बोलपत्र न्यूनतम मूल्यभन्दा कम नहुने गरी पेस गर्नुपर्ने समितिले जनाएको छ । 

Share News