राष्ट्र बैंकका १६१ कर्मचारीले भन्दैछन्- 'बाईबाई एनआरबी'

राष्ट्र बैंकलाई ‘ब्रेन ड्रेन’ को चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकको एउटा पुस्ता यतिबेला बिदाइको संघारमा छ । तीन दशकअघि केन्द्रीय बैंकमा प्रवेश गरेका कर्मचारी पुस्ता अब एकपछि अर्को गर्दै सेवाबाट बाहिरिँदैछन् । चालु आर्थिक वर्ष २०८३/८४ मा मात्रै राष्ट्र बैंकका करिब १६१ कर्मचारी अनिवार्य अवकाशमा जाने भएका हुन् ।

राष्ट्र बैंकको इतिहासमै एकै आर्थिक वर्षमा यति ठूलो संख्यामा कर्मचारी अवकाशमा जान लागेको यो पहिलोपटक भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । 

राष्ट्र बैंकका अनुसार १६१ जना कर्मचारीमध्ये १४१ जना २०५३ मा प्रवेश गरेका र बाँकी कर्मचारी अन्य समयमा प्रवेश गरेर विभिन्न कारण अवकाशमा जान लागेका हुन् ।

सबैभन्दा ठूलो लट भने कात्तिकमा बाहिरिँदैछ । कात्तिकमा मात्रै करिब ७४ जना कर्मचारी अवकाशमा जानेछन् । त्यसपछि माघमा १५-२० जनाको हाराहारीमा र बाँकी कर्मचारी चैत तथा अन्य महिनामा सेवाबाट बाहिरिनेछन् । यसरी हेर्दा चालु आर्थिक वर्षमा राष्ट्र बैंकबाट सहायकदेखि कार्यकारी निर्देशकसम्मका विभिन्न तहका कर्मचारीको ठूलो समूह बाहिरिँदैछ ।

राष्ट्र बैंकमा अहिले देखिएको अवकाशको ठूलो लहरको मुख्य कारण २०५३ सालमा भएको ठूलो संख्याको कर्मचारी भर्ना हो । त्यतिबेला काठमाडौंसहित देशभरका विभिन्न शाखामा चरणबद्ध रूपमा २ सय हाराहारी कर्मचारी नियुक्त भएका थिए । काठमाडौंमा एउटा लट माघमा २१ जना र अर्काे लट चैतमा ९६ जना कर्मचारी भर्ना गरिएको थियो भने बाँकी काठमाडौं बाहिरबाट विभिन्न चरणमा १ सय जना हाराहारी कर्मचारी भर्ना गरिएको थियो । 

राष्ट्र बैंकका उच्च अधिकारीका अनुसार २०५३ सालमा भर्ना भएका कर्मचारीमध्ये चालु आवमा १४१ जना यही आर्थिक वर्षमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।

‘एकैपटक ठूलो संख्यामा कर्मचारी प्रवेश गरेकाले अहिले उनीहरू पनि ठूलो संख्यामै बाहिरिनुपर्ने अवस्था आएको हो,’ उनले भने । 

राष्ट्र बैंकमा कर्मचारीको अवकाश एउटै आधारमा हुँदैन । कर्मचारी कुन तहमा छन् र कहिले सेवा प्रवेश गरेका हुन् भन्ने आधारमा अवकाशको समय फरक हुन्छ । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावलीअनुसार सामान्य कर्मचारीका लागि दुईवटा प्रमुख अवकाशका आधार छन्- एउटा ५८ वर्षको उमेर हद र अर्काे ३० वर्षको सेवा अवधि । यीमध्ये जुन आधार पहिला पूरा हुन्छ, त्यहीअनुसार कर्मचारी अवकाशमा जान्छन् ।

उदाहरणका लागि २० वर्षको उमेरमा राष्ट्र बैंक प्रवेश गरेको कर्मचारीले ३० वर्ष सेवा पूरा गर्दा ५० वर्षको मात्रै हुन्छ । यस्तो कर्मचारीले ५८ वर्षसम्म कुर्नुपर्दैन । ३० वर्ष सेवा पूरा गरेपछि अवकाशमा जानुपर्छ । तर ३५ वर्षको उमेरमा राष्ट्र बैंक प्रवेश गरेको कर्मचारीले ३० वर्ष सेवा पूरा गर्नुअघि नै ५८ वर्ष पुग्छ । यस्तो अवस्थामा २३ वर्ष सेवा गरेपछि नै उमेर हदका कारण अवकाश लिनुपर्छ ।

राष्ट्र बैंकमा कर्मचारीको तह बढ्दै जाँदा अवकाशका आधार पनि थपिन्छन् । कार्यकारी निर्देशकका लागि ५८ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधिसँगै कार्यकारी निर्देशक भएको सात वर्ष पूरा भएपछि अवकाश हुने व्यवस्था छ । यसको अर्थ कुनै कर्मचारी ५७ वर्षको उमेरमा कार्यकारी निर्देशक भए पनि एक वर्षपछि ५८ वर्ष पुग्दा अवकाशमा जानुपर्ने हुन्छ ।

अर्कोतर्फ कुनै कर्मचारी ३० वर्ष सेवा पूरा गरेपछि पनि कार्यकारी निर्देशकको सात वर्षे अवधि बाँकी छ भनेर बसिरहन पाउँदैन ।

निर्देशक पदका लागि पनि ५८ वर्षको उमेर हद र ३० वर्षे सेवा अवधिसँगै निर्देशक पदमा १२ वर्ष पूरा भएपछि अवकाश हुने व्यवस्था कर्मचारी विनियमावलीमा छ । राष्ट्र बैंकका अधिकारीहरूका अनुसार माथिल्लो तहका पद संख्या सीमित हुने भएकाले लामो समय एउटै पदमा रहेर माथिल्लो तहमा जाने अवसर रोक्न नदिन यस्तो व्यवस्था गरिएको हो । 

चालु आर्थिक वर्षमा मात्रै ८ जना कार्यकारी निर्देशक अवकाशमा जाने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन् । उपलब्ध विवरणअनुसार कार्यकारी निर्देशकहरू रेवती प्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा पंगेनी, रामशरण खरेल, राजनविक्रम थापा, राजेन्द्र भट्टराई, मुक्तिनाथ सापकोटा क्रमशः अवकाशमा जाने क्रममा छन् ।

ठूलो संख्यामा कर्मचारी अवकाशमा जाँदा स्वाभाविक रूपमा संस्थागत कामकारवाहीमा असर पर्न सक्ने चिन्ता राष्ट्र बैंकभित्र छ । एक कार्यकारी निर्देशकका अनुसार ईडी मात्रै मात्रै एक वर्षमा ८ जनासम्म कर्मचारी बाहिरिने अवस्था रहँदा कामकारवाहीमा प्रभाव पर्नु स्वाभाविक हो ।

‘छोटो अवधिमै धेरै कर्मचारी नीतिगत तहमा पुग्नुपर्ने अवस्था आएको छ । अनुभवी कर्मचारी उमेरमै बाहिरिनुपर्ने भयो ।

सहायक तहबाट आएका कर्मचारीलाई एकैपटक विशिष्ट तहमा पुर्याउन पनि सम्भव हुँदैन,’ ती अधिकारी भन्छन्, ‘तल्लो तहमा पर्याप्त समय काम नगरेका कर्मचारी माथिल्लो तहमा पुग्दा निर्णय प्रक्रियामा आवश्यक परिपक्वता विकास गर्न समय लाग्न सक्छ ।’ 

राष्ट्र बैंकमा कर्मचारी कहिले नियुक्त भए, कहिले ३० वर्ष सेवा पुग्छ, कहिले ५८ वर्ष उमेर पुग्छ र कुन तहमा कति समय रहन्छ भन्ने विवरण संस्थागत रूपमा गणना गरेर राखिएको हुन्छ । यसै आधारमा राष्ट्र बैंकले हरेक पाँच वर्षमा मानव संसाधन योजना अर्थात् एचआर प्लान बनाउने गर्छ । 

हाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ देखि २०८४/८५ सम्मलाई समेटेर मानव संसाधन योजना बनाएको छ । २०८३ मा ठूलो संख्यामा कर्मचारी अवकाशमा जाने विषयलाई पनि उक्त योजनामा समेटिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ‘अवकाश हुने कर्मचारीको संख्या पहिले नै थाहा हुन्छ । त्यसैअनुसार कुन वर्ष कति पद रिक्त हुन्छ र कहिले कर्मचारी भर्ना गर्ने भन्ने योजना बनाइएको हुन्छ,’ एक उच्च अधिकारीले भने । 

त्यसैले नियमित अवकाशलाई राष्ट्र बैंकले कर्मचारी व्यवस्थापनकै एउटा नियमित प्रक्रियाका रूपमा लिएको छ । ठूलो संख्यामा कर्मचारी अवकाशमा जान लागे पनि नयाँ जनशक्ति भर्नाको प्रक्रिया रोकिएको छैन । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा नयाँ दरबन्दी र कर्मचारी नियुक्तिको योजना छ । चालु आर्थिक वर्षमा करिब ८० जना नयाँ कर्मचारी नियुक्त गर्ने योजना रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । यसमा आन्तरिक प्रतिस्पर्धा र बाह्य स्रोत दुवैबाट कर्मचारी ल्याउने योजना छ ।

हाल राष्ट्र बैंकमा १ हजार ३०१ जनाको दरबन्दी कायम छ । कर्मचारीको आकारलाई पुनर्संरचना गर्ने क्रममा डेपुटी डाइरेक्टरको दरबन्दी करिब ४० वटासम्म घटाउने योजना पनि रहेको उनी बताउँछन् । 

राष्ट्र बैंकमा अवकाशमा जाने कर्मचारीले सेवाबाट औपचारिक रूपमा बाहिरिनुअघि एक महिना अनिवार्य बिदा बस्नुपर्ने व्यवस्था छ । त्यसैले कात्तिक ११ गते अवकाश हुने कर्मचारीहरू अहिले नै बिदामा बसिसकेका छन् भने कात्तिक १६ गते अवकाश हुने कर्मचारी असोज १६ गतेदेखि बिदामा बस्दैछन् । 

राष्ट्र बैंकभित्र अवकाश प्रणाली योजनाबद्ध भए पनि लामो समय संस्थामा काम गरेका अनुभवी कर्मचारी भने सेवा अवधि केही थप गर्न पाए सहज हुने धारणा राख्छन् । विशेषगरी ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधिको विषयमा पछिल्लो समय बहस भइरहेको छ । निजामती सेवा विधेयकमार्फत सेवा अवधिसम्बन्धी व्यवस्था परिवर्तन भए त्यसको प्रभाव राष्ट्र बैंकमा पनि पर्न सक्ने अपेक्षा केही कर्मचारीको छ ।

एक कार्यकारी निर्देशकका अनुसार अहिले केही कर्मचारी ५५ वर्ष पुगेका छैनन् र ३० वर्ष सेवा अवधि पनि पूरा गरेका छैनन् । प्रस्तावित व्यवस्थाले निरन्तरता पाए त्यस्ता १०-१५ जना अनुभवी कर्मचारीले थप केही वर्ष काम गर्न सक्ने अवस्था बन्न सक्छ ।

‘एकैपटक सबै अनुभवी कर्मचारी बाहिरिँदा नयाँ पुस्ता आउँछ । नयाँ पुस्ताका आफ्नै राम्रा-नराम्रा पक्ष हुन्छन् । तर केन्द्रीय बैंकमा नीतिगत निर्णयका लागि अनुभव आवश्यक हुन्छ,’ उनले भने । 

Share News