क्याबिनेटमा छिरेका तीन जनाको अनुहार बालेनलाई मन नपरेपछि...

सहकारी प्राधिकरणको अध्यक्ष नियुक्तिमा जालझेल, सिफारिस भइसकेका उम्मेदवार ‘डिसमिस’

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले बैशाख २६ गते दरखास्त आह्वान गर्यो । सोही सूचनाअनुसार अध्यक्षका लागि ८ जनाले आवेदन दिए ।

प्राधिकरणका अनुसार रघुराम विष्ट, अशोकप्रसाद पौडेल, विशवराज बराल गणेशप्रसाद गौतम, सूर्यप्रसाद थापा, नारायण पराजुली, सीता ढुङ्गाना र सरोजकुमार शर्माले अध्यक्षका लागि आवेदन दिएका हुन् ।

जेठ १२ गते एउटा सूचना जारी गर्दै अध्यक्ष सिफारिस समितिले ८ जनामध्ये पाँच जनाको स्वीकृत भएको र तीन जनाको आवेदन रद्द गरेको जानकारी दियो । आवेदन रद्द हुनेमा नारायण पराजुली, सीता ढुङ्गाना र सरोजकुमार शर्मा थिए । 

सिफारिस समितिका एक सदस्यले त्यतिबेला विकासन्युजसँग भनेका थिए, ‘अध्यक्षका लागि उनीहरूको योग्यता पुगेन, त्यसकारण तीन जनाको आवेदन रद्द गर्यौं । 

null

त्यसको एक सातापछि अर्थात जेठ १९ गते सिफारिस समितिले आवेदन स्वीकृत भएका पाँचैजनालाई सर्टलिष्टमा राख्दै जेठ २२ र २३ गतेका लागि प्रस्तुति तथा अन्तर्वार्ताको मिति तय गर्यो । सोही तालिका अनुसार प्रस्तुतिकरण र अन्तर्वार्ता पनि सम्पन्न भयो ।

लोकसेवा आयोग अध्यक्ष संयोजक रहेको सिफारिस समितिले जेठ २५ गते तीन जनाको नाम भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस पनि गर्यो । 

विकासन्युजलाई प्राप्त सूचना अनुसार सिफारिस हुनेको पहिलो नम्बरमा सूर्यप्रसाद थापा, दोस्रोमा रघुराम विष्ट र तेस्रोमा अशोककुमार पौडेल थिए । सिफारिस समितिबाट सिफारिस भएअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रिपरिषद् बैठकमा तीनै जनाको नाम पेस गरिन् । 

nullअध्यक्षका लागि आवेदन दिएका रघुराम विष्ट नेपाल सरकारका पूर्वसचिव हुन् भने पौडेलको नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, थापा नागरिक लगानी कोषका पूर्वअध्यक्ष हुन् ।

मन्त्रीबाट तीन जनाको नाम पेस भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले तीनै जनाको प्रोफाइल हिस्ट्री अर्थात् व्यक्तित्व अन्वेषणमा लाग्यो । प्रधानमन्त्री कार्यालयका एक उच्च स्रोतका अनुसार सचिवालयले तीनै जनामा खोट देख्यो । त्यो खोट थियो– राजनीतिक आवद्धता । 

सचिवालयले तीनै जना उम्मेदवार एमाले र तत्कालीन माओवादी केन्द्र निकट रहेर काम गरिसकेको देखिएपछि प्रधानमन्त्रीले तिनै जनाको नाम अगाडि बढाउन अस्वीकार गरे । अर्थात् तीन जनामध्येबाट कुनैलाई पनि प्राधिकरणको अध्यक्ष बनाउन नसकिने जवाफ दिँदै फेरि प्रारम्भिक चरणबाट प्रक्रिया थाल्न मन्त्री रावललाई निर्देशन दिए ।

सोही समयमा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी अनिवार्य अवकासमा घर फर्किए । आयोगका कार्यवाहक अध्यक्ष बने माधव बेल्बासे । त्यसैले पनि मन्त्रालयलाई फेरि नयाँ ढंगबाट काम गराउन सहज भएको स्रोतको भनाइ छ ।

सिफारिस हुने तीनै जनाले आफू सिफारिसमा परेको सूचना पाइसकेका थिए । तर, लामो समयसम्म नियुक्तिको प्रक्रिया अगाडि नबढेपछि उनीहरु मन्त्रालयमा आफू निकटका कर्मचारीसँग सोधखोजमा लागे । उनीहरूले थप सूचना पाए– ‘पूरानो प्रक्रिया रद्द गरेर नयाँ दरखास्त आह्वान गरिँदैछ ।

पुरानो प्रक्रिया रद्द नगरी नयाँ दरखास्त आव्हान

असारमा लोकसेवा आयोगको कार्यवाहक अध्यक्ष बने माधव बेल्बासे । उनको नेतृत्वमा अर्को सिफारिस समिति बन्यो । सोही समितिले कात्तिक १९ गते अर्को दरखास्त आह्वान गर्यो । तर, आवेदकलाई कुनै जानकारी तथा पहिलो दरखास्त रद्द भएको जानकारी नदिई दोस्रो सूचना सार्वजनिक भयो ।

null

सिफारिस भएका तीनै जनाले सरकारले आफूहरूमाथि अन्याय गरेको गुनासो गरेका छन् । सिफारिसको पहिलो नम्बरमा रहेका सूर्यप्रसाद थापाले विकासन्युजसँग भने, ‘हामीलाई कुनै पनि जानकारी नदिई प्रक्रिया रद्द गर्नु अन्याय भयो, सुशासन, पारदर्शिता र प्रतिस्पर्धाको नारा लगाउने बालेन सरकारको व्यवहार र कार्यशैली पनि बुझियो ।’

अर्का उम्मेदवार रघुराम विष्ट र अशोकप्रसाद पौडेलले पनि खुला प्रतिस्पर्धाको नाममा सरकारले अनुहार हेरेर काम गर्ने गरेको अनुभव भएको धारणा राखे । यस विषयमा जानकारी लिन खोज्दा सिफारिस समितिका संयोजक बेल्बासेसहित कुनै पनि सदस्यले कुरा खोल्न चाहेनन् ।

तर, सहकारी प्राधिकरणले भने आफ्नो सचिवालयको काममात्रै भएकोले यसको प्रक्रियाको बारेमा जानकारी नभएको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले विकासन्युजसँग भने, ‘निर्णय प्रक्रियामा प्राधिकरणको कुनै पनि भूमिका हुँदैन, हामीले सचिवालयको काममात्रै गर्ने हो । अहिले सबै काम लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले गरिरहनु भएको छ ।’

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी कृष्ण गिरीले पनि पूरानो सूचना रद्द गरेर नयाँ दरखास्त सार्वजनिक भएको आफूलाई जानकारी भए पनि के कारणले भयो भन्ने विषयमा अनभिज्ञ भएको प्रतिक्रिया दिए ।

कार्यवाहक अध्यक्ष बेल्बासे संयोजक रहेको सिफारिस समितिले कात्तिक १९ गते दरखास्त आव्हान गरेर मंसिर ३ गतेसम्मका लागि समय दिएको थियो । मंसिर ३ गतेसम्म ६ जनाले आवेदन दिएका छन् । प्राधिकरणले ६ जनालाई नै सर्टलिष्टमा राखेर व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा अन्तर्वार्ताको सूचना सार्वजनिक गरिसकेको छ ।

null

प्राधिकरणको अध्यक्षका लागि त्रिलोचन घिमिरे, डा. रमेश चौलागाईं, रोशन कुमार अधिकारी, रोशन बहादुर शाक्य, विश्वराज बराल र समता पन्तले दरखास्त दिएका छन् । बरालले यसअघि पनि आवेदन  दिएका थिए भने अहिले पनि दिएका छन् । उनीबाहेक पुराना कुनै पनि उम्मेदवारले अहिले आवेदन दिएका छैनन् । समितिले मंसिर २४ गतेका लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको लागि बोलाएको छ । 
 

Share News