काठमाडौं । हुण्डी कारोबार अब परम्परागत रूपमा नगद रकम सीमापार ओसारपसार गर्ने अनौपचारिक माध्यममा मात्र सीमित छैन । प्रविधिको विकाससँगै यसको स्वरूप पनि बदलिँदै गएको छ । विभिन्न व्यक्तिका नाममा खोलिएका बैंक खाता, डिजिटल भुक्तानी प्रणाली, क्रिप्टोकरेन्सी, व्यापारिक कारोबार र विप्रेषण सेवामा संलग्न सबएजेन्टमार्फत हुण्डीको सञ्जाल विस्तार भइरहेको तथ्यले नेपालको वित्तीय प्रणालीमा नयाँ चुनौती थपिएको छ ।
नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू-नेपाल) ले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ः हुण्डी’ ले यस्तो बदलिँदो प्रवृत्तिलाई उजागर गरेको छ । प्रतिवेदनअनुसार हुण्डीसम्बन्धी शङ्कास्पद कारोबारमा विशेषगरी २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति, खुद्रा व्यापारी र विप्रेषण कारोबारमा संलग्न सबएजेन्ट बढी जोडिएका छन् । सीमावर्ती क्षेत्रका बासिन्दा तथा विभिन्न पेसामा आबद्ध व्यक्तिको उपस्थितिले पनि यस कारोबारको दायरा फराकिलो बन्दै गएको सङ्केत गरेको छ ।
वित्तीय जानकारी इकाईको गोएएमएल प्रणालीमा सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधिसम्बन्धी विवरणको विश्लेषण गर्दा कुल १५ हजार ८१५ प्रतिवेदनमध्ये एक हजार ६७२ वटा अर्थात् १०.५७ प्रतिशत हुण्डीसँग सम्बन्धित रहेको पाइएको छ । औपचारिक वित्तीय प्रणालीमा पहिचान भएका शङ्कास्पद कारोबारमध्ये उल्लेख्य हिस्सा हुण्डीसम्बन्धी हुनुले यसको जोखिमलाई सामान्य अनौपचारिक आर्थिक गतिविधिका रूपमा मात्र हेर्न नमिल्ने देखाएको छ ।
प्रतिवेदनले हुण्डीलाई कुनै व्यक्ति वा संस्थाको कसुर प्रमाणित गर्ने आधारका रूपमा नभई कारोबारको प्रवृत्ति, संलग्न समूह र सम्भावित वित्तीय जोखिम पहिचान गर्ने विश्लेषणका रूपमा प्रस्तुत गरेको छ । यसले अवैध रूपमा आर्जित सम्पत्ति शुद्धीकरणदेखि आतङ्ककारी गतिविधिमा वित्तीय लगानीसम्म हुन सक्ने जोखिमप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बैंकिङ प्रणालीमै देखिन थाल्यो हुण्डीको जोखिम
हुण्डी कारोबारको बदलिँदो स्वरूपको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको औपचारिक वित्तीय प्रणालीसँग बढ्दो सम्बन्ध हो । विगतमा नगद रकम ओसारपसार र दुई पक्षबीच आपसी हिसाब मिलान गरेर कारोबार फर्स्यौट गर्ने अभ्यास बढी देखिन्थ्यो । अहिले भने बैंक खाता, डिजिटल भुक्तानी प्रणाली र विभिन्न व्यावसायिक माध्यमसमेत यसको कारोबारमा प्रयोग हुन थालेका छन् ।
एफआईयू-नेपालले प्राप्त गरेका हुण्डीसम्बन्धी एक हजार ६७२ शङ्कास्पद कारोबार प्रतिवेदनमध्ये वाणिज्य बैंकबाट मात्रै एक हजार ५०३ वटा प्राप्त भएका छन् । यो कुल प्रतिवेदनको ८९.८९ प्रतिशत हो । विकास बैंकबाट १२०, वित्त कम्पनीबाट २८, विप्रेषण कम्पनीबाट १३ तथा भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकबाट आठ वटा प्रतिवेदन प्राप्त भएका छन् ।
यसले हुण्डीको जोखिम बैंकिङ प्रणालीभन्दा बाहिर मात्र नरहेको देखाउँछ । बरु बैंक तथा वित्तीय संस्थामार्फत हुने कारोबारमै शङ्कास्पद गतिविधि पहिचान हुन थालेको छ । विभिन्न व्यक्तिका नाममा खोलिएका खाता प्रयोग गर्ने, नगद कारोबारको कानुनी सीमा छल्न रकमलाई साना भागमा विभाजन गरी जम्मा गर्ने र व्यापारिक कारोबारको आवरणमा रकमको वास्तविक स्रोत लुकाउने प्रवृत्ति यसका प्रमुख विधिका रूपमा देखिएका छन् ।
कतिपय अवस्थामा सीमापार रकमको वास्तविक स्थानान्तरण नगरी एक ठाउँमा रकम बुझाउने र अर्को ठाउँमा त्यसको बराबर मूल्य भुक्तानी गर्ने गरिन्छ । सञ्चालकहरूले आपसी हिसाब मिलान, व्यापारिक बिलमा वास्तविक मूल्यभन्दा कम वा बढी देखाउने, नगद ओसारपसार गर्ने र अरूका नाममा खोलिएका बैंक खाता प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय भर्चुअल सम्पत्तिमार्फत रकमको हिसाब फर्स्यौट गर्ने प्रवृत्तिसमेत जोखिमका रूपमा देखिएको छ ।

२५ देखि ४४ वर्षका व्यक्ति बढी जोडिए
हुण्डीसम्बन्धी शङ्कास्पद कारोबारमा युवा तथा कामकाजी उमेर समूहका व्यक्तिको उपस्थिति उल्लेख्य देखिएको छ । एफआईयू-नेपालले प्राप्त एक हजार ६७२ प्रतिवेदनमध्ये २०० वटा छनोट गरी गरेको विश्लेषणमा २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिको हिस्सा ६५.५ प्रतिशत रहेको छ ।
अध्ययनअनुसार २५ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिको हिस्सा ३९ प्रतिशत छ । त्यसपछि ३५ देखि ४४ वर्ष उमेर समूहका २६.५ प्रतिशत र १८ देखि २४ वर्ष उमेर समूहका १८ प्रतिशत व्यक्ति छन् । यसरी १८ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिको कुल हिस्सा ८३.५ प्रतिशत पुगेको छ ।
लिङ्गका आधारमा हेर्दा अध्ययनमा समेटिएका व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन् ।
पेसागत विवरणले पनि जोखिमको अर्को पाटो उजागर गरेको छ । खाता खोल्दा उल्लेख गरिएको पेसाका आधारमा व्यवसायीको हिस्सा ५१.५ प्रतिशत छ । त्यसपछि तलब पाउने कर्मचारी १३ प्रतिशत, कृषि पेसामा संलग्न ११ प्रतिशत, विद्यार्थी नौ प्रतिशत र वैदेशिक रोजगारीमा रहेका सात प्रतिशत छन् । गृहिणीको हिस्सा ५.५ प्रतिशत रहेको छ ।
विद्यार्थी तथा गृहिणीसमेत शङ्कास्पद कारोबारसँग जोडिएको विवरणलाई प्रतिवेदनले विशेष रूपमा उल्लेख गरेको छ । आफ्नो नाममा बैंक खाता खोलेर अरूलाई प्रयोग गर्न दिने वा तेस्रो पक्षले त्यस्ता खातामार्फत रकम ओसारपसार गर्ने जोखिम यससँग जोडिएको छ । वित्तीय अपराधमा यस्तो खातालाई ‘म्युल अकाउन्ट’ अर्थात् अरूको रकम ओसारपसार गर्न प्रयोग गरिने खाता भनिन्छ ।

मधेशमा बढी देखियो उपस्थिति
हुण्डीसम्बन्धी शङ्कास्पद कारोबारको भौगोलिक अवस्थिति विश्लेषण गर्दा मधेश प्रदेश सबैभन्दा अगाडि देखिएको छ । अध्ययनमा समेटिएका व्यक्ति तथा संस्थामध्ये ५३ प्रतिशतको ठेगाना वा दर्ता विवरण मधेश प्रदेशसँग सम्बन्धित छ । त्यसपछि कोशी प्रदेशको हिस्सा १६ प्रतिशत रहेको छ ।
जिल्लागत विवरणमा सिरहा सबैभन्दा अगाडि छ । सिरहाका २१ जना अर्थात् १०.५ प्रतिशत व्यक्ति शङ्कास्पद कारोबारसम्बन्धी प्रतिवेदनमा जोडिएका छन् । सप्तरीका २० जना, सुनसरीका १८ जना, धनुषाका १६ जना र महोत्तरीका १५ जना रहेका छन् ।
त्यस्तै बाराका ११ जना, रौतहट र मोरङका १०-१० जना, काठमाडौंका आठ जना तथा रुपन्देहीका छ जना अध्ययनमा समेटिएका छन् ।
सीमावर्ती तथा वैदेशिक रोजगारीका लागि कामदार उपलब्ध गराउने प्रमुख क्षेत्रका जिल्लामा यस्तो उपस्थिति बढी देखिएको प्रतिवेदनले औँल्याएको छ । भारतसँगको खुला सीमा, वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको अनौपचारिक परिचालन, नगदमा आधारित अर्थतन्त्र र प्रतिबन्धित भर्चुअल सम्पत्तिको मागलाई हुण्डी कारोबार विस्तारका सम्भावित कारकका रूपमा लिइएको छ ।
खुद्रा व्यापारी र विप्रेषणका सबएजेन्ट जोखिमको केन्द्रमा
हुण्डी कारोबारसँग जोडिएका व्यावसायिक क्षेत्रमध्ये खुद्रा व्यापार र विप्रेषण कारोबारका सबएजेन्ट प्रमुख रूपमा देखिएका छन् । अध्ययनमा समेटिएका संस्थागत विवरणमध्ये खुद्रा व्यापारको हिस्सा ४३ प्रतिशत छ भने विप्रेषण तथा रकम स्थानान्तरणमा संलग्न सबएजेन्टको हिस्सा ४१.५ प्रतिशत छ । यी दुई क्षेत्रको संयुक्त हिस्सा ८४.५ प्रतिशत पुगेको छ ।
खुद्रा व्यापारीले दैनिक रूपमा ठूलो परिमाणमा नगद कारोबार गर्ने भएकाले व्यापारिक आम्दानी र अन्य स्रोतबाट प्राप्त रकमबीचको भिन्नता पहिचान गर्न कठिन हुन सक्छ । व्यापारिक बिलमा वास्तविकभन्दा कम वा बढी मूल्य देखाएर रकमको स्रोत र प्रयोजन लुकाउने सम्भावना पनि रहन्छ ।
त्यस्तै, विप्रेषण कारोबारका सबएजेन्ट रकम प्राप्त गर्ने र भुक्तानी गर्ने प्रक्रियासँग प्रत्यक्ष जोडिएका हुन्छन् । उनीहरूमार्फत ठूलो परिमाणमा नगद परिचालन हुने भएकाले कारोबारको वास्तविक स्रोत, रकम पठाउने व्यक्ति, प्राप्तकर्ता र भुक्तानीको उद्देश्य स्पष्ट नहुँदा जोखिम बढ्न सक्छ ।
यसले वैदेशिक रोजगारीबाट नेपाल भित्रिने विप्रेषण र स्थानीय व्यापारिक गतिविधिलाई समेत हुण्डीको जोखिमसँग जोडेको छ । विशेषगरी औपचारिक विप्रेषण प्रणालीभन्दा बाहिरबाट रकम भुक्तानी गर्ने सञ्जालले राज्यको वित्तीय निगरानी र राजस्व प्रणालीलाई चुनौती दिन सक्ने देखिन्छ ।

नयाँ बैंक खाता पनि निगरानीको चुनौती
प्रतिवेदनले बैंक खाता खोलिएको समय र त्यसको प्रयोगबीचको सम्बन्धलाई पनि जोखिमको महत्त्वपूर्ण सूचकका रूपमा प्रस्तुत गरेको छ । अध्ययनमा समेटिएका शङ्कास्पद कारोबारसम्बन्धी करिब ४० प्रतिशत प्रतिवेदन बैंक खाता खोलेको एक वर्षभित्रै भएका कारोबारसँग सम्बन्धित छन् ।
नयाँ खाता खोलेर छोटो अवधिमै शङ्कास्पद कारोबार हुनु वित्तीय संस्थाका लागि थप निगरानी आवश्यक पर्ने अवस्था हो । विशेषगरी खातावालाको पेसा, आम्दानीको स्रोत र खाताबाट हुने कारोबारको परिमाणबीच अस्वाभाविक भिन्नता देखिएमा त्यसको उचित परीक्षण आवश्यक हुन्छ ।
संगठित सञ्जालको सङ्केत
नेपालमा हुण्डी नियन्त्रणका लागि अनुसन्धान तथा कारबाहीका प्रयाससमेत बढ्दै गएको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा हुण्डीसम्बन्धी १८ वटा अनुसन्धान भएकामा आर्थिक वर्ष २०८१/८२ मा यस्तो सङ्ख्या बढेर ६० पुगेको छ ।
पछिल्लो पाँच वर्षमा हुण्डीसम्बन्धी अनुसन्धान तथा कारबाहीका क्रममा २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ जफत गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, एउटा मुद्दाको फैसलामा संलग्न व्यक्तिको औसत सङ्ख्या १.९ बाट बढेर ३.५ पुगेको छ ।
मुद्दामा संलग्न व्यक्तिको औसत सङ्ख्या बढ्नुलाई प्रतिवेदनले व्यक्तिगत कारोबारभन्दा संगठित सञ्जालमा आधारित गतिविधिको उपस्थिति बढ्दै गएको सङ्केतका रूपमा विश्लेषण गरेको छ । यसले हुण्डी नियन्त्रणका लागि एक व्यक्तिको कारोबारमा मात्र केन्द्रित अनुसन्धान पर्याप्त नहुने देखाउँछ ।