काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ ।
नेपाल एयरलाइन्सले नेपाल र भारतबीच यात्रा गर्ने यात्रुहरूका लागि मोबिकिङ एमके–पीबी–०४ मोडलको पावर बैंक लैजान रोक लगाइएको हो ।
भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरअनुसार यस्तो रोक लगाइएको हो ।
भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने सम्पूर्ण उडानहरूमा यो पावर बैंक बोक्न पूर्ण रूपमा प्रतिबन्धित गरिएको हो ।
यसै नियमलाई ध्यानमा राख्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हवाई यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई यात्रा गर्दा पावर बैंक साथमा नबोक्न नेपाल वायुसेवा निगमले आग्रह गरेको हो ।
जारी सूचनामा भनिएको छ, ‘भारतको नागरिक उड्डयन महानिर्देशानालयको वैमानिक सूचना परिपत्रअनुसार मोबिकिङ एमके–पीबी–०४ पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानहरुमा क्याबिन–ह्यान्ड ब्याग, चेक इन ब्यागेज वा कार्गोको रुपमा बोक्न पूर्ण रुपमा प्रतिबन्धित गरिएको जानकारी गराउँदछौं ।’
केही दिनअघि मात्र भारतको राजधानी दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको विमानमा यात्रुको झोलामा रहेको पावर बैंक विस्फोटपछि आगो लागेको थियो ।
सोही घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले यस्तो सर्कुलर जारी गरेको हो ।
उडानका क्रममा पावर बैंकबाट अन्य उपकरण चार्ज गर्न रोक लगाउन पनि डीजीसीएले सिफारिस गरेको थियो ।
