दशैं–तिहारमा बन्दीपुर हिलमा ९ दिने ‘बन्दीपुर फेस्ट’, प्रवेश निःशुल्क

काठमाडौं । दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुर हिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ । तनहुँको बन्दीपुरस्थित केबलकारको लोअर स्टेसनमा दुई चरणमा आयोजना हुने महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि र पारिवारिक मनोरञ्जनका कार्यक्रम समावेश गरिनेछ ।

कम्पनीका अनुसार महोत्सवको पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ । दुवै चरणमा गरी नौ दिनसम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।

महोत्सवमा स्थानीय परिकारको स्वाद लिनुका साथै रमाइला खेल, सांस्कृतिक प्रस्तुति र बालबालिकाका लागि विशेष गतिविधिमा सहभागी हुन सकिनेछ । बालबालिकालाई लक्षित गरी किड्स जोनसमेत राखिने कम्पनीले जनाएको छ ।

त्यस्तै, महोत्सवमा सहभागी हुनेले केबलकार, जिपलाइन, स्काई साइकलिङलगायतका गतिविधिको अनुभव लिन सक्नेछन् । स्थानीय संस्कृति, खानपान र साहसिक मनोरञ्जनलाई एकै ठाउँमा समेटेर बिदा मनाउन चाहने परिवार तथा यात्रुलाई लक्षित गरी महोत्सव आयोजना गर्न लागिएको हो ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुर हिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए । उनका अनुसार राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, खानपान र साहसिक गतिविधिसँग जोड्न महोत्सवले सहयोग गर्नेछ ।

कार्यक्रम संयोजक सुरज राईले महोत्सव सबैका लागि खुला रहने र प्रवेश शुल्क नलाग्ने जानकारी दिए । स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा सहभागी गराउनु कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुर हिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपनसमेत वितरण गर्ने जनाएको छ ।

प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव, केबलकार तथा अन्य मनोरञ्जनका सुविधा उपलब्ध गराउँदै आएको बन्दीपुर हिलले महोत्सवमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरेको छ । 

Share News