प्रतिरक्षा प्रणाली कम गर्ने ४७ प्रकारका औषधिको दर्ता र अनुमति खारेज
काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिरक्षा प्रणालीको सक्रियता कम गर्ने (इम्युनोसप्रेसेन्ट) वर्गका ४७ प्रकारका औषधिको उत्पादन, बिक्री–वितरण तथा आयातसम्बन्धी अनुमति, दर्ता र सिफारिसपत्र खारेज गरेको छ । औषधिको गुणस्तर र सुरक्षामा असर पर्न सक्ने तथा एउटा औषधिमा प्रयोग भएका पदार्थ अर्को औषधिमा मिसिन सक्ने जोखिम कम गर्न छुट्टै उत्पादन संरचना नभएका उत्पादक तथा आयातकर्ताका औषधिमाथि यस्तो कारबाही गरिएको विभागले जनाएको छ । विभागले २०८३ असोज २७ गते अत्यन्त जरुरी सूचना जारी गर्दै असोज २० गतेको महानिर्देशकस्तरीय निर्णयअनुसार ती औषधिको उत्पादन अनुमतिपत्र, बिक्री–वितरण दर्ता प्रमाणपत्र, आयात दर्ता प्रमाणपत्र र सिफारिसपत्र खारेज गरिएको जानकारी दिएको हो । विभागले यसअघि जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक पाएपछि बढीमा तीन महिनाका लागि उत्पादन वा आयात अनुमति पाएका कम्पनीलाई मौज्दात विवरण तत्काल पेस गर्न निर्देशन दिएको छ । ती कम्पनीले आयात गर्दाको भन्सार प्रज्ञापनपत्रसहित औषधिको मौज्दात विवरण विभागमा बुझाउनुपर्नेछ । खारेजीमा परेका औषधि प्रयोग गर्दा कुनै व्यक्तिमा प्रतिकूल असर देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि उपलब्ध गराउने निकाय वा व्यक्ति तथा प्रयोगकर्ता स्वयंले लिनुपर्ने विभागले जनाएको छ । दर्ता कायम रहेका र छुट्टै उत्पादन संरचना भएका उत्पादक तथा आयातकर्तालाई भने बजारमा औषधिको नियमित आपूर्ति, पर्याप्त मौज्दात र उपलब्धता सुनिश्चित गर्न विभागले निर्देशन दिएको छ । कुन–कुन औषधि खारेजीमा परे ? खारेजीमा परेका औषधिमा मुख्य रूपमा टोफासिटिनिब, लेफ्लुनोमाइड, माइकोफेनोलेट मोफेटिल र ट्याक्रोलिमस नामक औषधीय तत्व भएका विभिन्न ब्रान्ड समावेश छन् । टोफासिटिनिबका सिटिनिब, टोफाकिङ, टोफाटप, टोफासिट, टोफानिक्स, टोफाम्याक्स, टोफाज्याक र इन्टाज्याकलगायतका ब्रान्ड खारेजीमा परेका छन् । त्यस्तै, लेफ्लुनोमाइडका लियोमिड, लेफ, लेफ्रोन, इम्युलेफ, लिसिफेन, लेफ्लु, रुमालेफ र लेफ्रामाइडलगायतका ब्रान्डको दर्ता तथा अनुमति खारेज गरिएको छ । ट्याक्रोलिमसका टाक्फा, पाङ्ग्राफ, इम्युनोट्याक र सिग्राफ तथा माइकोफेनोलेट मोफेटिलका माइकोफिट, माइकोफिट एस, मोफेटिल र माइकोफेनलगायतका ब्रान्ड पनि खारेजीमा परेका छन् । यसैगरी, भारतको मद्रास फर्मास्युटिकल्सबाट उत्पादित क्रोली र मोफा औषधिको नयाँ उत्पादन संरचनाको विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्याससम्बन्धी मापदण्डअनुसारको लेखापरीक्षणसमेत नभएको विभागले जनाएको छ । उक्त लेखापरीक्षण पूरा नभएसम्म ती औषधिको दर्ता नवीकरणसम्बन्धी थप प्रक्रिया अघि नबढाइने विभागको सूचनामा उल्लेख छ ।
गोल्याण फाउण्डेसनद्वारा बाढी प्रभावितलाई सहयोग गर्ने स्वयंसेवक सम्मानित
काठमाडौं । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्याउने ८६ जना स्वयंसेवकलाई सम्मान गरेको छ । फाउण्डेसनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा सहयोग गरेका स्वयंसेवकलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरेको हो । गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउण्डेसनले उक्त होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो । अभियानअन्तर्गत बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, स्वास्थ्य सेवा, मनोसामाजिक प्राथमिक सहायता तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको थियो । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन स्वयंसेवकहरूले निरन्तर खटिएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले विपद्का समयमा निःस्वार्थ भावनाका साथ सेवामा खटिएका स्वयंसेवकहरूको योगदानको प्रशंसा गरे । उनले गोल्याण फाउण्डेसनले सञ्चालन गरेको मानवीय तथा परोपकारी कार्यको पनि सराहना गरे । गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले स्वयंसेवकहरूको समर्पण, सेवाभाव र सामूहिक प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा योगदान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मानवीय सेवामा सक्रिय रहन स्वयंसेवकहरूलाई प्रोत्साहित गर्दै गोल्याण ग्रुप सधैँ उनीहरूको साथमा रहने बताए । त्यस्तै, गोल्याण फाउण्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले अभियानका क्रममा फिल्ड कमान्डरका रूपमा प्रत्यक्ष नेतृत्व गर्दाका अनुभव सुनाइन् । उनले विपद्का बेला देखिएको सहकार्य, समर्पण र मानवीय भावनाको चर्चा गर्दै अभियान सफल बनाउन योगदान पुर्याउने स्वयंसेवक, सहकर्मी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा जेन–जी परिवार कल्याण समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठ, सदस्य पुरुषोत्तम खतिवडालगायत गोल्याण ग्रुपका विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पारित भएको छ । यसअनुसार बैंकले कुल ४ प्रतिशत लाभांश वितरण गर्नेछ । बोनस सेयर र नगद लाभांशसहित बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा गत असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणसमेत पारित गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । साधारण सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकका गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत सुशासन र नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै बैंकको समग्र अवस्था थप सुदृढ बनाउँदै लैजाने बताए । बैंकले यसअघि ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। साथै, फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ अनलाइन प्लेटफर्म र फ्रिलान्सरलाई लक्षित बचत खातालगायत सेवा सञ्चालनमा ल्याएको छ। बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। यसका अतिरिक्त अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा रहेको बैंकले जनाएको छ। हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
वाणिज्य बैंकहरूको नाफा पौने १८ अर्ब बढी
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०२–८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म नबिल बैंकले १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३५.३ प्रतिशतले बढेको छ । यसैगरी, दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोवल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष भदौसम्म यो बैंकले १ अर्ब ६२ करोड ८२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म ४.०७ प्रतिशतले बढेर १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । चालु वर्षको भदौसम्म यो बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष भदौसम्म बैंकले १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको छ । नाफा वृद्धिदरका हिसाबले हिमालयन बैंक अगाडि रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५५.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसैगरी, सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ । यो बैंकले चालु वर्षको भदौसम्म ४१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.३२ प्रतिशतले बढेको छ । चालु आवको सुरुवातमा अधिकांश बैंकले करोडौं नाफा कमाए पनि एनआईसी एसिया बैक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैक र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको सञ्चित नाफा भने ऋणात्मक रहेको छ । तथ्यांकअनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ । हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ । –न्युज एजेन्सी नेपाल
फेसबुक कमेन्टले मृत्युदण्ड, सर्वोच्च अदालतद्वारा सजाय रद्द
काठमाडौं । साउदी अरबको सर्वोच्च अदालतले ईशनिन्दाको आरोपमा मृत्युदण्डको सजाय पाएका श्रीलंकाली नागरिकको सजाय रद्द गरेको छ । श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमाचन्द्रका अनुसार फेसबुकमा गरिएको टिप्पणीका कारण मृत्युदण्डको सजाय सुनाइएका २७ वर्षीय श्रीलंकाली आप्रवासी कामदार अनोझन शिवरासाको सजाय रद्द गरिएको हो । साउदी अरबको पुनरावेदन अदालतले उनलाई इस्लाम धर्म र पैगम्बर मोहम्मदको अपमान गरेको अर्थात् ईशनिन्दा गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । मृत्युदण्डको फैसला सार्वजनिक भएपछि श्रीलंकामा व्यापक आक्रोश उत्पन्न भएको थियो । हेमाचन्द्रले फेसबुकमा पोस्ट गर्दै बुधबार साउदी अरबको सर्वोच्च अदालतले उक्त सजाय रद्द गरेको जानकारी दिएका छन् । उनले यसका लागि पहल गर्ने दुवै देशका अधिकारी र कानुनी टोलीलाई धन्यवाद दिएका छन् । यस वर्ष जुनको अन्त्यतिर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा हिन्दू तीर्थयात्रीहरूको पछिपछि हिँडिरहेको कुकुरलाई एक युवा मुस्लिम पुरुषले लात हानेको देखिएको थियो । उक्त भिडियोमा प्रतिक्रिया दिँदै श्रीलंकाकी एक मुस्लिम महिलाले भगवान् शिवसँग सम्बन्धित विषयमा अश्लील टिप्पणी गरेकी थिइन् । त्यसको जवाफमा हिन्दू समुदायका शिवरासाले पनि टिप्पणी गरेका थिए, जसलाई साउदी अरबमा ईशनिन्दाका रूपमा व्याख्या गरिएको थियो । बीबीसीका अनुसार फेसबुकमा भएको विवादका क्रममा ती महिलाले शिवलिंगबारे अपमानजनक टिप्पणी गरेकी थिइन् । त्यसको जवाफमा शिवरासाले तमिल भाषामा पैगम्बर मोहम्मदको अपमान हुने टिप्पणी गरेका थिए । शिवरासाले उक्त टिप्पणी तत्काल हटाउँदै माफी मागेर भिडियोसमेत पोस्ट गरेका थिए । तर, उनको टिप्पणीको स्क्रिनसट श्रीलंकाकै एक मुस्लिम पुरुषले साउदी अरबमा शिवरासा कार्यरत कम्पनीलाई पठाएका थिए । त्यसपछि जुलाईमा उनलाई पक्राउ गरिएको थियो । मृत्युदण्डको सजाय रद्द भएसँगै शिवरासाविरुद्ध थप कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने स्पष्ट भइसकेको छैन । उनी जेलमै रहने हुन् वा रिहा हुने हुन् भन्नेबारे पनि जानकारी सार्वजनिक भएको छैन । यसअघि अल–अहसा फौजदारी अदालतले उनलाई पाँच वर्षको कैद र ३० लाख साउदी रियाल जरिवानाको सजाय सुनाएको थियो ।
मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम ट्रान्सफर गरेको विधामा ‘हाइएस्ट फोनेपे डाइरेक्ट भोल्युम (इसुअर)’, मोबाइल एपमार्फत सबैभन्दा धेरै क्यूआर भुक्तानी गरेको विधामा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम (इसुअर)’ र क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार गरेको विधामा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम (एक्वायरर)’ अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ । यस उपलब्धिले आगामी दिनमा थप सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिल्ने बैंकको विश्वास छ । बैंकले यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ ।
कांग्रेसको सहमहामन्त्रीमा प्रकाश रसाईली, महिला सदस्यमा मिजार र खुलामा सुनार अगाडि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार २ हजार ४ सय मत गणना हुँदा सहमहामन्त्रीका उम्मेदवार स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। एक पदका लागि तीन जनाबीच प्रतिस्पर्धा भइरहँदा स्नेहीले निकटतम प्रतिस्पर्धी नेपालीभन्दा १ हजार २ सय ४८ मतको अग्रता बनाएका छन्। दलित महिला सदस्यमा सीता मिजारको अग्रता दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मत गणना हुँदा सीता मिजारले १ हजार ४९ मतसहित अग्रता लिएकी छन्। शान्ती परियार (वि.क.) ८ सय ५२ मतसहित दोस्रो स्थानमा छिन्। रुपा वि.क.ले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत प्राप्त गरेका छन्। प्रारम्भिक मतपरिणाममा यी पाँच उम्मेदवार अगाडि देखिएका छन्। अन्य उम्मेदवारमध्ये देविका नेपाली घिमिरेले ५ सय २०, पवित्रा वि.क.ले ४ सय ८९, सुना परियारले ४ सय ७४, चन्द्रकला वि.क.ले ४ सय ४५ र टिका कुमारी बस्यालले ४ सय ७ मत पाएका छन्। त्यसैगरी, मनमाया विश्वकर्माले ४ सय १, मैना वि.क.ले ३ सय ८७, ललिता सुनारले ३ सय ६९, दिलमायाँ पौ.बी.ले ३ सय २३, लिला नेपालीले २ सय ९८ र ललिता सुनार (विद्या)ले २ सय ९७ मत प्राप्त गरेकी छन्। दलित खुलामा डा. डिबी सुनारको फराकिलो अग्रता दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मत गणना हुँदा डा. डिबी सुनारले १ हजार २ सय ९७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी सागर परियारले ८ सय ३४ मत पाएका छन्। सुनार र परियारबीच ४ सय ६३ मतको अन्तर छ। खुलातर्फ हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिवबहादुर सुनारले ६ सय ४४ मत प्राप्त गरेका छन्। अम्मरबहादुर बराईलीले ५ सय ८२, राजु परियारले ५ सय ६९ र दीपक सोनीले ५ सय ५७ मत पाएका छन्। त्यस्तै, दिनेश सुनारले ५ सय २६, ईश्वरबहादुर परियारले ५ सय २० र मनबहादुर विश्वकर्माले ५ सय १ मत प्राप्त गरेका छन्। चक्रबहादुर नेपालीले ४ सय ७७, मैकुलाल बाल्मिकिले ४ सय ७६, सूर्यबहादुर वि.क.ले ४ सय ५२, रमेश वि.क.ले ४ सय ३२, श्यामकुमार मौरतीले ४ सय १९ र रमेश ताम्राकारले ४ सय ११ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये धनबहादुर रसाईलीले ३ सय ५६, मुक्तबहादुर महतेले ३ सय ४१, सन्जु सिंह विश्वकर्माले ३ सय ३१, निरबहादुर विश्वकर्मा (विमल धमला)ले ३ सय २६, बाबुराम विश्वकर्माले ३ सय २४ र दिलबहादुर विश्वकर्माले ३ सय २० मत प्राप्त गरेका छन्। रामु नेपालीले २ सय ८५, गोवर्द्धन कोलीले २ सय ७९, भिउसिन दमैले २ सय ७५, वीरबहादुर विश्वकर्मा (कमल)ले २ सय ७३, डम्बरबहादुर गोल्डस्मिथले २ सय ६४, रामकुमार नेपालीले २ सय ५८, लोकेन्द्रबहादुर वि.क.ले २ सय ५६, रोहित विश्वकर्माले २ सय ५१ र जबरबहादुर वि.क.ले २ सय ४२ मत पाएका छन्। दलित खुलातर्फ डा. डिबी सुनारले फराकिलो अग्रता बनाएका छन्। आठ पदका लागि भइरहेको प्रतिस्पर्धामा सागर परियार, हरिशरण नेपाली, मन्जित ताम्राकार, शिवबहादुर सुनार, अम्मरबहादुर बराईली, राजु परियार र दीपक सोनीले पनि उल्लेख्य मत प्राप्त गरेका छन्। दलिततर्फको मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन्। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ।
म्याक्स टाइगरको क्यान खोल्दा तीन जनालाई पर्यो बाइक र स्कुटर
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । अभियानअन्तर्गत काभ्रेको बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका उनीहरूले क्यान खोल्दा नै आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । पुरस्कार जितेपछि तीनै जना विजेताको दशैंको खुसी थपिएको कम्पनीले जनाएको छ । पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले क्यान खोल्दा यति ठूलो पुरस्कार पाउने कल्पनासमेत नगरेको बताए । पुरस्कार जितेको थाहा पाउँदा सुरुमा विश्वास गर्न गाह्रो भएको उल्लेख गर्दै उनले यसपालिको दशैं म्याक्स टाइगरले विशेष बनाइदिएको प्रतिक्रिया दिए । म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् । अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ताले पुरस्कार जितेपछि अन्य उपभोक्तामा पनि उत्साह बढेको कम्पनीले जनाएको छ । दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी र रोमाञ्चक अनुभव प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ । अभियान अझै जारी रहेकाले उपभोक्ताले आगामी दिनमा पनि आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।