च्याटजीपीटीमाथि गम्भीर आरोप, ओपनएआईविरुद्ध अमेरिकामा मुद्दाको लहर
काठमाडौं । अमेरिकाका आठ राज्यले च्याटजीपीटीले किशोरकिशोरीसहित आफ्ना नागरिकलाई हानि पु‍र्याएको आरोप लगाउँदै यसको निर्माता कम्पनी ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन् । डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलको प्रतिनिधित्व हुने आठ राज्यका महान्यायाधिवक्ताहरूले बुधबार देशका विभिन्न अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् । उनीहरूले च्याटजीपीटीले किशोरकिशोरीसहित आफ्ना प्रयोगकर्तालाई आफैलाई वा अरूलाई हानि पुर्याउन उक्साएको आरोप लगाएका छन् । मुद्दा दायर गर्ने राज्यहरूमा आयोवा, क्यान्सस र एरिजोनालगायत छन् । ती राज्यका महान्यायाधिवक्ताहरूले च्याटजीपीटीलाई प्रयोगकर्ताको विश्वास जित्न उनीहरूका कुरामा सहमति जनाउने र निरन्तर संवादमा संलग्न गराइराख्ने गरी डिजाइन गरिएको दाबी गरेका छन् । तर, यस किसिमको डिजाइनले प्रयोगकर्ताका भ्रमपूर्ण विश्वासलाई थप बल पु‍र्याउने, खतरनाक गतिविधिमा प्रोत्साहित गर्ने र सामूहिक गोलीकाण्डजस्ता हिंसात्मक घटनाको योजना बनाउनसमेत सहयोग गर्ने गरेको उनीहरूको आरोप छ । ओपनएआईविरुद्ध राज्य सरकारहरूले समन्वयात्मक रूपमा चालेको यो हालसम्मकै सबैभन्दा महत्त्वपूर्ण कानुनी कदम मानिएको छ । कम्पनीले सेयर बजारमा सूचीकृत हुने तयारी गरिरहेका बेला उसले सामना गरिरहेका कानुनी चुनौतीहरूमा यी मुद्दा थपिएका हुन् । यसअघि जुन महिनामा फ्लोरिडाका महान्यायाधिवक्ताले ओपनएआईविरुद्ध यस प्रकृतिको पहिलो राज्यस्तरीय मुद्दा दायर गरेका थिए । नयाँ मुद्दाहरूमा ओपनएआईले च्याटजीपीटीको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रामक जानकारी दिएर राज्यका उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । साथै कम्पनीले आफ्ना नागरिकको स्वास्थ्यलाई जोखिममा पारेर सार्वजनिक हितमा प्रतिकूल असर पु‍र्याएको दाबीसमेत राज्यहरूले गरेका छन् । मुद्दामार्फत राज्यहरूले च्याटजीपीटीको कार्यप्रणालीमा परिवर्तन गर्न ओपनएआईलाई बाध्य पार्ने अदालतको आदेश माग गरेका छन् । विशेषगरी, मानव मूल्य र मान्यतासँग मेल खाने सुनिश्चितता गर्न नसकेसम्म आफैलाई सुधार र विकसित गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) मोडेल विकास गर्न कम्पनीलाई रोक लगाउनुपर्ने उनीहरूको माग छ । मुद्दा दायर गर्ने अन्य राज्यहरूमा अर्कान्सस, आइडाहो, मोन्टाना, नेब्रास्का र वेस्ट भर्जिनिया रहेका छन् । यी राज्यहरूले कानुन उल्लंघन गरेको आरोपमा ओपनएआईमाथि आर्थिक जरिवाना लगाउन र क्षतिपूर्ति दिलाउनसमेत माग गरेका छन् । यस विषयमा प्रतिक्रिया माग्दा ओपनएआईका प्रवक्ताले तत्काल कुनै जवाफ दिएका छैनन् । ओपनएआईले यसअघि पनि व्यक्तिगत रूपमा मुद्दा दायर गर्ने दर्जनौं व्यक्तिबाट कानुनी चुनौती सामना गरिरहेको छ । ती मुद्दाहरूमा च्याटजीपीटीले प्रयोगकर्तालाई सामूहिक गोलीकाण्ड वा अन्य हिंसात्मक गतिविधिको योजना बनाउन सहयोग गरेको आरोप लगाइएको छ ।
एकैदिन सुन तोलामा ११०० र चाँदी २२० रुपैयाँले सस्तियो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ ।
दशैंमा अनलाइन ठगी रोक्न साइबर ब्यूरोको विशेष अपरेसन
काठमाडौं । चाड पर्वलाई लक्षित गरी अनलाइन स्क्याम तथा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगी नियन्त्रण गर्न साइबर ब्यूरोले विशेष सतर्कता अपनाएको छ । सार्वजनिक बिदाका समयमा हुन सक्ने ठगीका घटना तत्काल सम्बोधन गर्न ब्यूरोले भुक्तानी सेवा प्रदायक संस्थासँग सम्पर्क व्यक्ति र २४ घण्टा सक्रिय रहने इमेल विवरण मागेको छ । चाडपर्वका बेला अनलाइन कारोबार बढ्ने र ठगी गर्नेहरूले उपहार, छुट तथा विभिन्न आकर्षक अफरको प्रलोभन देखाएर सर्वसाधारणलाई निशाना बनाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै शंकास्पद कारोबारको पहिचान र नियन्त्रणमा जोड दिइएको हो । साइबर ब्यूरोले भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक संस्थाहरूलाई आर्थिक ठगीसँग सम्बन्धित कारोबारको विवरण समयमै उपलब्ध गराउन र शंकास्पद वालेट तथा कारोबार तत्काल रोक्का गर्न अनुसन्धानमा सहजीकरण गर्ने व्यवस्था मिलाउन भनेको छ । यसका लागि सम्बन्धित संस्थाहरूले जिम्मेवार सम्पर्क व्यक्तिको नाम, पद र मोबाइल नम्बर तथा २४ सै घण्टा अनुगमन हुने ड्युटी/अनकल इमेल ठेगाना नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा पठाउनुपर्नेछ । उक्त विवरण [email protected] मा उपलब्ध गराउन सूचनामार्फत आग्रह गरिएको छ । शंकास्पद कारोबारबारे तत्काल जानकारी आदानप्रदान गर्न र आवश्यक अनुसन्धान अघि बढाउन भुक्तानी सेवा प्रदायक तथा प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको राष्ट्र बैंककाे सूचनाले औंल्याएको छ । चाडपर्वमा नक्कली अनलाइन सपिङ साइट, सामाजिक सञ्जालमा राखिने भ्रामक विज्ञापन, फर्जी उपहार योजना, नक्कली भुक्तानी लिंक तथा ओटीपी र बैंकिङ विवरण मागेर रकम चोरी गर्ने जस्ता गतिविधिबाट जोगिन सर्वसाधारणले पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ । अनलाइन कारोबार गर्दा अपरिचित लिंक नखोल्ने, ओटीपी तथा पिन नम्बर अरूलाई नदिने र शंकास्पद कारोबार देखिएमा तत्काल सम्बन्धित बैंक वा वालेट सेवा प्रदायकलाई जानकारी गराउनु आवश्यक छ ।
बूढीगण्डकीका बाढीपहिरो पीडितलाई ग्रीन डेभलपमेन्ट बैंकको राहत
पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गोरखाको बूढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । २०८३ असोज २५ गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री उपलब्ध गराएको हो । बैंकले विपद् व्यवस्थापन समितिमार्फत प्रभावित परिवारका लागि लत्ताकपडा, खाद्यान्न, ग्यास चुल्हो तथा बत्ती हस्तान्तरण गरेको जनाएको छ । बाढीपहिरोका कारण प्रभावित परिवारले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेको अवस्थामा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न र अप्ठ्यारो परिस्थितिमा केही राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले गोरखाको आरुघाटस्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, निश्कल राई दोस्रो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणामअनुसार ५ हजार ४ सय मत गणना हुँदा महर्जनले ४ हजार १ सय ४९ मत प्राप्त गरेका छन् । महर्जनलाई निश्कल राईले पछ्याइरहेका छन् । राईले ३ हजार ८ सय ४० मत प्राप्त गर्दा इन्द्रबहादुर बानियाँ ३ हजार ६ सय ४१ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै, गोविन्दराज पोखरेलले ३ हजार ४ सय ७८, जितनारायण श्रेष्ठले ३ हजार ३ सय ७१ र ई. मोहन आचार्यले ३ हजार २ सय ९० मत प्राप्त गरेका छन् । प्रवल थापाले ३ हजार २ सय २६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये हिमाल दत्त श्रेष्ठले २ हजार ८ सय ४७, विद्वान गुरुङले २ हजार ६ सय ९१, डा. शोभाकर पराजुलीले २ हजार ६ सय ४०, ई. अमृत ज्ञवालीले २ हजार ५ सय ९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५ सय ८० मत प्राप्त गरेका छन् । सन्दीप रानाले २ हजार ५ सय १५, ई. नवराज त्रिपाठीले २ हजार ४ सय ७४, नरेन्द्रकुमार केरुङले २ हजार ४ सय ३७ र भरतकुमार शाहले २ हजार ४ सय ३१ मत पाएका छन् । महेश खरेलले २ हजार ३ सय ४३, मिनकृष्ण महर्जनले २ हजार ३ सय ३४, बलदेव तिमिल्सिनाले २ हजार ३ सय १२ र जन्मजय तिमिल्सिनाले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् । त्यसैगरी, ई. ऋषि कोइरालाले २ हजार २ सय २६, युवराज पाण्डेयले २ हजार २ सय २१, कुमार लुइँटेलले २ हजार १ सय ९९ र ई. दीपक बाबु कँडेलले २ हजार १ सय ६८ मत पाएका छन् । किरण केसीले २ हजार १ सय ३२, उज्ज्वलप्रसाद बरालले २ हजार १ सय २२, दीपक भट्टराईले २ हजार ७३ र महेन्द्रकुमार शर्माले २ हजार १२ मत प्राप्त गरेका छन् । मदनकृष्ण श्रेष्ठले १ हजार ९ सय ९४ मत पाउँदा डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रमोदहरि गुरागाईंले १ हजार ९ सय ५१ र लेखनाथ पोखरेलले १ हजार ८ सय ९४ मत पाएका छन् । डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। किरण किशोर घिमिरेले १ हजार ८ सय ७७, रवि सिंहले १ हजार ८ सय ६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८ सय ३४ मत पाएका छन्। प्रकाश सिंह कार्कीले १ हजार ८ सय २६, प्रदीपकुमार सुनुवारले १ हजार ८ सय २३ तथा कृष्ण रिजाल र सुधांशु कोइरालाले समान १ हजार ७ सय ५० मत प्राप्त गरेका छन्। निलकण्ठ रिजालले १ हजार ७ सय ३७, कबिर राणाले १ हजार ६ सय ९२, श्यामकुमार घिमिरेले १ हजार ६ सय ६७ र सन्तोष सुब्बाले १ हजार ६ सय ६६ मत पाएका छन्। यसैगरी, चित्रबहादुर केसीले १ हजार ६ सय ५१, भीमप्रसाद ढुंगानाले १ हजार ६ सय २०, टेकराज पौडेलले १ हजार ५ सय ९४, किशोर दत्त बरालले १ हजार ५ सय ८५, उत्तम जोशीले १ हजार ५ सय ७० र केशव थापाले १ हजार ५ सय ३९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणाममा महर्जनले दोस्रो स्थानका राईभन्दा ३ सय ९ मतको अग्रता बनाएका छन्।
कामना सेवा विकास बैंकले कोशी अस्पताललाई दियो पानी फिल्टर र चिलर
विराटनगर । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई पानी फिल्टर गर्ने प्रणाली र चिलर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई एक्वा वाटर फिल्ट्रेसन सिस्टम तथा चिलर उपलब्ध गराएको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण हस्तान्तरण कार्यक्रममा अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको सहयोगले अस्पतालमा आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई स्वच्छ तथा चिसो पिउने पानीको सुविधा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रशंसा गरे । बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य, सुविधा तथा समग्र सामाजिक विकासमा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए । कार्यक्रममा बैंक तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
उपकार लघुवित्तको कायम मुकायम सीईओमा विमल खनाल
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विमल खनाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको ११४औँ बैठकले सहायक महाप्रबन्धक खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । संस्थाले नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्डलगायत निकायलाई पठाएको पत्रअनुसार खनाललाई २०८३ कात्तिक २ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको छ । बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको उपकार लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । यसको कार्यक्षेत्र लुम्बिनी प्रदेश रहेको छ ।
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिले केन्द्रीय सदस्यतर्फको बाँकी मतगणना सम्पन्न गरी आजै सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिएका छन् । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अहिले केन्द्रीय सदस्यका विभिन्न समूहअन्तर्गत मतगणना जारी छ । खुला, महिला, प्रदेशगत तथा समावेशी समूहका उम्मेदवारको अन्तिम परिणाम आउन बाँकी छ । सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । उनले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए। सभापति पदमा कुल ७ हजार १३ मत खसेको थियो । त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी भएका छन् । सहमहामन्त्रीका विभिन्न समूहको मतपरिणाम पनि सार्वजनिक भइसकेको छ । खुला सहमहामन्त्रीतर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडा निर्वाचित भएका छन् । केन्द्रीय सदस्यतर्फ भने उम्मेदवारको संख्या धेरै र मतपत्रको चाप ठूलो भएकाले गणना लम्बिएको छ। खुला केन्द्रीय सदस्यका ४५ पदसहित विभिन्न समूहका पदमा उम्मेदवारबीच प्रतिस्पर्धा छ। निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छुट्टाछुट्टै समूह बनाएर मतगणना अघि बढाइरहेको छ। बाँकी समूहको गणना आजै सम्पन्न गर्ने लक्ष्य राखिएको निर्वाचन समितिले जनाएको छ। निर्धारित समयमै सबै परिणाम सार्वजनिक भए कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुंगो लाग्नेछ। मतगणनाको अन्तिम परिणामसँगै सभापति गगनकुमार थापाको नेतृत्वमा रहने केन्द्रीय कार्यसमितिमा कुन समूहका कति नेता समेटिए भन्ने पनि स्पष्ट हुनेछ। यसले पार्टीभित्रको शक्ति सन्तुलन र नयाँ नेतृत्वको संगठनात्मक संरचनाको तस्बिरसमेत प्रस्ट पार्नेछ।