विकासन्युज

सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ खारेज गर्ने आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त प्रणाली कार्यान्वयन गर्ने सरकारी निर्णय बदर गर्ने आदेश दिएको हो । सरकारले सरकारी विज्ञापनलाई एकीकृत प्रणालीमार्फत प्रकाशन गर्ने व्यवस्था लागू गरेको थियो । उक्त निर्णयविरुद्ध सञ्चार क्षेत्रबाट असन्तुष्टि व्यक्त हुँदै अदालतमा रिट निवेदन दायर गरिएको थियो । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले रिट दायर गरेका हुन् । रिटमा विज्ञापनमा कार्टेलिङ गर्न नपाइने, विज्ञापन बोर्डको अधिकार खोस्न नपाइने, विज्ञापन ऐन र नियमावलीमा समानुपातिक विज्ञापन पाउने मिडियाको अधिकार रहेको लगायतका दावी गरिएको थियो । सर्वोच्चको आदेशसँगै सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार प्रणाली कार्यान्वयन गर्ने सरकारी निर्णय निष्क्रिय भएको छ ।  अदालतको पूर्ण पाठ सार्वजनिक हुन बाँकी नै छ ।

संसद बैठकमा केही बेर बसेर बाहिरिए रवि-बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाह मंगलबार प्रतिनिधिसभा बैठकमा एक्कासि उपस्थित भए पनि केही बेर कसेर संसद् भवनबाट बाहिरिएका छन् ।  प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँगै संसद् बैठकमा पुगेका थिए ।  प्रधानमन्त्री शाह र रवि बैठकमा छोटो समय मात्रै बसेर बाहिरिएका हुन् । उनले संसद्मा कुनै सम्बोधन गर्ने वा अन्य कार्यसूची नरहेको संसद् सचिवालयले जनाएको छ । यसअघि जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा नियमित रूपमा उपस्थित भएका थिएनन् । त्यसयता लगातार अनुपस्थित रहेका उनी मंगलबार अचानक संसद् भवन पुगेपछि सांसदहरूको ध्यान उनीतर्फ केन्द्रित भएको थियो । पछिल्ला केही बैठकमा प्रधानमन्त्री अनुपस्थित रहँदै आएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको र बैठक छल्ने प्रवृत्ति देखिएको भन्दै उनीहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए । यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको आजको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिए पनि उनी छोटो समयमै बैठकबाट बाहिरिएपछि त्यसले थप चासो बढाएको छ । उता, रास्वपा सभापति लामिछानेले भने प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी गरेका छन् ।

स्वाभिमान लघुवित्तको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा अर्याल

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् । संस्थाको नवौं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले अर्याललाई अध्यक्ष चयन गरेको हो । संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिमा देवीदत्त जवाली, गिरिराज पाठक र कुश सुधन सिंह चयन भएका छन् । सिंह प्राइम कमर्सियल बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक हुन् । नवनिर्वाचित सञ्चालक समितिले संस्थाको आगामी रणनीति, सुशासन तथा वित्तीय सेवा विस्तारमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । 

पहिलो सेमिफाइनल : उपाधिको दाबेदार फ्रान्स र स्पेनबीच निर्णायक खेल

काठमाडौं । फुटबलमा एउटा चर्चित भनाइ छ, ‘आक्रमणले खेल जिताउँछ, तर रक्षाले उपाधि जिताउँछ ।’ यही भनाइ मंगलबार (आज) राति हुने २०२६ फिफा विश्वकपको पहिलो सेमिफाइनलमा परीक्षणमा पर्नेछ, जहाँ फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । अप्टा सुपरकम्प्युटरका अनुसार यस सेमिफाइनलबाटै अन्तिम विश्वविजेता निस्कने सम्भावना सबैभन्दा बढी छ । फ्रान्स र स्पेन दुवैको विश्वकप जित्ने सम्भावना इंग्ल्यान्ड र अर्जेन्टिनाभन्दा उच्च रहेको अनुमान गरिएको छ । अन्तिम चारसम्म पुग्ने क्रममा दुवै टोलीले फरक शैली अपनाएका छन् । स्पेनले मजबुत रक्षाको आधारमा सफलता हासिल गरेको छ भने फ्रान्सले आफ्ना स्टार खेलाडीहरूले भरिएको आक्रमणपंक्तिको भरपुर उपयोग गरेको छ । डलासमा हुने यो रोमाञ्चक भिडन्तअघि रोक्नै नसकिने आक्रमण र अभेद्य रक्षाबीचको सम्भावित संघर्ष कस्तो हुन सक्छ भन्ने विश्लेषण यहाँ प्रस्तुत गरिएको छ । स्पेन  स्पेनी फुटबलको चर्चा गर्दा धेरैले आकर्षक पासिङ खेल सम्झिन्छन्, तर प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले पछिल्ला वर्षहरूमा उत्कृष्ट रक्षालाई पनि आफ्नो पहिचान बनाएको छ । स्पेनले आफ्नो परम्परागत छोटो पासिङ शैली कायम राख्दै यस विश्वकपमा प्रति खेल औसत ५९८ पास पूरा गरेको छ, जुन अर्जेन्टिनापछि दोस्रो धेरै हो । साथै ६६ प्रतिशत बल नियन्त्रणसहित प्रतियोगितामा सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्ने टोली पनि स्पेन नै हो । यति मात्र होइन, विपक्षीलाई अवसर सिर्जना गर्नबाट रोक्न पनि स्पेन सफल देखिएको छ । छ खेलपछि स्पेनविरुद्ध जम्मा सातवटा मात्रै लक्ष्यतर्फका प्रहार (शट अन टार्गेट) भएका छन् । सन् १९६६ यताका पुरुष विश्वकप इतिहासमा प्रति खेल औसत १.१७ शट अन टार्गेट मात्र सामना गर्ने यो सबैभन्दा उत्कृष्ट रक्षात्मक प्रदर्शन हो । स्पेनले विपक्षीको अपेक्षित गोल  पनि निकै कम राख्न सफल भएको छ । यस विश्वकपमा स्पेनले प्रति खेल औसत ०.३१ अपेक्षित गोल मात्रै विपक्षीलाई दिएको छ । सन् १९६६ यता यो उपलब्धिलाई सन् १९९० को विश्वकपमा उरुग्वेले मात्रै बराबरी गरेको थियो । स्पेनविरुद्ध गरिएका प्रहारहरूको औसत अपेक्षित गोल केवल ०.०५ रहेको छ, जुन २०२६ विश्वकपमा सबैभन्दा कम हो र १९६६ यताकै संयुक्त रूपमा न्यूनतम रेकर्ड पनि हो । रक्षा सामूहिक प्रयास भए पनि केही खेलाडीको प्रदर्शन विशेष उल्लेखनीय रहेको छ । मिड डिफेन्डर आयमेरिक लापोर्तेले स्पेनको रक्षापंक्तिलाई उत्कृष्ट रूपमा सम्हालेका छन् । उनले प्रतियोगितामा ११ इन्टरसेप्सन गरेका छन्, जुन फ्रान्सका डायोट उपामेकानो (१२) पछि दोस्रो धेरै हो । गोलकिपर उनाइ सिमोनले पनि रक्षापंक्तिको पछाडि पुग्ने बलहरू नियन्त्रण गर्न उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पेनले उच्च प्रेसिङ गर्ने भएकाले रक्षापंक्ति पनि माथि खेल्ने गर्छ, जसका कारण सिमोनले ‘स्वीपर–किपर’को भूमिका प्रभावकारी रूपमा निभाएका छन् । प्रतियोगितामा उनीभन्दा बढी स्वीप गर्ने प्रयास केवल तीन गोलकिपरले मात्रै गरेका छन् । टोलीका कप्तान रोड्रीले पनि एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) चोटबाट फर्किएपछि उत्कृष्ट लय समातेका छन् । उनले १८ ट्याकल गरेका छन्, जुन यस विश्वकपमा केवल तीन खेलाडीले मात्रै उछिनेका छन् । साथै उनले ३२ पटक बल पुनः आफ्नो टोलीको नियन्त्रणमा ल्याएका छन्, जुन प्रतियोगितामा पाँचौं उत्कृष्ट तथ्यांक हो । प्रशिक्षक डे ला फुएन्टेले आफ्नो रक्षापंक्तिमा निरन्तरता कायम राखेका छन् । उनाइ सिमोन, आयमेरिक लापोर्ते, पाउ कुबार्सी र मार्क कुकुरेल्लाले स्पेनका सबै खेलमा सुरुवाती रोजाइ पाएका छन्, र त्यसको प्रभाव मैदानमा स्पष्ट देखिएको छ । तर उत्तर अमेरिकामा उनीहरूलाई अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा सामना गर्नुपर्नेछ । फ्रान्स  विश्वकप सुरु हुनुअघि कागजमा हेर्दा फ्रान्सको आक्रमणपंक्ति अत्यन्तै बलियो देखिन्थ्यो । तर फुटबलमा कागजको अनुमान सधैं मैदानमा सत्य सावित हुँदैन । यसपटक भने अनुमान पूर्ण रूपमा सही सावित भएको छ । फ्रान्सले केवल छ खेलमा १६ गोल गर्दै प्रतियोगिताको सबैभन्दा घातक आक्रमण प्रदर्शन गरेको छ । फ्रान्सको आक्रामक तथ्यांक निकै प्रभावशाली छन् । टोलीले २०२६ विश्वकपमा ४७ शट अन टार्गेट गरेको छ । सन् १९९८ मा उपाधि जित्दा गरेको ५३ शट अन टार्गेटपछि यो विश्वकपमा फ्रान्सको उत्कृष्ट प्रदर्शन हो । प्रति खेल औसत ७.८ शट अन टार्गेट पनि सन् १९६६ यताकै सबैभन्दा उच्च हो । यसबाहेक प्रशिक्षक डिडिएर डेसाँको टोलीले प्रतियोगितामा सबैभन्दा धेरै अपेक्षित गोल सिर्जना गरेको छ । फ्रान्सले कुल १४.३ अपेक्षित गोल सिर्जना गरेको छ, जुन दोस्रो स्थानमा रहेको अर्जेन्टिनाभन्दा कम्तीमा १.६ बढी हो । टोलीमा रहेका विश्वस्तरीय खेलाडीहरूको गुणस्तर हेर्दा यो तथ्य अचम्मको होइन ।  फ्रान्सको आक्रमणको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गरिरहेका छन् । उनले यस विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुटका लागि लियोनेल मेसीसँग प्रतिस्पर्धा गरिरहेका छन् । एम्बाप्पे केवल गोलकर्ता मात्र होइनन्, उत्कृष्ट अवसर सिर्जनाकर्ता पनि हुन् । उनले १६ गोलको अवसर सिर्जना गरेका छन्, जुन प्रतियोगितामा केवल तीन खेलाडीले मात्रै उछिनेका छन् । साथै उनले तीन असिस्ट पनि दिएका छन् । एम्बाप्पेले हालका बालोन डी’ओर विजेता उस्मान डेम्बेलेसँग उत्कृष्ट साझेदारी बनाएका छन् । यी दुईले विश्वकपमा एकअर्काका लागि १९ अवसर सिर्जना गरेका छन् (एम्बाप्पेबाट डेम्बेलेका लागि १० र डेम्बेलेबाट एम्बाप्पेका लागि ९) । सन् १९६६ यता विश्वकपमा कुनै दुई खेलाडीबीच यस्तो स्तरको तालमेल निकै दुर्लभ मानिन्छ । डेम्बेले व्यक्तिगत रूपमा पनि उत्कृष्ट लयमा छन् । उनले छ खेलमा पाँच गोल र दुई असिस्ट गरेका छन् । एम्बाप्पे र डेम्बेलेसँगै माइकल ओलिसे पनि उत्तर अमेरिकामा फ्रान्सका प्रमुख नायक बनेका छन् । बायर्न म्युनिखका विङ्गर ओलिसे फ्रान्सका सबैभन्दा प्रभावशाली अवसर सिर्जनाकर्ता बनेका छन् । कठिन देखिने पासहरू पनि सहज रूपमा पूरा गर्ने उनको क्षमता उल्लेखनीय देखिएको छ । उनले पाँच असिस्ट गर्दै प्रतियोगिताको शीर्ष असिस्टकर्ता बनेका छन् । सन् १९९४ मा जर्मनीका थोमस हेस्लरपछि एउटै विश्वकपमा पाँच असिस्ट गर्ने उनी पहिलो खेलाडी हुन् । अब उनले पुरुष विश्वकप (१९६६ यता) मा सबैभन्दा धेरै असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गर्न केवल एक असिस्ट मात्र आवश्यक छ । अझ रोचक पक्ष के भने, प्रशिक्षक डेसाँले आफ्नो आक्रमणको सम्पूर्ण शक्ति अझै प्रयोग गर्नुपरेको छैन । ब्राड्ली बारकोला र देजिरे डुएले सहायक भूमिकामा खेल्दै पनि संयुक्त रूपमा पाँच गोलमा योगदान दिएका छन्। बारकोलाले दुई गोल र एक असिस्ट गरेका छन् भने डुएले एक गोल र एक असिस्ट गरेका छन् । रायान चेर्कीले केवल ५० मिनेट खेल्ने अवसर पाएका छन् भने माग्नेस अक्लिउश र मार्कस थुरामले मिलेर जम्मा १० मिनेटभन्दा कम समय मैदानमा बिताएका छन् । यसले फ्रान्ससँग आक्रमणमा अझै प्रशस्त विकल्प रहेको देखाउँछ । अन्य सामग्रीहरू : कसले जित्ला विश्वकप ? यस्तो छ अप्टा सुपरकम्प्युटरको भविष्यवाणी इङ्ग्ल्यान्डको नायक बेलिङ्घम सेमिफाइनल समीकरण पूरा, फुटबलका चार महाशक्ति उपाधि दौडमा यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती  यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]  विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान  मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेख

एआईको मागले चीनको निर्यातमा नयाँ रेकर्ड

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।      चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।      जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताए । उनका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ । विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ । भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ । चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ । बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताए । उनका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ । जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो । चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पुर्याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् । रासस  

सञ्चारगृहमा गाडी तेर्साउने घटनाको रास्वपाले गर्यो भर्त्सना

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको दबाब र त्रास सिर्जना गर्ने गतिविधि लोकतन्त्रविरुद्ध भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै परियारले राजधानीका अग्रणी सञ्चारगृहहरूको मुख्य प्रवेशद्वारमा गाडी तेर्साएर आवतजावत अवरुद्ध पारिएको घटनाको भर्त्सना गरे।  उनले कसैको नाम नलिए पनि सत्ताको आडमा प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति अस्वीकार्य रहेको बताए । ‘हामी सत्तामा छौँ भन्दैमा वा कसैका स्वार्थ ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्,’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेसको प्रतिरक्षा गर्न हामी अग्रसर नभए अरू को बोल्छ ?’ परियारले नेपाली प्रेसले विगतमा बन्दुकको त्राससमेत सामना गरेको स्मरण गराउँदै केही सवारीसाधन तेर्साएर सञ्चारमाध्यमलाई तर्साउन नसकिने बताए । ‘बन्दुकसँग नडराएको नेपाली प्रेस दुई–चारवटा गाडी तेर्साउँदैमा डराउँदैन,’ उनले भने । रास्वपा पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको पक्षमा रहेको दोहोर्‍याउँदै परियारले सत्यलाई दबाउने प्रयास कहिल्यै सफल नहुने बताए । ‘हिजो राजधानीमा अग्रणी सञ्चारमाध्यमको मुख्य प्रवेशद्वारमै गाडी पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पार्ने र सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरियो। म यसको कडा शब्दमा भर्त्सना गर्दछु,’ उनले भने, ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्। सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो ।

संसद बैठकमा पुगे रवि–बालेन

काठमाडाैं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।  आज लामिछानेको संसदमा सम्बोधन गर्ने तय भएको छ ।  जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गरेपछि संसद् बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री शाह मंगलबार (असार ३० ) बसेको प्रतिनिधिसभाको बैठकमा एक्कासि उपस्थित भएका हुन् । उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए।  प्रधानमन्त्री साहको उपस्थितिले संसद् बैठकमा सांसदहरूको ध्यान खिचेको थियो। पछिल्ला केही बैठकमा उनी अनुपस्थित रहँदै आएका थिए । मंगलबारको बैठकमा भने उनी सरकारका मन्त्रीहरूसँगै संसद् भवन पुगेका हुन्। यद्यपि, बैठकमा प्रधानमन्त्री साहको बोल्ने कार्यसूची भने छैन । उनी संसद्को बैठकमा उपस्थित भएर कार्यवाही अवलोकन गरिरहेका छन् । पछिल्लो समय सरकारमाथि संसद् छल्ने र प्रधानमन्त्री नियमित रूपमा संसदमा उपस्थित नहुने भन्दै प्रतिपक्षी दलहरूले आलोचना गर्दै आएका बेला प्रधानमन्त्रीको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एआईको विश्वव्यापी मागले चीनको निर्यातमा २७ प्रतिशत उछाल

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ ।  अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ । चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो ।  विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् । जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताए । उनका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ । विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।  एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ । भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ । चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् ।  साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ । बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताए ।  उनका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ । जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।  अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो । चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।  गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पुर्‍याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् ।