गोल्याण फाउण्डेसनद्वारा बाढी प्रभावितलाई सहयोग गर्ने स्वयंसेवक सम्मानित

काठमाडौं । गोल्याण फाउण्डेसनले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्याउने ८६ जना स्वयंसेवकलाई सम्मान गरेको छ ।

फाउण्डेसनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमा सहयोग गरेका स्वयंसेवकलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

गोल्याण ग्रुपको सामाजिक संस्था गोल्याण फाउण्डेसनले उक्त होल्डिङ सेन्टरमा २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो । अभियानअन्तर्गत बाढी प्रभावित परिवारका लागि सामुदायिक भान्छा, स्वास्थ्य सेवा, मनोसामाजिक प्राथमिक सहायता तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको थियो ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन स्वयंसेवकहरूले निरन्तर खटिएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेले विपद्का समयमा निःस्वार्थ भावनाका साथ सेवामा खटिएका स्वयंसेवकहरूको योगदानको प्रशंसा गरे । उनले गोल्याण फाउण्डेसनले सञ्चालन गरेको मानवीय तथा परोपकारी कार्यको पनि सराहना गरे ।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले स्वयंसेवकहरूको समर्पण, सेवाभाव र सामूहिक प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा योगदान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मानवीय सेवामा सक्रिय रहन स्वयंसेवकहरूलाई प्रोत्साहित गर्दै गोल्याण ग्रुप सधैँ उनीहरूको साथमा रहने बताए ।

त्यस्तै, गोल्याण फाउण्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले अभियानका क्रममा फिल्ड कमान्डरका रूपमा प्रत्यक्ष नेतृत्व गर्दाका अनुभव सुनाइन् । उनले विपद्का बेला देखिएको सहकार्य, समर्पण र मानवीय भावनाको चर्चा गर्दै अभियान सफल बनाउन योगदान पुर्याउने स्वयंसेवक, सहकर्मी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा जेन–जी परिवार कल्याण समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठ, सदस्य पुरुषोत्तम खतिवडालगायत गोल्याण ग्रुपका विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति थियो । 

Share News