काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता अस्पतालबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ ।
यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा मुटु रोग र छाती शल्यचिकित्सासम्बन्धी नयाँ प्रविधि तथा उपचार पद्धतिबारे छलफल भएको थियो । विशेषज्ञ चिकित्सकले आफ्नो ज्ञान, सीप र अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा मेदान्ता अस्पताल समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहान सहभागी थिए । उनले मुटु उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे प्रस्तुति दिएका थिए ।
त्यस्तै, मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्साका आधुनिक प्रविधि र उपचार पद्धतिबारे जानकारी दिएका थिए ।
किस्ट शिक्षण अस्पताल र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन सहज बनाएको अस्पतालले जनाएको छ ।
यस सहकार्यअन्तर्गत नेपाली बिरामीले किस्ट अस्पतालबाटै मेदान्ताका विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय लिन सक्नेछन् । टेलिमेडिसिनमार्फत परामर्श लिन सकिने सुविधा पनि उपलब्ध छ ।
यसले जटिल रोगको उपचारका लागि भारत जानुपर्ने बाध्यता, समय र खर्च घटाउन सहयोग पुग्ने अस्पतालको विश्वास छ ।
किस्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप विस्तार गर्दै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएको छ ।