काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको पुरानो र नयाँ भवन जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण सुरु गरेको छ । आकस्मिक कक्षबाट शल्यक्रिया तथा सघन उपचार कक्षमा बिरामी लैजान सहज बनाउने उद्देश्यले निर्माण गर्न लागिएको पुलको बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन् ।
शिलान्यास कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्य, अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपाल र काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलगायत सहभागी थिए ।
शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले आकस्मिक उपचारमा रहेका बिरामीको जीवन बचाउन आवश्यक समयको अधिकतम उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले पूर्वाधारमा लगानी गरिएको बताइन् । उनका अनुसार आकस्मिक कक्ष रहेको पुरानो भवनलाई शल्यक्रिया कक्ष र सघन उपचार कक्ष रहेको नयाँ भवनसँग जोड्दा बिरामीलाई छिटो र सुरक्षित रूपमा उपचार कक्षसम्म पुर्याउन सकिनेछ ।
‘हेर्दा यो भौतिक संरचनाका रूपमा मात्र देखिन सक्छ । तर, यो चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील पूर्वाधार हो’, उनले भनिन् ।
वीर अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने सडक रहेकाले आकस्मिक कक्षमा आएका बिरामीलाई शल्यक्रिया वा सघन उपचार कक्षमा लैजान सडक पार गराउनुपर्ने अवस्था छ । सडकमा सवारीसाधनको चाप रहने भएकाले बिरामीलाई छिटो लैजाने क्रममा दुर्घटनाको जोखिमसमेत रहँदै आएको छ । आकाशे पुल निर्माणपछि यस्तो जोखिम घट्ने र बिरामीलाई सुरक्षित रूपमा एक भवनबाट अर्को भवनमा लैजान सहज हुने महानगरपालिकाको अपेक्षा छ ।
उपकुलपति आचार्यले आकाशे पुललाई भौतिक संरचनाभन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रूपमा हेरेको बताए । अस्पतालका निर्देशक डा. नेपालले पुलले भवनलाई मात्र नभई अस्पतालको सेवालाई पनि जोड्ने उल्लेख गरे ।
उनका अनुसार ९५० शय्याको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा शल्यक्रिया कक्ष र ८० वटा सघन उपचार कक्ष छन् । आकस्मिक कक्षबाट ती कक्षसम्म बिरामी लैजान सहज भएपछि उपचार प्रक्रियामा समय बचत हुने अपेक्षा गरिएको छ ।
पूर्वनिर्देशक तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा. डा. दिलीप शर्माले आफ्नो १४ महिने नेतृत्वकालमा भएको यो कामलाई सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक भएको बताए ।
वडा नं. २७ का अध्यक्ष खड्गीले काठमाडौंका भित्री सहरी क्षेत्रका बासिन्दाका लागि वीर अस्पताल पहिलो सम्पर्क अस्पतालका रूपमा रहेको उल्लेख गर्दै अस्पतालको सेवा व्यवस्थित बनाउन वडाले सहकार्य गर्ने बताए । उनले दुई भवन जोड्ने महानगरपालिकाको योजनालाई वडाले गौरवको योजनाका रूपमा लिएको बताए ।
आकाशे पुल निर्माणका लागि ४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा निर्माण ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा सुपर सौगात पीसी द्रव्य जेभीले पाएको छ । कम्पनीलाई २०८३ मंसिर ९ गते कार्यादेश दिइएको महानगरपालिकाले जनाएको छ ।
निर्माण अवधि २०८४ कात्तिक ३० गतेसम्म तोकिएको छ । पुलको दुवैतर्फ अस्पतालको शय्या सार्न मिल्ने गुणस्तरका लिफ्ट जडान गरिनेछन् । लिफ्ट र भर्याङ दुवै अस्पताल परिसरभित्र रहने भएकाले बिरामी तथा सेवाग्राहीलाई सडक पार गर्नुपर्ने अवस्था हट्नेछ ।
महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेश राईका अनुसार आकाशे पुल पूर्ण रूपमा फलामबाट निर्माण गरिनेछ । पहिलो चरणमा फलामको पुल र लिफ्ट जडान गरिनेछ भने दोस्रो चरणमा सहरको मौलिक स्वरूप झल्किने बाहिरी सजावट गरिनेछ ।
पुलका डिजाइनर तथा विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भित्री संरचनामा अत्याधुनिक सामग्री प्रयोग गरिने र बाहिरी मोहडालाई मौलिक स्वरूप दिइने जानकारी दिए ।